१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘मानिसकै कारण सहर बिग्रियो’

शक्ति गौचन, खेलाडी

तपाईलाई मनपर्ने सहर कुन हो ?
मैले ३० भन्दा बढी देशका सहर घुमेको छु । त्यसमध्ये मन परेको सहर न्युजिल्याण्डको क्वीन्सटाउन हो । विदेशमा अलि राम्रोसित घुमेको सहर यही हो । यो सहर निकै हराभर र सुन्दर छ । सहरमा देखिने हरेक कुरा नयाँ छन् । हरेक खालका सेवा सुविधा पनि पाइन्छन्।

नेपालमा मनपर्ने सहर ?
मलाई पोखरा सुन्दर लाग्छ । यो सहर प्राकृतिक छ । सबैतिर हरियाली छ । प्रदुषक पनि छैन । मानिसको भिडभाड र होहल्ला छैन । यसले गर्दा पनि पोखरा मनपर्छ । अहिलेको अवस्थामा नेपालभित्र शान्त र वातावरणीय हिसाबले पनि पोखरा घुम्नलायक सहर मानिन्छ । पोखरा छिरेपछि चारैतिर सुन्दर ठाउँ देखिन्छन्।

काठमाडौं उपत्यका कस्तो लाग्छ ?
प्राकृतिक र मौसमको हिसाबले त काठमाडौं संसारकै धनी हो । यहाँ पाइने प्राकृतिक मनोरम र मौसमी आनन्दता कतै पाइँदैन । तर, मानिसकै कारण निम्तिएका समस्याले काठमाडौं ग्रस्त भएको छ । जिम्मेवार सरकार नहुनुको चरम उदाहरण पनि काठमाडौं नै हो ।

किनकी काठमाडौं बिग्रनुमा सत्तामा रहनेको हात छ । जिम्मेवार निकायकै लार्पबाहीले काठमाडौं बिग्रिएको हो । यहाँको राम्रो पक्ष भनेको– मन हुने र कर्म गर्न सक्नेलाई काठमाडौंमा अनेक सुविधा र क्षेत्रहरू पनि छन्।

तपाईको विचारमा काठमाडौंलाई केले कुरुप बनायो ?
सहरलाई कुरुप बनाउने यहाँका संरचना हुन् । सहरका संरचनाहरुमा मौलिकता र एकरुपता छैन । अहिले यहाँ भइरहेको भौतिक विकास र पूर्र्वाधारको काम देख्दा वाक्क लाग्छ ।

विकास निर्माणका काम गर्दा सहरको भविष्य सोचिएको छैन । आज सहरमा सडक बनाउँदा भोली यो समस्या आउँछ भनेर सोचिएको छैन । ट्राफिक व्यवस्थापन र सडक निर्माणलाई जोड दिने हो भने सहर अलि सफा हुन्छ जस्तो लाग्छ।

नेपाल बाहिर कत्तिको घुम्नुभएको छ ?
३० जति घुमेको छु । साउदी अरब, कुवेत, मलेसिया सिंगापुर, हंङकङ, न्युजिल्याण्ड, इटलीलगायत धेरै सहर घुमेको छु । म घुमेका सहर हेर्दा हाम्रो देशका सहर विकासको कसीमा पछि परेको भान हुन्छ । काठमाडौंकै कुरा गर्ने हो भने सहरमा जनताले निकै सास्ती खेप्नुपरेको छ ।

सरकारी निकायमा बसेर काम गर्ने जिम्मेवार नहुँदा यस्तो भएको हो । यदी सरकार जिम्मेवार भएर एकतृत नियम लागु गरेर विकासका काम गर्ने हो भने सहर बन्छ।

घुम्न मन लागिरहने सहर कुन हो ?
त्यति धेरै घुम्ने बानी छैन । फुर्सद र दिक्क लागेको बेला पोखरा जान्छु । पोखरा म जति गएपनि अघाउदिनँ । यहाँ जति गयो त्यति जान मन लाग्छ । पछिल्लो समय सुर्खेत पनि राम्रो लाग्यो । केही दिनअघि त्यहाँ पुगेर आएको थिएँ । उपत्यका बाहिरका सहर प्रकृतिले सजिएका छन् । चितवन, भैरहवा, बुटवल, नेपालगञ्ज, लगायत सहर पनि मलाई मनपर्छ ।

सहर अव्यवस्थित हुनुको कारण के होला ?
मुख्य तः धुलोधुवा र ट्राफिक जाम हो । यी पक्ष सम्झदा दिक्क लाग्छ । सरकारले काम नगर्दा सहर बिग्रिएका हुन् । सहरवासीमा पनि जनचेतना भएन । सहरको विकासमा दुरदृष्टि राख्ने क्षमता भएका नेताहरुका आएनन् । जनपक्षीय भएर काम गर्दैनन।

काठमाडौंको पछिल्लो समस्या के देख्नुभएको छ ?
यहाँको पछिल्लो समस्या भनेकै ट्राफिक जाम र धुलोधुँवा हो।

काठमाडौंको राम्रो लाग्ने पक्ष ?
यहाँको मौसम मनपर्छ । अन्तका सहरमा भन्दा उपत्यकामा मौसम सधै सित्तल हुन्छ । घरमा बस्दा आनन्द आउँछ । यहाँको हावापानी साह्रै राम्रो लाग्छ । यससँगै हरेकखाले सेवा सुविधा पाउनु र जताततै मठ–मन्दिर हुनु यहाँको राम्रो पक्ष हो । अमूल्य मौसम र वातावरणीय हराभराले संसारको ध्यान नेपालतर्र्फ खिचिएको छ।

काठमाडौंलाई कहिलेदेखि चिन्नुभयो ?
१८ बर्ष अघि छिरेको थिएँ । त्यतिबेला काठमाडौं अहिले भन्दा अलि शान्त थियो । भिडभाड पनि कम थियो।

यहाँको नराम्रो पक्ष ?
यहाँको प्रदुषण र सडकको अवस्थालाई सम्झँदा काठमाडौं दिक्क लाग्दो छ । प्रदुषण, ट्राफिक जाम, अव्यवस्थित सडक देखि यहाँ बस्ने धेरैजसो आजित छन्।

तपाई कस्तो सहरको कल्पना गर्नुहुन्छ ?
सहरको वातावरण सफा होस् । सुविधायुक्त र शान्त हो । सहरमा बस्नेले समान हक अधिकार पाउन् । सहरको इलाका सुरक्षित होस् । सहरी संरचनामा मौलिकता भेटियोस्।

सरकारले कसरी काम गर्दा सहरको विकास होला ?

सहरमा मुख्य समस्यालाई हल गर्नुपर्छ । जनचासोको विषयलाई ध्यान दिएर विकासका काम गर्नुपर्छ । सरकार र नागरिक तवरबाट सहरका सम्भावना खोज्नुपर्छ । हाम्रा सहरको इतिहास, चार्डपर्व, मौलिकताको हिसाबले नेपालका सहर धेरै अगाडि नै पर्छन । तर, आधुनिकताको हिसाबले अन्य देशका सहर धेरै छन् । सरकारले काम गर्ने हो र बनाउन चाहने हो भने काठमाडौं पनि विश्वको उत्कृष्ट सिटी बन्न सक्छ।

उपत्यकाभित्र कतै घुम्न निस्कनुर्यो भने कुन ठाउँ रोज्नुहुन्छ ?
पशुपति, स्यंम्भु, न्युरोड, बसन्तपुर, हनुमान ढोकालगायत ठाउँ मनपर्छ । फुर्सदको बेला यही यी क्षेत्रमा घुम्छु।

पछिल्लो समय घुमेको सहर कुन हो ?
केही दिनअघि मात्रै सुर्खेत पुगेको थिएँ । अहिले सुर्खेत सुन्दर र व्यवस्थित सहर भएको छ।

सहरी बनोट र भौतिक निर्माण पक्ष कस्तो लाग्छ ?
हाम्रा सहरका संरचनामा एकरुपता छैन । सरकार भवनहरूमा मौलिकता छैन । सबैतिर मनपरी छ । यदी सरकारले भवन निर्माणका कडाई गरेको र एउटै शैली बनाएको भए हामी अरुभन्दा पृथक हुन्थ्यौं होला।

मन भएर पनि घुम्न नपाएको ठाउँ ?
धेरै ठाउँ घुमेँ तर स्वीजरल्याण्ड जान पाएको छैन । ढिलोचाडो यो ठाउँमा जान मन छ।

सहरको मनपर्ने खानेकुरा ?
प्रायः सबैखाले खानेकुरा मिठो लाग्छ
प्रस्तुति : शिवहरि घिमिरे

 

प्रकाशित: २२ असार २०७५ ०३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App