२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

तरुण दलमा गुट विवाद, पौडेल पक्षद्वारा बैठक बहिष्कार

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशन मितिलाई लिएर पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच विवाद भएको छ। महाधिवेशनको नयाँ मिति तोक्न बुधबार बसेको केन्द्रीय समिति बैठकमा पहिला मिति तोक्ने कि जिल्ला अधिवेशन सम्पन्न गर्ने भन्ने विवाद हुँदा पौडेल पक्षले बैठक बहिष्कार गरेको थियो। देउवा पक्षीय नेता मिति तोक्दै विवादित जिल्लालाई मिलाउँदै महाधिवेशनमा पुग्ने अडानमा देखिएका छन्। तर, पौडेलपक्षीय नेता जिल्ला अधिवेशन सम्पन्न गरेपछि मात्र मिति र स्थान तोक्नुपर्ने पक्षमा देखिएपछि मंगलबारबाट सुरु केन्द्रीय समिति बैठक विवादित बन्न पुगेको हो। 'विधि र विधानअनुसार जिल्ला अधिवेशन, विधान र महाधिवेशन प्रतिनिधिको सूचीलाई अन्तिम रूप दिएर मिति तोक्न भन्यौं,' दलका नेता टेकराज पौडेलले भने, 'अध्यक्ष (उदयशम्शेर राणा) सहितका साथीले यत्तिकै अघि बढ्ने प्रयास गरेपछि हामीले बैठक छाडेका हौं।'

तरुण दलका अध्यक्ष राणा विवाद रहेका जिल्ला मिलाउनभन्दा त्यसलाई थाँती राखेर महाधिवेशन गराउने तयारीमा रहेको असन्तुष्ट पक्षको आरोप छ। 'साढे चार वर्षसम्म विवाद मिलाउन आग्रह गर्दा अध्यक्षले चासो देखाउनुभएन,' तरुण दल प्रचार समिति संयोजक मेदनी सिटौलाले भने, 'सभापति (शेरबहादुर देउवा) को सफलताका लागि संगठनको विधि–विधानलाई लत्याएर महाधिवेशनमा जान सकिँदैन।'

नेपाल विद्यार्थी संघमा जस्तै तरुण दलमा पनि महाधिवेशन प्रतिनिधि भागबन्डा गर्ने तयारी भएको जनाउँदै सिटौलाले भने, 'भागबन्डा र जंगी पाराले संगठन चल्दैन, प्रक्रिया पूरा गरेर महाधिवेशनमा जानुपर्छ।'

विवादित जिल्लामा विधिवत अधिवेशन नभएसम्म महाधिवेशन हुनै नसक्ने जनाउँदै सिटौलाले भने, 'हामी अहिले सबै प्रक्रियाबाट बाहिरिएका छांै। राजनीतिमा बहुमत र अल्पमत मात्र होइन, समूहको कुरा पनि हुन्छ। अहिलेकै अवस्थामा महाधिवेशनमा सहभागी हुन्नौं।'

प्रदेश नम्बर २ का सिरहाबाहेक अन्य जिल्लाको अधिवेशन भएको छैन भने कञ्चनपुर, बझाङ, भक्तपुर, नुवाकोट, काभ्रे, मुस्ताङ, रुपन्देही, उदयपुर, धादिङसहितका जिल्लामा विवाद छ। विवादका कारण अधिवेशन हुन नसकेपछि भदौ २४ देखि तोकिएको तरुण दलको महाधिवेशन फेरि सरेको छ।

पार्टी निर्देशक समितिको प्रस्तावअनुसार असोज ३ देखि पोखरामा महाधिवेशन गर्ने तरुण दलले तयारी गरेको छ।

पौडेलले पार्टी निर्देशक समिति नेविसंघकै जसरी महाधिवेशन गराउने रणनीतिमा रहेको आरोप लगाए। 'प्रतिनिधि टुंगो लगाएर मात्र महाधिवेशनमा जानुपर्छ,' उनले भने, 'भागबन्डा गरेर अधिवेशन गराउने प्रयास भए मान्य हुँदैन।'

तरुण दलमा महानगरपालिकाबाट तीन, उपमहानगरबाट दुई, नगरपालिकाबाट एक, क्षेत्रीय सभापतिसहित दुई, जिल्लाबाट आठ प्रतिनिधि सहभागी हुने व्यवस्था छ। साथै, एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाबाट ९ जना सहभागी हुने विधान छ।

विधानमा उल्लेख ४५ वर्ष नाघेकाले नेतृत्वमा रहन नपाउने व्यवस्थालाई वर्तमान समितिका सबैले अव्यावहारिक भनेका छन्। सबैले प्रतिस्पर्धा गर्न पाउनुपर्ने जनाउँदै उनीहरूले उक्त निर्णय फिर्ता लिन पार्टी नेतृत्वलाई दबाब दिएका छन्। तरुण दलको महाधिवेशन २०६१ कात्तिकयता हुन सकेको छैन।

प्रकाशित: २३ भाद्र २०७३ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App