१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अनुमतिबिना सञ्चालित निजी विद्यालय बन्द गरिने

रौतहट - रौतहटमा नेपाल सरकार तथा स्थानीय तहबाट अनुमति नै  नलिइ तथा लिएको अनुमतिभन्दा बढी कक्षा सञ्चालन गर्ने निजी विद्यालयलाई गौर नगरपालिकाले कारबाही गर्ने भएको छ ।

अनुमति नलिएका विद्यालयहरूलाई बन्द गराइने नगरपालिकाले जनाएको छ । जिल्ला सदरमुकाम गौरमा चालू शैक्षिक सत्रमा मात्र करिब एक दर्जन नयाँ विद्यालय खोलिएका छन् । नगरपालिकाको अनुमति नै नलिइ ती विद्यालयहरूले कक्षा सञ्चालन गरिरहेका छन्।

नयाँ विद्यालयले पहिलो वर्ष कक्षा १ को मात्रै अनुमति पाउने र त्यसपछि भौतिक पूर्वाधार लगायतका मापदण्ड पूरा गरेको खण्डमा प्रत्येक वर्ष एक तह थप गर्दै जाने प्रावधान शिक्षा ऐनमा छ । तर यस वर्षदेखि सञ्चालनमा आएका विद्यालयहरूले एकैपटक कक्षा ८ देखि १० सम्म सञ्चालन गरेको पाइएको छ।

सरकारी नियमलाई लत्याउँदै अभिभावक ठगेको भन्दै जनगुनासो बढेपछि गौर नगरपालिकाले सार्वजनिक सूचना नै निकालेर त्यस्ता विद्यालयहरूलाई बन्द गर्न निर्देशन दिएको थियो । तर अटेर गरेकाले ती विद्यालयहरूलाई अब कारबाही प्रक्रिया अघि बढाइएको गौर नगरपालिकाका मेयर अजय गुप्ताको दाबी छ । ‘हामीले तीन पटकसम्म सार्वजनिक सूचना गरेर बिना अनुमति खोलिएका विद्यालय बन्द गर्न अनुरोध गरेका थियौं,’ मेयर गुप्ताले भने ‘नगर शिक्षा समितिको बैठकबाटै निर्णय भइसकेकाले अब एक साताभित्र त्यस्ता सबै निजी विद्याल बन्द गरिनेछ ।’

मनलागी विद्यालयको स्तर वृद्धि गर्ने र एउटा विद्यालयमा पढाएर अर्को विद्यालयको सर्टिफिकेटसमेत दिने गरेको भेटिएको स्थानीय बुद्धिजीवी बताउँछन् । गौर वडा नम्बर २ का उत्तम साह घरैपिच्छे खोलिएका विद्यालयले विकृति बढाएको बताउँछन् ।जथाभावी विद्यालय सञ्चालन गरेर शैक्षिक विकृति बढाएकाले अनुमतिबिना सञ्चालन गरिएका निजी विद्यालय अब बन्द गरिने शिक्षा शाखा प्रमुख नन्दकिशोर गुप्ताको दाबी छ ।

जिल्लामा अनुमतिबिना करिब एक सय विद्यालय सञ्चालनमा रहेको अनुमान गरिएको छ । केही विद्यालयले तल्लो कक्षाका अनुमति लिएर माथिल्लो कक्षा सञ्चालन गरिरहेका छन् । सरकारी विद्यालय वा भवनको प्रयोग गरेर सय जनासम्म विद्यार्थीलाई कोचिङ र ट्युसनका नाममा ठगी गरिरहेको स्थानीयको आरोप छ । यसमा स्थानीय तहको ध्यान तत्काल जानुपर्ने नागरिक समाजका अगुवाहरू बताउँछन् ।

प्रकाशित: २१ असार २०७५ ०१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App