१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

‘सडक विस्तारलाई केन्द्रमा राखेको छु’

विजय प्रसाद लोंं, वडाध्यक्ष
बागमति गाउँपालिका–२

जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने केके काम गर्नुभयो ?
हामीले सबैभन्दा बढी यस क्षेत्रको पूूर्वाधार विकासलाई जोड दिएका थियौं । सुरुदेखि नै सडक विस्तारको कामलाई अघि बढायौं । दक्षिण ललितपुरको माल्टामा जाने सडक बेहाल थियो । अहिले कच्ची सडकको ट्रयाक बनाएर सञ्चालनमा ल्याएका छौं । म निर्वाचित भएयता सडक सहज बनाए।

ग्रामिण विकासको पहिलो चरण भनेकै सडक हो भनेर मैले सडकलाई नै केन्द्रमा राख्दै आएको छु । यसबाहेक बागमति गाउँपालिका–२ मा खानेपानीको पनि चरम हाहाकार छ । त्यसको समाधानका लागि मैले योजना तय गरिसकेको छु । वडाका सबैतिर सडक बनेको छ।

जनप्रतिनिधि भएर काम गरिरहँदा कस्तो महसुस भइरहेको छ ?
एकदमै नयाँ र फरक महसुस भएको छ । एक हिसाबले आफूमा जिम्मेवारीपना पनि बढेको छ । जनताको काम गर्न पाएको खुशी छु । तर, हामीले चाहदा चाहदै पनि जनताले खास दुःख पाएको केही राम्रा काम गर्न सकेका छैनौं । ती काम पूरा गर्दै जाने मेरो अठोट छ ।

२० बर्षपछि आएको स्थानीय सरकारप्रति स्थानीयको अपेक्षा छ । धेरैले आफ्नो क्षेत्रको विकास हुन्छ भने आस पनि गरिरहनु भएको छ । हामीले उहाँहरुकै आशा र अपेक्षालाई मेटाउने कोशिस गरेका छौं । यसअघि बागमति गाउँपालिका गाविस थियो । गाविस हुँदा राम्ररी काम नभएकोले अहिले पनि हामीलाई काम गर्न असहज भएको छ।

तपाईको वडाको खास समस्या केहो ?
मेरो वडामा सबैभन्दा ठूलो समस्या खानेपानीको हो । यो समस्यालाई मैले केन्द्रमा राखेको छु । यो बर्ष सडक विस्तारलाई केन्द्रमा राखेर काम गरेको थिए । ग्रामिण क्षेत्रमा सडक सुधार भएका पनि छन् । आगामीे बर्ष खानेपानीको समस्या समाधान गर्छु।

दक्षिण ललितपुरका स्थानीय तहमा धेरै जनप्रतिनिधिहरु सहरमै बस्नुहुन्छ, त्यसमध्ये तपाई पनि एक हो, गाउँमा अडिन नसक्नुको कारण ?
हामीले खाली सहरमा मात्रै बस्ने गरेका छैनौं । दैनिकजसो कार्यालयमा पनि पुग्ने गरेका छौं । जनताका गुनासा र समस्या आफू भएको ठाउँमा बोलाएर पनि सम्बोधन गरिरहेका छौं ।

जनता जहाँ आउँछन् त्यहीबाट सिफारिस दिन्छौं । अर्कोकुरा, मैले मेरो वडालाई सिस्टममा ल्याउन इ हाजिर प्रणाली लागु गर्ने योजना बनाएको छु । त्यस्तै, जनप्रतिनिधि भइसकेकापछि केही आरोप त आउँछ नै । हामीले आरोप आयो भनेर पछि हट्नु हुन्न । आफूले काम गर्दै गएपनि त्यो आरोप र चुनौति कम हुँदै जान्छ।

तपाईको क्षेत्रमा जथाभावी बालुवा निकासी भइरहेको छ, त्यसलाई कस्ले रोक्ने ?
हामीले रोक्छौं । केही हदसम्म कम भएको पनि छ । भूकम्प पीडितको लागि घर बनाउन चाहिने बालुवा निकासी भएको हो । व्यवसायको लागि हामीले निकासी गर्न दिएका छैनौं । कहि कतै भेटाएपनि त्यसलाई कडाई गर्छौं।

अहिलेसम्म गरेका काम केके हुन् ?
जनताको मुख्य समस्यालाई नै हामीले मुख्य चुनावी योजना बनाएका थियौं । अहिले त्यसैलाई पूरा गर्नतर्फ लागिपरेका छौं । चुनावी अजेन्डाका केही काम त गरिसकेका छन् । विकासका काममा पारदर्शी भएका छौं । आउँदो ५ बर्षसम्म हामीले धेरै काम गछौं । चुनावी अजेन्डाका लगभग सबै काम पुरा गर्छौँ । म आएदेखि मेरो वडामा मोटरबाटो पुगेको छ । ठाउँठाउँमा खानेपानीको व्यवस्था पनि गर्दैछु।

तपाईको वडाले ५ बर्षभित्र गर्न सक्ने कस्ता योजना अघि सारेको छ ?
हामीले सडक, शिक्षा, खानेपानी, यातायात, स्वास्थ्य, पर्यटन विकास, कृषिमा आधुनिकरणलगायत योजना अघि सारेका छौं । विदेश जाने तर्खरमा रहेका युवाहरुलाई रोक्नको लागि हामीले त्यस्तैखाले योजना बनाएका छौं । यी योजना ५ बर्षभित्र पूरा हुने गरी काम अघि बढाएका छौं । स्थानीय जनजीवनलाई कृषिबाट कसरी बदल्न सकिन्छ भन्नेबार हामीबले बहस र छलफल पनि गर्दै आएका छौं ।

स्थानीय कस्तो समस्या बोकेर आउँछन ?
स्थानीय चौविसै घण्टा सेवा चाहियो भन्छन् । बिहानदेखि बेलुकीसम्म उनीहरु आफ्ना काम लिएर मकहाँ आउँछन् । तर, स्थानीयका समस्या धेरै ठूला र जनप्रतिनिधिले गर्न नसक्ने खालका छैनन । जनताको माग सानो–सानो छ ।

सरकारबाट आएको बजेटलाई परिचालन गरी पारदर्शी भएर काम गर्ने हो भने ती अपेक्षा पुरा गर्न समय लाग्दैन । मैले पनि सेवा ग्राहि भएको ठाउँमा पुगेर सेवा दिने गरेको छु । विहान १०–५ मै सरकारी काम हुन्छ भन्दिनँ ।
धेरैखाले समस्या लिएर आउँछन् । नामसारी, नागरिकता बनाउने, सिफारिस लगायत ।

मुख्य त धेरैले सरकारी नियम नै बुझेका हुँदैनन् । वडामा केके काम हुन्छ भनेर धेरैलाई थाहै छैन । यसबारे हामीले सुसुचित गर्ने कार्यक्रम पनि अघि सारेका छौं । स्थानीयलाई सरल भाषामा प्रसासनिक कामबारे बुझाउँदै छौै।

जनप्रतिनिधिहरु गाउँमा बसेर सेवा दिन नसक्नुको कारण के हो ?
गाउँका सेवाग्राही सहरमा आउँदैनन । म ८० प्रतिशत गाउँमा बस्छु र २० प्रतिशत सहरमा । मलाई सहरमा बस्नेहरुले बढी दुःख दिन्छन् । सबैले आफू भएको ठाउँमा सरकारी सेवा लिन पाए हुन्थ्यो भन्ने सोच्छन् ।

अर्को कुरा, सहरमै बसेर पनि वडाध्यक्षले आफ्नो जिम्मेवारी पूरा गरेको छ भने त्यसलाई गलत भन्न मिल्दैन । मैले देखे अनुसार गाउँका वडाध्यक्षको परिवार सहरमा बस्ने भएकोले उनीहरु सहर गाउँ आउँजाउ गरिहरन्छन्।

तपाईको वडामा चालु आर्थिक बर्षमा कति बजेट आएको थियो ?
गत बर्ष मेरो वडामा ७० लाख बजेट आएको थियो । आगामी आर्थिक बर्ष २०७५-७६ को लागि ५० लाख बजेट आएको छ । गत बर्ष आएको बजेट हामीले पूर्वाधार विकासमा धेरै खर्च गरेका छौं ।

कहाँ कहाँ कति बजेट खर्च भयो ?
सडक निर्माण, खानेपानीका आयोजना, कृषकलाई अनुदान विउ वितरण, सडकलगायत योजनाका काम तय भएका छन् । हामीले यो बर्ष यी क्षेत्रमा फड्को मार्छौं।

तपाईको वडामा भुकम्पले ध्वस्त पारेका वस्ती र सम्पदाहरु पुनर्निर्माण कहिलेसम्म हुन्छन् ?
अझै पनि धेरै घरधुरी टहरामा छन् । केहीले घर बनाइसकेका छन् भने केहीले पहिलो र दोस्रो किस्ताको अनुदान पनि पाएका छन् । मेरो वडामा करिब ४ सय भूकम्पपीडित छन् ।

विद्युतीय हाजिर नहुँदा धेरैजसा स्थानीय तहमा कर्मचारी अनुपस्थित हुने गरेका छन्, तपाईको वडामा के छ ?
विद्युतीय हाजिर राख्ने सन्र्दभमा पनि सोच बनाएका छौं । छिट्टै यो लागु गर्छौं।

आफ्नो वडाको शिक्षा क्षेत्रलाई कसरी व्यवस्थित पार्दै हुनुहुन्छ ?
 यो क्षेत्र शिक्षा क्षेत्रमा पनि धेरै पछि पर्दै आएको छ । मैले यो पाँच बर्षभित्र मेरो वडाका सबै स्कुलहरुमा व्यवस्थित र गुणस्तरीय बनाउँछु । शिक्षकलाई पनि तालिम दिने र योग्यता हेरेर जिम्मेवारी हेरेर योजना बनाएको छु । त्यस्तै, शिक्षकले बेइमानी नगरोस् भनेर इ हाजिरको व्यवस्था गर्न थालेका छौं । यो कार्यक्रम यही बर्षमा लागु हुन्छ।

तपाइले समुन्त र गुणस्तरीय शिक्षाको कुरा गर्नुभयो, तपाईको वडामा अधिकांश खेताला शिक्षक छन् यसको अनुगमन कस्ले गर्ने ?
यो अहिलेको समस्या होइन, पहिलेदेखिकै समस्या हो । यसलाई अहिले कडाई गरेका छौं । कुनै पनि शिक्षक अब त्यसरी काम गर्न पाउँदैनन् । यदी भेटायौं भने कारबाही गर्छौं।

जनप्रतिनिधि भएर काम गर्न कतिको सजिलो रहेछ ?
आफुमा भर पर्ने कुरा हो । अहिले स्थानीय तहमा धेरैजसो जनप्रतिनिधि कार्यालयमा नबस्ने समस्या छ । दक्षिण ललितपुरका अधिकांश गाउँपालिकाका वडा जनप्रतिनिधि भेटिन्न । यसमा माथिल्लो निकायले नै हेरफेर गर्नुपर्ने देखिन्छ । हामीले हाम्रो बल बुताले भ्याएसम्म सेवा दिने हो।

कर्मचारी कसरी परिचालन गर्नुभएको छ ?
स्थानीय तहमा अहिले ठूलो समस्या भनेको कर्मचारी परिचालन गर्न हो । मेरो वडामा ४ जना कर्मचारी छन् । कर्मचारीलाई समयमै आउने बनाएको छु । मपनि समयमै आउँछु । जनप्रतिनिधि पनि वडामै बसेर काम गरेनन् भनेर गुनासो आएको छ । मैले त्यस्तो गुनासो आउन दिएको छैन।

विकास निर्माणमा जनसहभागिता कस्तो छ ?
जनसहभागीता उत्साहजनक नै छ । सबैले आफ्ना क्षेत्रको विकास चाहनुहुन्छ । बेलाबेलामा हामीलाई पनि विकास चाहियो भनेर गुनासो गर्नुहुन्छ । हामीले समस्या हेरेर समाधान गरिदिएका छौं।

तपाईले आफ्नो कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने सपना देख्नुभएको छ ?
सबैको घर–घरमा सडक । एक घर एक धारा र युवाहरुलाई खाली बस्न र विदेश जान पर्ने अवस्था हटाउँछौं । त्यस्तै युवा लक्षित कृषि कार्यक्रमलाई पनि मैले आफ्नो मुख्य अजेन्डाको रुपमा अघि सारेको छु । खानेपानीको समस्या हल गर्ने, शिक्षा क्षेत्रलाई उचाईमा पुर्याउने, शैक्षिक क्षेत्रका सुधार गर्ने मेरो मुख्य लक्ष्य हो ।
प्रस्तुतिः शिवहरि घिमिरे

 

प्रकाशित: २२ असार २०७५ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App