१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मुलुकभर ३१ लाख सवारी साधन

काठमाडौं - मुलुकमा सवारी साधनको संख्या करिब ३१ लाख पुगेको छ। सडक विस्तार र निजी गाडी प्रयोगकर्ता वृद्धि हुँदा सवारी साधनको संख्या बढेको हो।

चालु आर्थिक वर्ष ०७४/७५ मात्र तीन लाख हाराहारी नयाँ सवारी थपिएर ३० लाख ८० हजार पुगेको यातायात व्यवस्था विभागले जनाएको छ।

ग्रामीण क्षेत्रमा सडक विस्तार, व्यक्तिगत सवारी किन्ने बढ्दो प्रचलन र आयस्तरमा आएको परिर्वतले सवारी संख्या बढाउन मद्दत गरेको हो। मोटरगाडीको आयात बर्सेनि बढिरहेको यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले बताए। ‘सडक विस्तारसँगै सवारीको चाप बढ्दो छ,’ अर्यालले भने, ‘निजी सवारी प्रयोगकर्ताको संख्या पनि बढिरहेको छ।’

यो वर्ष बस १६ सय ९१, मिनिबस, मिनिट्रक नौ सय ५७, लोडर, एस्काभेटर ३९ सय ६६, कार–जिप–भ्यान ७६ सय ५१, पिकअप जिप ४१ सय ५४, टेम्पो १० हजार ७६, मोटरसाइकल एक लाख ८३ हजार दुई सय १७, पावर टेलर ६१ सय ८९ र इ–रिक्सा ६१ सय ३१ वटा दर्ता भएको विभागले जनाएको छ। पछिल्लो एक दशकमा सवारी साधन संख्या पाँच गुणा बढेको विभागको भनाइ छ।

आर्थिक वर्ष ०६३/६४ मा ८८ हजार सात सय ३५ सवारी दर्ता भएकोमा ०७३/७४ मा आइपुग्दा वार्षिक सवारी साधन दर्ताको संख्या चार लाख ४४ हजार दुई सय ५९ पुगेको छ । बस, मिनिबस, मिनिट्रक, कार, जिप, भ्यान, पिकअप, माइक्रो, टेम्पो, मोटरसाइकल, ट्याक्टर लगायत सवारी दर्ता भएका हुन्। निजी सवारी चढ्नेको संख्या तीन गुणाले बढेको छ। आर्थिक वर्ष ०६३/६४ मा कार, जिप प्रयोगकर्ताको संख्या पाँच हजार एक सय ५६ रहेकोमा चालु आवमा आइपुग्दा २१ हजार दुई सय ९२ पुगेको छ। सार्वजनिक सवारीमा बेथिति हुँदा निजी सवारी साधनको आवश्यकता बढेको हो।

सहरी क्षेत्रमा सडक व्यवस्थित नभए पनि ग्रामीण क्षेत्रमा भने कच्ची सडक निर्माण गर्ने कामले तीव्रता पाएको छ। त्यसले गाउँ–गाउँमा सवारी पुगेका छन् । अटो क्षेत्रले वार्षिक करिब एक सय अर्ब रुपैयाँ राजस्व तिर्ने गरेको नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)ले जनाएको छ।

धेरै आम्दानी हुनेमात्र नभएर कामकाजीले पनि निजी सवारी किन्ने क्रम बढेको छ। सोखले नभएर बाध्यताले निजी गाडी किन्नुपरेको प्रयोगकर्ता बताउँछन्। समय व्यवस्थापनको लागि निजी सवारी प्रयोग गर्नुपर्ने नाडाका कृष्णप्रसाद दुलाल बताउँछन्। ‘सार्वजनिक गाडी चढेर समयमा गन्तव्यमा पुग्न सकिँदैन,’ दुलालले भने, ‘व्यवसायीदेखि कर्मचारीसम्मलाई निजी सवारी बाध्यता बनेको छ।’

सवारी साधनको संख्या बढेसँगै काठमाडौं लगायत प्रमुख सहरमा सवारीको चाप थेग्नै कठिन भएको छ। गाडीमा गरिने लगानीलाई नेपाल राष्ट्र बैंकले अनुत्पादक भन्दै यस क्षेत्रका कर्जा प्रवाहमा कडाइ गरे पनि सवारी खरिद बढ्दो क्रममै छ। केही महिनाअघि राष्ट्र बैंकले सवारी साधनमा कर्जा प्रवाह रोक्न निर्देशन दिएको थियो।

नेपालमा बिलासी गाडी प्रयोग गर्नेको संख्या पनि बढ्दो छ। नेपालीले पाँच करोड रुपैयाँसम्म पर्ने कार चढिरहेका छन्। नेपाली बजारमा टोयोटा, मर्सिडिज, भक्सवागन, माज्दा, किया, हुन्डाई, बिएमडब्लु, फरारी, पिजियो, निसान, होन्डा, सुवारु, मित्सुबिसी, हम्मर लगायत विश्व बजारमा चर्चित ब्रान्डका महँगा गाडी पनि बिक्री भइरहेका छन्। व्यापारिक घराना, कूटनीतिक नियोग, उच्च आम्दानी हुने बैंकर, कर्पोरेट हाउसमा माथिल्लो तहका कर्मचारीको रोजाइमा पनि महँगा गाडी परेका छन्।

आम्दानी वृद्धि, गाडी फेरिरहने प्रतिस्पर्धा, व्यवसायीको विदेश भ्रमणले पनि नयाँ–नयाँ गाडी प्रयोग गर्ने सोखको रुपमा पनि लिएका छन्। सवारी साधन आवश्यकतामात्र नभएर उच्च घरानियाको लागि सोखको विषय बनेको छ। गाडीका सौखिनकै कारण महँगा र बिलासी गाडी सडकमा देखिने क्रम बढेको छ।

प्रकाशित: २४ असार २०७५ ०३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App