१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

'समृद्धिका लागि युद्धस्तरमा काम गर्नू'

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक विकास र समृद्धिको लागि युद्धस्तरमा काम गर्नुपर्ने बताएका छन्। नेपाल आर्थिक संघको रजत जयन्तीका अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मंगलबार प्रधानमन्त्री दाहालले गत वर्षको भूकम्प र भारतको नाकाबन्दीको कारण देशको आर्थिक स्थिति कमजोर भएको भन्दै यसको सुधारको लागि युद्धस्तरमा काम गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

राजनीतिक र सामाजिक अधिकारको क्षेत्रमा ठूलो उपलब्धि हासिल गरिसकेको भन्दै उनले प्राप्त अधिकारलाई संस्थागत गर्न पनि युद्धस्तरमा काम गर्नुपर्ने आवश्यकता रहेको बताए।

संविधान बने पनि कार्यान्वयनमा चुनौती रहेको भन्दै उनले गत वर्षको भूकम्प र सीमा अवरोधको कारण आर्थिक परिसूचक कमजोर बनेकाले आर्थिक वृद्धि र समृद्धिको चुनौती नेपाली सामु रहेको बताए।

उनले संविधानको कार्यान्वयन र मुलुकको आर्थिक समृद्धिका लागि ऐतिहासिक संकल्पको खाँचो औंल्याए। प्रधानमन्त्रीले संविधानको सफल कार्यान्वयन, पुनर्निर्माण र मुलुकको आर्थिक समृद्धिका लागि ऐतिहासिक राष्ट्रिय संकल्पको आवश्यकता रहेको बताए।

यसैगरी, प्रधानमन्त्रीले मुलुकको पुनर्संरचनाअनुसार वित्तीय व्यवहार र व्यवस्थालाई परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिँदै युवालाई मुलुकको पुनर्निर्माणमा लगाएर विदेश पलायन हुनबाट रोक्ने उपायबारे ठोस प्रस्ताव सहितको सुझाव दिन अर्थशास्त्रीलाई आग्रह पनि गरे।

संघका अध्यक्ष विश्वम्भर प्याकुरेलले नेपालको अर्थतन्त्रमा संरचनागत समस्या रहेको स्मरण गर्दै कुनै एक वर्ष आर्थिक वृद्धि राम्रो देखिए पनि त्यसले रोजगारी सिर्जनालाई सहयोग नपुर्‍याएको, गरिबीको रेखामुनि रहेको जनसंख्या घटेको देखिए पनि आर्थिक असमानता कम नभएको उदाहरण दिँदै अर्थतन्त्रको संरचनागत समस्या नै प्रमुख जड रहेको बताए।

अर्थतन्त्रमा उच्च मूल्यवृद्धि र न्यून रोजगारी सिर्जना जस्ता समस्या रहेका भन्दै उनले नेपाल राष्ट्र बैंकले प्रवाह गरेको मुद्राले सिर्जना गर्नेभन्दा पनि बढी मूल्यवृद्धि भइरहेको बताए। 'अर्थतन्त्रको संरचनागत समस्या समाधान गर्नु अहिलेको चुनौती हो,' प्याकुरेलले भने।

प्याकुरेलले नेपाल सरकारले आफैं अध्यक्ष भएको क्षेत्रीय र द्विपक्षीय संस्थामा पनि आफ्नो चासोको मुद्दा गम्भीर रुपमा राख्न नसकेको बताए। उनले नेपालले आफैं अध्यक्ष भएको संस्थामा आफ्नो चासोको मुद्दा किन राख्न नसकेको भनेर प्रधानमन्त्रीलाई प्रश्न गरे। 'दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सचिवालय काठमाडौंमा छ। सार्क अध्यक्ष नेपाल नै हो, बिमस्टेकको अध्यक्ष पनि नेपाल नै हो। अतिकम विकसित देशहरुको संगठन (एलडिसी) को अध्यक्ष पनि नेपाल हो। यी मञ्चहरुमा नेपालले आफ्ना मुद्दा किन राख्न सक्दैन,' उनले प्रधानमन्त्री दाहाललाई प्रश्न गरे।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको बेला नेपालका चासोको विषय गम्भीर रुपमा उठाउन उनले सुझाए। भारतसँग जलस्रोतको विषयमा मात्रै कुरा हुने गरेको भन्दै उनले सोबाहेक अदुवाको निकासी रोकिएका जस्ता अन्य विविध विषयतिर पनि ध्यान दिन प्रधानमन्त्रीलाई सुझाए।

संघका पूर्वअध्यक्ष मदनकुमार दाहालले कार्यक्रममा स्वागत गर्दै आर्थिक नीति निर्माणमा संघले महŒवपूर्ण सहयोग गर्दै आएको स्मरण गरे। संघले बजेट निर्माणको क्रममा आवश्यक सुझाव र राजस्व दरका विषयमा पनि परामर्श दिँदै आएको, देशले लिने आर्थिक नीति र दिशाबारे पनि सहयोग गरेको बताए।

कार्यक्रममा अर्थतन्त्रमा विशिष्ट योगदान पुर्‍याएको भन्दै पूर्वमन्त्री भेषबहादुर थापा, संघका निवर्तमान अध्यक्ष मदनकुमार दाहाल र पूर्वमन्त्री बद्रीप्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो।

कार्यक्रमको प्राविधिक सत्रमा गोविन्द नेपाल र खिमलाल देवकोटाले अन्तरसरकारी वित्तीय सम्बन्ध :  कार्यान्वयनका चुनौती र निकास विषयमा कार्यपत्र पेस गरेका थिए।

प्रकाशित: २२ भाद्र २०७३ ०५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App