१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

डा. केसीका मागमा प्रधानमन्त्री कठोर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अनशन बसेर वा आन्दोलनको चेतावनी दिएर आफू नथर्किने बताएका छन्। नौ दिनदेखि जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीका माग सम्बोधन र उनको जीवनरक्षाका लागि ध्यानाकर्षण गर्न आइतबार बालुवाटार पुगेको नेपाल चिकित्सक संघको टोलीसमक्ष प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन्।

प्रधानमन्त्री ओलीले डा. केसीको अनशन र चिकित्सक संघले दिएको हडतालको चेतावनीको सामना गर्नेसमेत बताए। ‘म चौध वर्ष जेल बसेको मान्छे हुँ, झुकेर सानो कागजमा हस्ताक्षर गरेको भए चाँडै छुट्थें, झुकिनँ, छुटिनँ,’ ओलीलाई उद्धृत गर्दै संघको टोलीमा सहभागी एक सदस्यले भने।

मेडिकल कलेज सम्बन्धनलाई व्यवस्थित गर्न डा. केसीले उठाएको प्रमुख मागप्रति ओली संवेदनशील नदेखिएको चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए। भेटमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसमेत उपस्थित थिए।

ओलीले एकजना व्यक्ति अनशन बसेर ‘यो कलेजलाई सम्बन्धन दे, यो कलेजलाई नदे भनेको भरमा सरकार पछि नहट्ने’ बताए। ‘देशलाई गुणस्तरीय चिकित्सा शिक्षाको हब बनाउँछु, गुणस्तरका लागि यसो गर्नुस् भने सुन्छु तर सम्बन्धन नदे भनेर सरकार रोकिन्न’, उनले भने । संघले डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएको प्रसंग बारम्बार उठाउँदा पनि प्रधानमन्त्री ओलीले ‘एउटा व्यक्तिको दबाबमा सरकार ब्याक नहुने’ अडान दोहो-याएका थिए।

संघका अध्यक्ष श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेको टोलीले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्रसमेत बुझाएको छ। ज्ञापनपत्र बुझेपछि ओलीले ‘वर्षांैअघि आफूले जथाभाबी सम्बन्धन नदिऊँ, सम्बन्धन नबाँडाैं भन्दा तत्कालीन प्रधानमन्त्रीले नसुनेको’ भन्दै विगत कोट्याए। ‘कमिसन आउने रहेछ त त्यसको लोभमा भटाभट १५० सिट बाँड्दा रहेछन्,’ ओलीले संघको टोलीसँग भनेका थिए, ‘अनि गुणस्तरीय डाक्टर कसरी उत्पादन हुन्छन्?’

संघको टोलीसँग ओलीले मिडिया पनि महत्वपूर्ण विषयमा छोडेर बहकिएको आरोप लगाए। उनले एउटा विश्वविद्यालयले पाँचभन्दा बढी कलेजलाई बढी सम्बन्धन दिन हुन्न र काठमाडौंमा अब सम्बन्धन दिन हुन्न भन्ने कुरा तर्कसंगत नभएको दाबी गरेका थिए। उनले बंगलादेश र चीनमा नेपालमा भन्दा पनि मेडिकल शिक्षाको गुणस्तर नहुँदा विद्यार्थी बाहिर गइरहेको उल्लेख गर्दै नेपाललाई मेडिकल शिक्षाको हब बनाउन सकिने बताएका थिए।

उनले आफू र पुष्पकमल दाहालले झापाका मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईको घरमा खाना खाइरहेको फोटोलाई लिएर भएका टिप्पणीप्रति समेत आपत्ति जनाए। उनले ‘नातिको घरमा खाना खान जाँदा फेसबुकमा हालेको फोटोलाई जोडेर टिप्पणी भएको र मेडिकल कलेजसँग जोडेर हेरेको’ भन्दै आपत्ति जनाए। ‘खाएँ त खाएँ, नेपालकै भात खाएँ, भारतको खाइनँ नि’, ओलीलाई उधृृत गर्दै ती सदस्यले भने, ‘मेरा नातिको घरमा बसेर खाना खाँदा केको आपत्ति? मेरो नाता पर्दैमा उनको कलेजले सम्बन्धन नपाउने? कोही व्यक्तिको निर्देशनमा चलेर उनलाई सम्बन्धन दिन नहुने?’

भेटमा सहभागी संघका एक सदस्यका अनुसार अध्यक्ष श्रेष्ठले सरकारले तत्काल वार्ता टोली बनाएर समस्या समाधानका लागि पहल नथाले संघ आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गरेर हडतालमा जानुपर्ने अवस्था आउनसक्ने बताएका थिए। जबाफमा प्रधानमन्त्री ओलीले ‘तपाईंहरुले सेवा बन्द गर्न पाउनु हुन्न, कानुनले दिँदैन’ भनेका थिए।

ओलीले सर्वोच्च अदालतले भने पनि माइतीघर क्षेत्र निषेधित हुने बताए । ‘यसो मन बहलाउने सुन्दर ठाउँ छ, दुःख पर्दा दियो बाल्ने ठाउँ छ, सर्वोच्च अदालत नै त्यहीं छ, त्यहाँ नाराबाजी गर्न दिन्छु त मैले,’ उनले भने।

भेटपछि चिकित्सक संघका अध्यक्ष श्रेष्ठले सरकारले डा. केसीको अनशन र मागलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाए। ‘प्रधानमन्त्रीले हामीलाई हडताल गर्न पाइन्न भन्नुभयो, हामीले हडतालको अवस्था आउनै नदिने काम गर्नुस् भन्दा सुन्नु भएन,’ उनले भने।

श्रेष्ठले राजनीति नेतृत्वले नै आफू अप्ठेरोमा पर्दा चिकित्सकलाई पनि आन्दोलनमा उत्रिन सिकाएको स्मरण गर्दै संघका आजीवन सदस्य डा. केसीको जीवनरक्षाका लागि कडा आन्दाेलनमा उत्रिनुपर्ने अवस्था आउन नदिन प्रधानमन्त्रीलाई आग्रह गरेको जानकारी दिए।  

ज्ञापनपत्र बुझ्नासाथ ओलीले ‘राजनीतिक कुरा मात्रै हुन् कि गुदी पनि छ?’ भनेर प्रश्न गरेका थिए। चिकित्सकले समस्या समाधानका सबै विकल्प भएको जबाफ दिएका थिए।

डा. केसीले चिकित्सा शिक्षा अध्यादेशलाई नै ऐनका रुपमा ल्याउनुपर्नेलगायत माग राखेका छन्। केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएसलगायत स्नातक तहमा विद्यार्थी भर्ना सुरु गर्नुपर्ने मागसमेत अघि सारेका छन्। केसीले माइतीघरमण्डल क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल फिर्ता लिन पनि सरकारसँंग माग गरेका छन्।

प्रकाशित: २५ असार २०७५ ०१:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App