१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेश २ लाई विकासमा १ नम्बर बनाउने दाबी

जनकपुरधाम - मानव विकास सूचकांकका आधारमा मुलुककै सबैभन्दा पिछडिएको प्रदेश नम्बर २ लाई सन् २०३० सम्म पहिलो नम्बरमा ल्याउने गरी चौतर्फी विकास गर्न सकिने दाबी गरिएको छ। ‘समृद्धिको सपनाः सम्पन्न प्रदेशको चाहना’ नाराका साथ जनकपुरमा आइतबारदेखि आयोजित प्रदेश स्तरीय दुरदृष्टि (भिजन) २०३० विषयक दुई दिवसीय गोष्ठीमा यस्तो दाबी गरिएको हो।

आइतबार गोष्ठी उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आवश्यक आधार हुँदाहुँदै पनि प्रदेश नम्बर २ विकासमा पछि पर्नु विडम्बना भएको बताए। अबका दिनमा भने यही प्रदेशको अगुवाइमा मुलुकको समृद्धि सम्भव भएको दाबी पनि उनले गरे। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेतासमेत रहेका नेपालले भने ‘मुलुक संघीयतामा गइसकेकाले स्थानीय, प्रदेश र संघीय सरकार सहकार्यका साथ अगाढि बढेमा प्रदेश २ सन् २०३० भित्र मुलुककै नमुना प्रदेशका रूपमा स्थापित हुनेमा कुनै शंका छैन।’

प्रदेश २ मै पर्ने रौतहटमा पुख्र्यौली घर भएका पूर्वप्रधानमन्त्री नेपालले गोष्ठीमा प्रदेश विकासको आधारपत्र प्रस्तुत गरेका छन्। प्रदेश २ को विकासको पहिलो मेरुदण्ड कृषि भएको उल्लेख गर्दै नेपालले कृषिमा वैज्ञानिक तथा आधुनिकीकरण गरी सिंगो मुलुकको आवश्यकता पूर्ति गर्न सक्षम प्रदेशको हैसियत बनाउन सकिने आधार पेस गरेका छन्।

प्रदेशका हरेक पालिकाले स्थानीय सम्भाव्यता अध्ययन गरी एक बालीको प्रवद्र्धन गर्ने नीति लिनुपर्ने उनको सुझाव छ । उनले प्रदेश विकासको दोस्रो मेरुदण्डका रूपमा उद्योगको विकास भएको बताए। वीरगन्ज चिनी तथा कृषि औजार उद्योग र जनकपुर चुरोट कारखाना पुनःसञ्चालनमा ल्याउन सकिने आधार प्रस्तुत गर्दै नेपालले कृषि उत्पादनमा आधारित उद्योग कारखानाको विकासमा जोड दिएका छन्।

प्रदेश २ को विकासका लागि धार्मिक तथा कृषि पर्यटन क्षेत्रलाई नेपालले तेस्रो मेरुदण्डका रूपमा परिभाषित गरेका छन्। जानकी मन्दिरलगायत प्रमुख धार्मिक स्थल तथा ऐतिहासिक महत्वका तलाउ एवं सरोवरहरूको संरक्षण र संवद्र्धन गरी उल्लेख्य संख्यामा पर्यटक आकर्षण गर्न सकिने उनले बताए।

जनकपुर क्षेत्रमा विभिन्न मठ, मन्दिरको स्वामित्वमा रहेका जग्गा तथा पोखरीहरूको अतिक्रमण हटाइ पर्यटकीय दृष्टिले सातवटै प्रदेशमध्ये नमुना बनाउन सकिने प्रशस्त आधार रहेको नेपालले दाबी गरे।

कार्यक्रममा संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तीनवटै तहका सरकारले एकता र सहकार्य गरेर समृद्ध नेपाल निर्माण गर्नुपर्ने जिम्मेवारी आएको बताए। संघीय सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी हरेक क्षेत्रको विकास गरी सुखी नेपाली, समृद्ध नेपाल निर्माण अभियानमा अघि बढिसकेको उनले दाबी गरे। यसैकारण संघले प्रदेश तथा प्रदेशले स्थानीय सरकारलाई होच्याउने गरी कुनै पनि काम गर्न नहुने मन्त्री पण्डितले सुझाव दिए।

प्रदेश सरकारको अस्तित्व र गरिमालाई कायम राखी आफूले साउनदेखि प्रशासनिक व्यवस्थापनका लागि ठोस कदम चाल्ने तयारीमा रहेको उल्लेख गर्दै उनले चित्त नबुझेको अवस्थामा प्रदेश तथा स्थानीय सरकारका प्रमुखहरूलाई आफूसँग सल्लाह गर्न आग्रह गरे।

मन्त्री पण्डितले स्थानीय तथा प्रदेश सरकार मातहतका कर्मचारीहरूलाई जनप्रतिनिधिको नेतृत्व स्वीकार गरी कानुनले दिएको अधिकारको दायरामा रहेर काम गर्न निर्देशन पनि दिए। स्थानीय तहको जिम्मेवारीबाट पन्छिएर आए मन्त्रालयको कम्पाउन्डमा समेत प्रवेश नदिने चेतावनी दिँदै उनले कर्मचारीहरूलाई नेता बन्ने प्रवृत्ति त्याग्न सुझाव दिए । यसैगरी मन्त्री पण्डितले जनप्रतिनिधिलाई पनि संविधान र कानुन बेवास्ता गरी आफूखुसी कर्मचारी परिचालन नगर्न आग्रह गरेका छन्।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार प्राधिकरण नभएको बताउँदै समान्य प्रशासन मन्त्री पण्डितलाई आफूखुसी प्रदेशका कर्मचारी हेरफेर नगर्न चेतावनी दिए। ‘मुलुक समृद्धि अभियानमा हिँडेको भाषण मात्र गरेर हुँदैन,’ मुख्यमन्त्री राउतले भने, ‘संघीयताको मर्मलाई आत्मसात नगरी संघीय सरकारले अगाडि बढ्न खोजे मुलुक अगाडि होइन झन् पछि पर्ने खतरा छ।’ पछिल्लो समय समान्य प्रशासन मन्त्रालयले प्रदेश सरकारका विभिन्न मन्त्रालयका सचिवहरूलाई प्रदेशसँग समन्वय नै नगरी सरुवा र हेरफेर गरेको भन्दै कडा आपत्ति प्रकट गरे। उनले तीनवटै तहका सरकारले आपसमा समन्वय र सहकार्य नगरी अगाडि बढ्न नसकिने धारणा राखे। संघ र प्रदेशले पनि स्थानीय तहकै विकासमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै उनले प्रदेश नम्बर २ को विकास बिना समृद्ध नेपालको सपना पूरा हुन नसक्ने दाबी गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने गरी आयोजना गरिएको गोष्ठीमा आठवटै जिल्लाबाट प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख सहभागी छन्। मौसम प्रतिकूलताका कारण अन्तिम समयमा पुगेर प्रधानमन्त्री आउन नसक्ने खबर आएपछि मुख्यमन्त्री राउतको अध्यक्षतामा आयोजित गोष्ठीमा पूर्वप्रधानमन्त्री नेपालले प्रमुख वक्तव्य दिए। आजसम्म चल्ने गोष्ठीले प्रदेश विकासका लागि दिर्घकालीन गुरुयोजना निर्माण गरिने आयोजक २ नम्बर प्रदेश सरकारले जनाएको छ।

प्रकाशित: १८ असार २०७५ ०३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App