१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

निकास थुनिएर जलमग्न मिर्चैया बजार

मिर्चैया – वर्षाको पानी निकासका लागि मिर्चैया नगरपालिकाले निर्माण गरेको नालाबाट वर्षाको पानी छताछुल्ल हुँदा बजार जलमग्न भएको छ।

गत्त वर्ष असार महिनामा हत्तारहत्तार निर्माण भएको नालाभएर वर्षाको पानी निकास हुन नसकेपछि बजार जलमग्न भएको हो ।

निकास थुनिदा मिर्चैया बजार जलमग्न बनेको छ । पूर्वपश्चिम राजमार्ग भएर बजार उत्तरको पानी बगिरहेको छ । राजमार्ग भएर पानी बग्दा आवागमनमा अप्ठ्यारो भैरहेको मिर्चैैयाका स्थानीय व्यपारी अशोक कुमार साहले भने ।

जिल्ला उद्योग वाणिज्य संघ सिरहाका वरिष्ठ उपाध्यक्ष समेत रहेको साहले भने,‘वर्षाको पानी निकास नहुँदा बजार क्षेत्रको घरघरमा पानी जमेको छ ।’ बजारको उत्तरबाट आएको वर्षाको पानी राजमार्ग भएर बग्दै छ । यो पानी निकास नपाउँदा बजारभरी छताछुल्ल भएको उनले बताए ।

मिर्चैयाको थाना चोकदेखि दक्षिण सडकमा पूर्व दुई सय मिटर र पश्चिम दुई सय मिटर पक्की नाला निर्माणका लागि मिर्चैैया नगरपालिकाले श्रीशक्ति निर्माण सेवा गोदारसँग ठेक्कासम्झौता गरेको थियो । ३८ लाख ९९ हजारमा ठेक्का सम्झौता गरेको नाला निर्माण काम सम्पन्न गर्न असार मसान्तसम्मको म्याद तोकिएको थियो । तोकिएको समयभित्र काम सम्पन्न नभएपछि साउन मसान्तसम्म म्याद थपेर काम सम्पन्न भएको थियो ।

निर्माणकै क्रममा पूर्वतर्फ करिब एक सय मिटर र पश्चिमतर्फ पनि एक सय मिटर नालाको भित्ता भत्केपछि स्थानीयले गुणस्तर छानविनको माग गरेको थियो । तर, छानविनको साटो भत्केको भाग टालटुल पारेर काम फर्छयौट गरियो । वर्षाको पानी निकासीका लागि बनाइएको यो नालाबाट वर्षाको पानी निकास नभएर नालाबाट बग्नुपर्ने पानी अहिले सडकमा छताछुल्ल हुँदा पैदल हिँड्न समस्या परेको छ ।

यो नालाले वर्षाको पानी थेग्न नसक्ने हामीले पहिला नै अनुमान लगाएका थियौं स्थानीय लक्ष्मण साहले भने । गत्त वर्ष नै वर्षाको पानी बग्न थालेपछि नाला भत्केको थियो ।

असारे हिलोमाथि सिमेन्ट र बालुवा मिसाएर खडा गरिएको इँटाको पर्खाल साउने झरीमा ढलेपछि निर्माणको गुणस्तरीयतामाथि प्रश्न उठाउँदै स्थानीयले छानबिन गर्न माग गर्दा सुनवाई भएन, टालटुल गरेर ढाँकछोप गरियो । अहिले यो नालाबाट पानी बग्दैन।  

९ सय ३० मिटर पक्की नाला अलपत्र
मिर्चैया नगरपालिकामा ढल निकासको समस्या सामाधानका लागि जिल्ला समन्वय समिति सिरहाले राजमार्गको उत्तरमा ४ सय ६५ र ४ सय ६५ गरी दुई प्याकेजको ठेक्का कमला निर्माण सेवा गोदारसँग गत्ते वर्ष नै सम्झौता गरेको थियो ।

सम्झौताअनुसार गत्त वर्ष असार २९ गतेसम्म ढल निर्माण काम सम्पन्न गरिसक्नुपर्ने थियो । तर, उक्त अवधिभित्र ठेकेदारले पहिलो प्याकेजको ४ सय ६५ मिटरमध्ये २ सय ३० मिटर मात्र निर्माण सम्पन्न गर्यो ।

ठेक्केदारले नाला निर्माणका लागि खनेको खाल्डोमा वर्षाको पानी भरिएर खाल्डो छेउको माटो धस्दै नाला पुरिदै गयो । नाला पुरिँदै निर्माण कार्य अलपत्र परेपछि स्थानीयहरु आआफ्नो घरपसल अगाडि पनि नाला पुर्दै गए । अहिले यो नालाको अवशेष समेत बाँकी छैन।

सिरहा क्षेत्र नम्बर ५ का तत्कालीन सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दहालको संसदीय क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको एक करोड र थप बजेटबाट एक करोड गरी दुई करोड रकम मिर्चैयाको साे ढल निर्माणका लागि विनियोजन गरिएको थियो ।

‘धेरै कसरतपछि मिर्चैयाबासीले पाएको ढलको कार्यक्रम ठेकेदार र तत्कालिन जिल्ला विकास समितिको (जिसस) लापरबाहीका कारण सम्पन्न हुन नसकेको साहले भने । उनी भन्छन्, ‘जिससले गम्भीर बनेर ठेकेदारसँग काम गराउन सकेको भए मिर्चैयाबासी चयनको सास फेर्न पाउने थिए ।’

असारमा बजेट फ्रिज हुनबाट जोगाउन हतारमा गरिएको साे काम पानीमा पैसा बगाउनमै सीमित भएको उनको भनाई छ । वर्षा लागेपछि गरिने न दिगो हुन्छन् न त बजेटको सदुपयोग नै हुन्छ । ‘असारे विकास’ आर्थिक अनियमितता गर्ने सजिलो माध्यम भएकाले वर्षको अन्तमा विकास निर्माणको काम सुरु हुन्छ ।

हरेक आर्थिक वर्षान्तमा कमिसनको लोभमा परेर करोडौंको बजेट खर्च गर्ने प्रवृत्ति पुरानै हो । जेठमा सम्झौता गरेर असारमा काम सम्पन्न हुन सक्दैन भन्ने जान्दाजान्दै पनि  करोडौं रकम पानीमा बगाइयो अझ बगाईदिछ उनले भने।

 

प्रकाशित: १८ असार २०७५ ०६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App