१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

साप्तेलबासी पहिरोको डरले रातभर जागराम बस्न बाध्य

साप्तेल गाउँमुनीको पहिरो । तस्बिर : मेघराज तामाङ

संखुवासभा – सिमसिम पानी पर्न थालेपछी साप्तेल बासीहरु त्रसित हुन्छन्। गएको मंशिर ३ गते शिलिचोङ गाउँपालिका–३ ताम्कुको साप्तेल टोल मुनी  सुख्खा पहिरो गएको थियो। संखुवा खोला नै केही समय थुनिने गरी मंसिरमा खसेको उक्त पहिरो अहिलेसम्म पनि खस्ने क्रम जारी छ। पहिरोबाट राप्तेलका १७ घर जोखिममा छन्। पहिरो खसेर परी बस्तिनै कतिखेर बग्छ भन्ने डरले साप्तेलबासी रातभर जागराम बस्ने गरका छन्।

पहिरोले घर गाउँ नै बगाएर संखुवा खोलामा मिसाई दिने होकी भन्ने डरछ उनीहरुमा। ‘अब त वर्षा लाग्यो पानी परिरहन्छ, कुन दिन बगाउने हो, टुङ्गो छैन’, साप्तेल गाउँका अगम बहादुर राईले भने। गाउँ मुनी गइरहने पहिरोले एक दिन गाउँलाई नै तान्ने सनत्रास छ उनीहरुमा।

कतै सुरक्षित स्थानमा सर्न पाए ज्यान बाँच्ने स्थानीय भक्त कुलुङले बताए। एक दशक अघि छिमेकी गाउँ सिकिदिमलाई आफ्नै आँखा अगाडी पहिरोले लगेको झलझली सम्झी रहेका साप्तेलबासीहरु आफूहरुले पनि त्यहीँ नियती भोग्नु पर्ने अवस्था आउनसक्ने भन्दै चिन्तित बनेका हुन्। गाउँमा पहिरोमा परि एक जनाले केही वर्ष अघि ज्यान पनि गुमाइसकेका छन्।

गाउँमा पहिरो गएको हप्ता दिनमा गाउँका वडा सदस्य मणिकुमार कुलुङले ताम्कु प्रहरी चौकीबाट प्रहरी टोली बोलायर स्थलगत अध्ययन गरिएपनि थप केही हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय र जिल्ला विपद व्यवस्थापन समितिलाई जोखिमको जानकारी गराइए पनि कतैबाट कुनै सहयोग नभएको स्थानीयको गुनासो छ। सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले पनि घटना स्थलको अध्ययन गर्दै बस्ति स्थानान्तरणसम्मको आसवासन दिएको भएपनि त्यो आसवासनमै सिमित भएको उनीहरुको दुखेसो छ।

तत्कालिन प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष शिवराज जोशीले चुनाव लगत्तै स्थलगत अध्ययन गरेर राहत तथा अन्य सहयोग गर्ने बताएका थिए। तर हाल उनी सरुवा भएर प्रमुख जिल्ला अधिकारीको रुपमा गणेशबहादुर अधिकारी आएका छन्। अधिकारीले भने यस विषयमा आफुलाई कुनै जानकारी नरहेको बताए।

प्रकाशित: २० असार २०७५ ०४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App