१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सडक विभागकै लापरवाहीले भत्कियो महुली पुल

राजविराज- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अन्तर्गत महुली खेलामा रहेको पुल भत्किएको छ। बुधबार बिहानै महुली खोलामा आएको बाढीले पुलमा कटान लागेको थियो। कटान लागेकै ठाउँमा झण्डै २५ मिटर जति पुल भत्किएको हो।

शनिबार साँझतिर एक्कासी पुल भत्किएको स्थानीयहरुले जनाएका छन्। बुधबार यता नदीमा बाढी समेत आएको छैन। सडक विभागकै लापरवाहीका कारण पुल भत्किएको स्थानीयहरुको आरोप छ। कटान लागेकै भागमा विभागले मर्मत सम्भारकालागि ल्याएको बोल्डरहरु थुपारिदिएका कारण पुल भत्किएको स्थानीय रामनाथ चौधरीले बताए।

 ‘कटान लागेर भत्किने लागेको ठाउँमा ३/४ ट्रयाक्टर बोल्डर थुपारिएका कारण पुल भत्किएको हो’, चौधरीले भने, ‘बोल्डर झार्नै लाग्दा हामीले त्यहाँ रहेका कर्मचारीहरुलाई यसबारे सचेत गराएका थियौ, तर उनीहरुले आफ्नो सुविधा अनुकुल बोल्डर भत्किनै लागेको ठाउँमा माथि थुपारिदिएकोले यस्तो अवस्था आएको हो।’

बुधबारैदेखि पुल जोखिममा हुँदा समेत एकातिर विभागले समयमै प्रभावकारी बचाउ कार्य नथालेको तथा अर्कोतिर गैरजिम्मेवार तरिकाले काम गरेका कारण यातायातै अवरुद्ध हुने अवस्था आइपुगेको अर्का स्थानीय सियाराम चौधरीको आरोप छ।

पुल भत्किएपनि हालसम्म यातायात अबरुद्ध नभएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले बताए। ‘बुधबारदेखि नै त्यहाँ वन–वे गरेर सवारी साधन वारपार गराइदै आएको छ’, एसपी सिंहले भने, ‘पुल भत्किएपछि पनि एउटा–एउटा गरेर सवारी साधन वारपार गराउने अवस्था छँदैछन्, तर जोखिम भने बढेको छ।’

बुधबारै आफुहरुले पुलको अवस्था अवलोकन गरे पश्चात त्यहाँ सुरक्षाकर्मी परिचालन गर्नुका साथै सडक विभागलाई तत्कालै काम थाल्न आग्रह गरेको उनले जानकारी गराए।’

उक्त पुलका कारण राजमार्ग अबरुद्ध भए वैकल्पिक मार्गका रुपमा रहेको भारदह–हनुमाननगर–राजविराज–रुपनी जोड्ने सडकमा गाडीको चाप थेग्न सक्ने अवस्था समेत नरहेको एसपी सिंहको भनाई छ। ‘भारदह–हनुमाननगर हुँदै राजविराज जोड्ने र राजविराजदेखि रुपनी स्थित राजमार्गखण्डलाई जोड्ने सडक वन–वे जस्तै छ, यस सडकमा एक त गाडीको चाप थेग्न सक्ने अवस्था छैन, अर्कोतिर ठूल–ठूला ट्रकको भार समेत थेग्न सक्ने अवस्था देखिदैन।’

प्रकाशित: २३ असार २०७५ १४:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App