१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘तल्लो तहमा जान तयार रहनुस्'

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारी कर्मचारीको काँधमा रहेको भन्दै केन्द्रका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा जान तयार रहन निर्देशन दिएका छन्। निजामती सेवा दिवसको अवसरमा नेपाल प्रज्ञाभवनमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानले प्रदेश र स्थानीय तहको व्यवस्था गरेकाले त्यसैअनुरुप परिचालित हुँदै संविधान कार्यान्वयनमा सहयोग गर्न कर्मचारीलाई निर्देशन दिएका हुन्।

'नयाँ संविधानले व्यवस्था गरेअनुसार संघीय स्वरुपअनुसार निजामती सेवालाई विकेन्द्रीकरण गर्नु ठूलो चुनौती छ,' उनले भने, 'परिवर्तित समयका प्राथमिकता, माग र आवश्यकताअनुरुप राष्ट्र र जनताको हितमा काम गर्न सरकारले आवश्यकताअनुसार कर्मचारी परिचालन गर्नेछ।'

उनले संविधानले निर्धारण गरेका अधिकार क्षेत्रका आधारमा केन्›मा बस्ने संरचनाअनुसार उक्त तहमा रहने जनशक्ति निर्क्योल गरी बाँकी जनशक्ति प्रदेश र स्थानीय तहमा समायोजन गर्ने बताए। 'केन्›ीकृत र एकात्मक रूपमा रहेको निजामती सेवालाई संविधानको भावनाअनुसार विकेन्›ीकृत र संघीय स्वरुपमा ढाल्दै यसको प्रभावकारिता र सक्षमता कसरी बढाउने भन्ने अहम् प्रश्न छ,' उनले भने, 'नेपालको निजामती सेवा साँच्चिकै इतिहासको संगीन मोडमा उभिएको छ। कर्मचारीको काँधमा संविधान कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारी आइलागेको छ।' उनले नयाँ संविधान कार्यान्वयनको अवसर इतिहासमा विरलै मात्र आउने भन्दै सबै कर्मचारीलाई अत्यन्तै जिम्मवारीपूर्ण रूपमा कर्तव्य पूरा गर्नसमेत निर्देशन दिए।

कार्यक्रममा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले निजामती कर्मचारीको कार्यसम्पादन मूल्यांकनलाई व्यवस्थित र वैज्ञानिक बनाउने बताए। उनले फरक क्षमता भएका, दृष्टिविहीन तथा वैवाहिक जोडीलाई कानुनले मिलेसम्म माग गरेअनुसार नै पदस्थापन तथा सरुवा गर्न आवश्यक पहल गर्ने कुरामा जोड दिए। मुख्यसचिव सोमलाल सुवेदीले सबै कर्मचारीलाई नागरिकको सेवामा थप दत्तचित्त भई लाग्न निर्देशन दिए।

सर्वोत्कृष्ट पुरस्कार सुवेदीलाई

निजामती सेवा दिवसका अवसरमा सरकारले अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीलाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरेको छ। प्रज्ञा भवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सुवेदीलाई दुई लाख नगदसहित कदरपत्र प्रदान गरेका हुन्।

सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव रहँदा उत्कृष्ट काम गरेबापत पुरस्कार दिइएको हो। सुवेदी गत साता मात्र अर्थ मन्त्रालय सरुवा भएका हुन्। उनी ०४९ सालमा हुलाक सेवाबाट निजमती सेवामा प्रवेश गरेका हुन्।

सुवेदीलेे पुरस्कारबापतको रकम भूकम्पपीडित र बाढीपहिरोबाट पीडितलाई दिने घोषणा गरेका छन्। 'पुरस्कारले मलाई काम गर्न थप ऊर्जा प्रदान गरेको छ,' उनले भने, 'आगामी दिनमा थप मिहिनत र ऊर्जा लिएर काम गर्नेछु।'

यसैगरी, निजामती प्रशासनका १० जनालाई उत्कृष्ट निजामती सेवा तथा ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गरिएको छ। उत्कृष्ट पुरस्कार पाउनेमा किरण पौडेल, देवेन्द्र कार्की, खगेन्द्रप्रसाद सुवेदी, गजेन्द्रबहादुर श्रेष्ठ, प्रदीपराज कँडेल, हुमबहादुर केसी, माधवप्रसाद लामिछाने, हरिबाबु पोखरेल, गोकुल बस्नेत र कृष्णबहादुर बोगटी छन्।

यस्तै, निजामती सेवा पुरस्कार पाउनेमा विसुकुमार केसी, गणेश राय, अरुणकुमार झा, अच्युतप्रसाद सिवाकोटी, दामोदर गौतम, राजेन्द्र महतो, दीपेन्द्र सुवेदी, गोमादेवी चेम्जोङ, बिजु प्रधान, नारायणबहादुर कुवँर, इन्दिरा शर्मा, डालविक्रम कँडेल, दीपकप्रसाद देवकोटा, राजेश उप्रेती, खड्गबहादुर चौधरी, यादव पद्दोयोति, दशरथ राई, टेकराज भुसाल, शत्रुघ्नप्रसाद शर्मा, निरा अधिकारी, महेन्द्रप्रसाद यादव, रीता अधिकारी, छत्रबहादुर मादेन, धु्रवराज पराजुली, पुष्पा भुसाल, कृष्णकुमारी श्रेष्ठ, दीवाकर खनाल, भवानीप्रसाद उपाध्याय, अम्बिका गुरुङ र शंकर साह छन्।

प्रकाशित: २३ भाद्र २०७३ ०२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App