१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

नाम खुला, ठाउँ भरिभराउ !

सरकारले शान्तिपूर्वक विरोध तथा प्रदर्शन गर्न सिफारिस गरेको सात स्थानमध्ये पर्छ– टुडिँखेलको खुलामञ्च । जहाँ शान्तिपूर्वक भेला भएर विरोध गर्न त परै जाओस्, पाइला राख्ने ठाउँ समेत देखिँदैन । खुलामञ्चको नामबाट चिनिएको ठाउँमा अहिले विभिन्न संरचना बनाएर भरिभराउ बनाइएको छ।

खुलामञ्चमा वीर अस्पतालले तीन प्रिफ्याकका भवन बनाएर गोदाम बनाएको छ । दरबार हाइस्कुलले निर्माण सामग्री राखेर ठाउँ ओगटेको छ । यी दुईले ओगटेर बाँकी रहेको ठाउँ अव्यवस्थित पार्किङले भरिएको हुन्छ । ओगटिए बचेको ठाउँचाहिँ झाडीले कुरूप बनाएको छ । त्यही झाडीलाई सहरवासीले शौचालयको रूपमा प्रयोग गर्छन् । जसले गर्दा खुलामञ्च अव्यवस्थित मात्रै होइन, फोहोर डम्पिङको ठाउँ जस्तो बनेको छ।

तर, यही ठाउँलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत चैत ३० गते सार्वजनिक सूचना जारी गरेर असारदेखि खुलामञ्चसहितका सात स्थानमा मात्रै विरोध तथा प्रदर्शन  गर्न पाइने स्थानको रूपमा सिफारिस गरेको छ । खुलामञ्च भने विरोध वा प्रदर्शन गर्न योग्य नै देखिँदैनन् । विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य मिलन पाण्डेका अनुसार खुलामञ्च विरोध वा प्रदर्शनका लागि योग्य छैन।

‘जनताको आवाज सरकार र प्रशासनलाई सुनाउन शान्तिपूर्वक विरोध गर्ने हो । यहाँ त सरकारले विरोध गर्न नै अत्यन्तै अस्भाविक लाग्ने ठाउँ तोकेको छ,’ उनले भने, ‘खुलामञ्च जस्ता अव्यवस्थित र अव्यावहारिक ठाउँ तोकेर सरकारले अधिनायकवाद भित्र्याउने चलखेल गरिरहेको छ ।’ उनका अनुसार केपी शर्मा ओली नेतृत्वको सरकारले दुई तिहाईको दम्भ देखाएर मनोमानी ढंगले काम गरिरहेको छ ।  काठमाडौं महानगरपालिका वडा नं २८ का वडाध्यक्ष भाइराम खड्गीले मेयरसा’पले खुलामञ्चलाई अस्तव्यस्त बनाएको आरोप लगाए ।

‘मेयरसा’पले मनोमानी ढंगले खुलामञ्चमा वीर अस्पताल र दरवार हाइस्कुलका ठेकेदारको निर्माण सामग्री राख्न दिनुभएको छ । जसको कारणले सफा र हराभरा हुने खुलामञ्च दुर्गन्ध र अस्तव्यस्त भएको छ,’ उनले भने, ‘जनताको भावना र विचार प्रकट गर्ने स्थल अहिले डम्पिङ साइटजस्तै बनेको छ ।’ उनका अनुसार वडा कार्यालयलाई पूर्ण वेवास्ता गरेर निर्माण सामग्री राख्ने टहरा बनाइएको हो । ‘मेयरसा’पलाई पटक–पटक व्यवस्थित गर्न अनुरोध ग¥यौं,’ उनले भने, ‘तर, उहाँले बेवास्ता गर्नुभयो ।’ उनका अनुसार खुलामञ्चमा अहिले  विरोध तथा कोणसभा गर्न समेत असुरक्षित छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा प्रशासन कार्यालयले काठमाडौं महानगरपालिकासँग समन्वय गरेर नै विरोध तथा प्रदर्शन गर्ने स्थान तोकेको बताउँछन् । ‘खुलामञ्चमा अस्तव्यस्त र असरल्ल देखेका छौं । त्यसलाई व्यवस्थित गर्न महानगरलाई भनेका छौं,’ उनले भने, ‘महानगरले खुलामञ्चलाई व्यवस्थित नगरेको खण्डमा गृह मन्त्रालयसँग बजेट मागेर व्यवस्थित गर्नेछौं ।’ उनका अनुसार महानगरपालिकालाई चार–पाँच सय मान्छे भेला भएर कार्यक्रम गर्ने मिल्ने वातावरण बनाउन अनुरोध गरेका छौं।

टुडिँखेलको खुलामञ्चमा शान्तिपूर्वक भेला भएर विरोध गर्न त परै जाओस्, पाइला राख्ने खाली ठाउँ समेत देखिँदैन । खुलामञ्चको नामबाट चिनिएको ठाउँमा अहिले विभिन्न संरचना बनाएर भरिभराउ बनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले सात स्थानमा मात्रै विरोध प्रदर्शनको लागि स्थान तोकेको छ । विरोध प्रदर्शनको लागि तोकेको तीनकुने चौर पनि अस्तव्यस्त र भद्रगोल देखिन्छ, जुन निर्माण सामग्री थुपारिएर डम्पिङ साइट जस्तै बनेको छ । जिल्ला प्रशासन कार्यालयले काठमाडौंको खुलामञ्च, तीनकुने, भगवानपाउ स्वयम्भू, पेप्सीखोलाको खेलमैदान, गौशाला सिफलचौर, सानो गौचरणको चौर, लैनचौरको समाज कल्याणको अगाडिलगायत स्थानमा विरोध प्रदर्शनीको लागि तोकेको छ ।महानगरका तत्कालीन कार्यकारी अधिकृत रुद्रसिंह तामाङको कार्यकालमा पुरानो बसपार्कको पार्किङ स्थललाई २०७३  वैशाखमा खुलामञ्चमा सारिएको हो ।

महानगरले सुविधासम्पन्न काठमाडौं भ्यू टावरको निर्माण गर्ने भन्दै बसपार्कलाई सारिएको हो । महानगरले दुई वर्षभित्रै भ्यू टावरमा व्यवस्थित पार्किङ बनाएर सार्ने बताए पनि अहिले टावर निर्माणमा देखिएको विवादले खुलामञ्चको बसपार्क कहिले सार्ने अन्योल देखिएको छ । पुरानो बसपार्कमा काठमाडौं भ्यू टावर बनाउने योजना अघि बढाएर खुलामञ्चमा बसपार्क स्थानान्तरण गरिएपछि वीर अस्पतालमा भर्ना भएका बिरामीले आनन्दले आराम गर्न पाएका छैनन् । सवारीसाधनबाट निस्कने चर्को ध्वनिले अस्पताल कोलाहलमय बन्दा उनीहरूले सास्ती भोग्नुपरेको छ।

‘कानको उपचार गर्न आएको, बसपार्कको कर्कश ध्वनि र धुवाँले उल्टै बिरामी परिएला जस्तो भइसक्यो,’ वीर अस्पतालमा उपचार गर्न आएकी शिवानी शर्माले भनिन्, ‘अस्पताल जस्तो संवेदनशील क्षेत्रलाई वास्तै नगरी हचुवामा बसपार्क राख्नु गलत हो ।’ सवारीसाधनबाट निस्कने चर्काे आवाज तथा धुवाँको मुस्लोले स्वास्थ्यमा गम्भीर असर पार्ने चिकित्सक बताउँछन् ।

‘ध्वनिले कानको सुन्ने कोष नष्ट हुने र रासायनिक प्रतिक्रिया भई पछि बहिरो हुने खतरा उच्च हुन्छ,’ वीर अस्पतालकै नाक, कान र घाँटी विभाग प्रमुख डा. ढुण्डीराज पौडेलले भने, ‘त्यसैले चर्काे ध्वनिबाट टाढै रहनुपर्छ, नत्र स्वास्थ्यमा समस्या देखापर्न सक्छ ।’  उनी अस्पतालबाट बसपार्क टाढै हुनुपर्ने भए पनि अस्पतालसँगै बसपार्कसँगै जोडिँदा समस्या भएको बताउँछन्।

वीर अस्पतालका अनुसार दैनिक दुई सय बिरामी नाक, कान र घाँटी सम्बन्धि उपचारका लागि आउने गर्छन् । तीमध्ये आधा जति कान सम्बन्धि समस्या लिएर आउने डा. पौडेलले जानकारी दिए । ‘बसपार्कका कारण बिरामीमा नकारात्मक असर देखा परेका छन्, त्यसबारे सम्बन्धित निकायलाई खबर गरिसक्यौं,’ उनले भने, ‘बसपार्क सार्ने अझैसम्म कुनै काम अघि बढ्न सकेको छैन।’

ढल पनि उस्तै
वीर अस्पताल आसपासमा सवारीको कोलाहल मात्रै होइन, महिनौंदेखि ढल फुट्दासमेत मर्मतसम्भार गरिएको छैन । जसका कारणले फुटेको ढलले समेत दुर्गन्धित बनाइरहेको छ ।

‘महिनौंदेखि अस्पताल वरपर ढल फुटेर सडकभरि छताछुल्ल भइरहेको छ, जसका कारणले सडकको फुटपाथमा समेत हिँड्न समस्या भइरहेको छ,’ महाबौद्धका निमेश श्रेष्ठले भने, ‘वीर अस्पतालबाट महानगरको कार्यालय पाँच मिनेटको दूरी छ, ढल व्यवस्थापन गर्ने चासोचाहिँ दिँदैैन ।’  काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की खुलामञ्चमा बसपार्क र खुलामञ्चको राखिएको टहरा केही समयका लागि मात्रै व्यवस्थापन गरिएको बताए ।

‘खुलामञ्चको बसपार्क र अस्थायी टहरा लामो समयको लागि होइन, तत्कालका लागि मात्रै गराइएको हो,’ उनले भने, ‘बसपार्ककै कारण अस्पतालमा कोलाहल तथा अस्तव्यस्त देखिए त्यसलाई सुधार्ने प्रयत्न गर्नेछौं ।’  प्रवक्ता कार्कीले वीर अस्पताल र दरवार हाइस्कुलको लागि ६ महिनाको लागि मात्रै जग्गा उपलब्ध गराइएको दाबी गरे । ‘खुलामञ्च व्यवस्थित गर्नुपर्ने महसुस गरिसकेको छौं,’ उनले  भने, ‘कार्यक्रम हुने आधिकारिक खबर पाउनेबित्तिकै खुलामञ्चमा रहेको पार्किङ स्थल हटाइनेछ ।’ महानगरपालिकाका अनुसार खुलामञ्चमा सार्वजनिक कार्यक्रम गर्दा एक सय रूपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ।

अतिक्रमणको चपेटाले सिद्धियो खुलाक्षेत्र
कुनै बेला रानीपोखरीदेखि दशरथ रंगशालासम्म खुला रूपमा फैलिएको थियो । त्यो बेला रानीपोखरीदेखि दशरथ रगशालासम्म साढे तीन किलोमिटर लम्बाई रहेको थियो ।

जसमा तीन सय मिटर चौठा भएको अनुमान छ । पछिल्लो अतिक्रमणको चपेटाकै कारण रानीपोखरीदेखि दशरथ रंगशाला वरपर कंक्रिटको संरचनाले ढाकिएका छन् । पछिल्लो क्षेत्रफल आधाभन्दा धेरै साँघुरिएको छ । पहिलेको टुँडिखेलअन्तर्गत पर्ने खुलामञ्चको हाल लम्बाई दुई सय पाँच र चौडाइ एक सय ५५ मिटर रहेको काठमाडौं महानगरपालिकाको रेकर्डमा उल्लेख छ ।

अहिले त्रिपुरेश्वर दशरथ रंगशालापछाडि आर्मी अफिसर्स क्लब छ । उत्तरतिरको रत्नपार्क र खुलामञ्च पनि टुँडिखेलबाट अलग्गिएको छ । खुलामञ्चमा त महानगरपालिकाले बसपार्क बनाइदिएको छ । सहरको बढ्दो जनसंख्यासँगै खुला स्थानको खोजी भइरहँदा नगरको बीचमा रहेको एउटै मात्र खुला स्थान नासिँदा सर्वसाधारण चिन्तित छन् । सरकारी निकायबीच नै एक–अर्कोमा समन्वय नहुँदा यसको उचित संरक्षण हुन सकेको छैन।

प्रवक्ता कार्कीले आर्मीले ओगटेका क्षेत्रमा महानगरपालिकाले केही गर्न नसक्ने बताउँछन् । ‘नेपाली सेनाले आफूखुसी ढंगले संरचना बनाइरहेका छन्, यसमा महानगरपालिकाले केही गर्न सक्दैंन,’ उनले भने, ‘यस विषयमा नेपाल सरकारले आवश्यक अध्ययन गरेर व्यवस्थित गर्नुपर्ने देखिन्छ ।’ नेपाली सेनाले टुँडिखेलमा भौतिक संरचना निर्माण गर्दा नगरपालिकासँग अनुमति नमागेको उनले बताए ।

प्रकाशित: २२ असार २०७५ ०३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App