१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘कालो पत्रे स्तरीय नभएपछि फेरि पिच गर्न लगाए’

बिन्दा बुढाथोकी, वडाध्यक्ष  तारकेश्वर नगरपालिका–११
तपाई जनप्रतिनिधी भएर जनताले महसुस गर्ने के–के काम गर्नुभर्यो ?
वडास्तरीय योजना उपभोक्ता समिति गठन गरेर धमाधम भइराखेको निर्माण भइराखेको छ । अधिकांश वडास्तरीय योजना सम्पन्न हुने अवस्थमा रहेका छन् ।

नगरस्तरीय योजना योजना टेण्डर प्रक्रियाबाट सञ्चालन गर्दा प्रक्रियागत झन्झट र ढिलासुस्ती हुने रैछन् ।त्यसैले वडास्तरीय योजनाको तुलनामा नगरस्तरीय योजनाको निर्माण कार्य  ढिलासुस्ती भइराखेको छ ।

विकास निर्माणमा स्थानीय जनताको उत्साह लोभलाग्दो छ । आफैं उपभोक्ता समिति गठन गरेर पूर्वाधार निर्माणमा सरिक भएका छन् । वडा कार्यालयले  हिलेटोलमा २ सय मिटर सडकमा ब्लक ओछ्याएका छौं । शेषमतिदेखि नेपालटारसम्म ४ सय मिटर सडक ढलान गरेर सञ्चालनमा ल्याएका छौं । अर्काेतर्फ युरिका स्कुलदेखि नेपालटार पछाडिको एरियामा समेत डेढ सय मिटर सडक मर्मतसम्भार गरेर सञ्चालनमा ल्याएका छौं।

 लाखेटोलदेखि  लोकतान्त्रिक चोकसम्म हिलाम्मे सडकमा कालोपत्रे गर्नुभर्यो है ?
हिलो सडकमा नै पिच गरेको होइन् । ठेकेदार कम्पनीले अलकत्राको प्राइम  हाल्नु अघि सडकमा रहेको धुलो सफा नगरेकाले समस्या आएको हो । ठेकेदार कम्पनीले हतार–हतारमा कालोपत्र गरेकाले नै अहिलेको समस्या निम्तिएको हो ।

उक्त सडक कालोपत्रे गर्दा ठेकेदार कम्पनीबाट केही कमीकमजोरी भएको देखिन्छ  । स्थानीय जनताले ठेकेदार कम्पनीले हिलाम्मे सडकमा नै कालोपत्रे गरेको खबर गरेसँगै । हामीले उक्त सडकको स्थलगत अध्ययन गर्यौं ।  अध्ययनले ठेकेदार कम्पनीले स्तरीय काम नगरेको भेट्टिएपछि फेरि ठेकेदार कम्पनीलाई स्तरीय काम गर्न निर्देशन दियौं । ठेकदार कम्पनीले पछिल्लो समय फेरि  जनताले माग गरे अनुसारकै स्तरीय काम गरेका छन् । ठेकेदार कम्पनीलाई पहिलाकै खर्चमा फेरि सडक बनाउन लगायौं।

  वडाका अधिकांश सडक लथालिंग छ, कहिलेसम्म निर्माणसम्पन्न गर्नुहुन्छ ?
 नेपालटारदेखि फुटुङ जाने सडक लामो समयसम्म अस्तव्यस्त रह्यो । जसको कारणले जनताले धेरै सास्ती भोग्नुपर्यो । अहिले उक्त सडकमा गिटी बालुवा तथा गेग्रान ओछ्याएर  ग्राभेलिङको काम गरिरहेका छौं । अहिले उक्त सडक लोडरले सम्माउने काम भइसकेको छ ।

अहिले वर्षायाम सुरु भएकाले कालोपत्रे नगरेका हौं ।वर्षायाम सक्ने बित्तिकै कालोपत्रे गर्ने काम अगाडी बढाउनेछौं । अर्काेतर्फ शेषमतिदेखि नेपालटार जाने सडक पनि बेहाल अवस्थामा गुज्रिएको थियो । अहिले उक्त सडकमा ढल ओछ्याउने काम भइराखेको छ।

गत वर्ष भेलबाढीमा परेर एक बालिकाले ज्यान गुमाइन, भेलबाढी रोक्ने कस्तो योजना रहेको छ ?
बर्षात्को समयमा सडकमा नै खहरे खोला बग्ने गर्छन् । खोलावरपरका स्थानीयले खोला अतिक्रमण गरेर घर तथा बाटो बनाएका छन् । जसको कारणले खहरे खोलाको पानी सडकमा आउने गरेको छ । खहरेखोलाको पानीको उचित निकासा नहुँदा समस्या भइराखेको छ ।

गत वर्ष नेपालटारमा रहेको आफ्नो पसलबाट घर जार्दै गरेकी एक बालिका भेलबाढीमा परेर ज्यान गुमाइन् । उक्त घटनालाई वडा कार्यालयले गम्भितापूर्वक लियो । अहिले उक्त डुबान क्षेत्रमा ढल राख्ने काम सम्पन्न गरिसकेका छौं । भेलबाढी आउँदा ससाना बालबालिका मात्रै होइन्, ठूलै मानिसलाई समेत बगाउने अवस्था आउन सक्छ ।त्यसैले भेलबाढी आएको समयमा सबैले सर्तकता अपनाउन जरुरी देखिन्छ ।त्यो तर्फ सबैको ध्यान जान जरुरी भइसक्यो।

  चालु आर्थिक वर्ष भन्दा यसपाली किन वडाको बजेट घट्यो नी ?
  चालु आर्थिक वर्षमा नगरपरिषद्बाट  एक करोड ५० लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो । यस आर्थिक वर्ष २०७५–७६ मा एक करोड ३६ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । संघीय सरकारबाट आउने अनुदान रकम कम भएकाले नै बजेट कम भएको सुन्नमा आएको छ ।

अर्काेतर्फ नगरपरिषद्मा अन्य वडामा विकास निर्माणको काम नभएकाले यसवर्ष अन्य वडालाई प्रथामिकतामा राख्दा बजेट घटेको हो । बजेट कम हुँदा पक्कै पनि विकास निर्माणको काममा प्रभावित हुने गर्छ । नगरपरिषद्बाट आएको बजेटलाई सदुप्रयोग गरेर खर्च गर्नेछु।

वडाको आफ्नै वडा कार्यालय नहुँदा जनताले सास्ती पाइरहेका छन, कहिलेसम्म आफैं वडा कार्यालय सञ्चालन गर्नुहुन्छ ?
अहिलेसम्म वडाको छुट्टै वडा कार्यालय रहेको छैन । अहिले वडा नं ८ को कार्यालय भवनबाट चार वटा वडा कार्यालय सञ्चालन हुदैं आएका छन् । वडा कार्यालयको छुट्टै कार्यालय नहुँदा  टाढा–टाढाबाट अन्य वडा कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको छ ।

अहिले वडा नं ८ मा ८ नम्बर, ९ नम्बर  १० नम्बर र ११ नम्बर वडाको संयुक्त रुपमा कार्यालय सञ्चालन हुदैं आइराखेको छ । चालु आवमा नै वडा कार्यालय निर्माणको लागि २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेका थियौं ।  अहिले भवन निर्माण भइरहेको छ । सम्भवत्  दशैंसम्म विन्ध्वासिनी मन्दिर नजिकै रहेको निर्माणाधिन  वडा कार्यालय सञ्चालनमा ल्याउनेछौं।

ज्येष्ठ नागरिक तथा महिलाको लागि कस्तो योजना अघि सार्नुभएको छ ?
बैंकलाई वडा कार्यालयमा नै बोलाएर ज्येष्ठनागरिकलाई नियमित रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आइरहेका छौं । जसबाट ज्येष्ठनागरिक बैंकसम्म धाउनुपर्नेबाध्यता अन्त्य भएको छ ।

वडा कार्यालयले ज्येष्ठ नागरिकको लागि सहरी स्वास्थ्य क्लििनिकमार्फत घर–घरमा स्वास्थ्य सेवा पुर्याउने योजनासाथ काम गरिरहेका छौं । वडा कार्यालयले महिलाहरुको लागि मन्टेश्वरी कक्षा सञ्चालन सम्बन्धि तालिम सञ्चालन गरिरहेको छ । त्यसको साथसाथै घरमा निस्कने  कुहिने फोहोरमैलालाई उपयोग गरेर कम्पोष्ट मल बनाउने सीपमुलक तालिम सञ्चालन गरेको छ । आगामी दिनमा महिलाहरुलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउनेतर्फ लैजानेछौं।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ ?

वडामा अहिलेसम्म व्यवस्थित सडक र खानेपानीको प्रर्याप्त आपुर्ति हुन सकिरहेको छैन ।त्यसैले आगमी तीनवर्षभित्र सडकका सवैस्थानमा सडक र खानेपानीको  प्रर्याप्त व्यवस्था मिलाउनेछु । वडामा रहेका सार्वजानिक जग्गामा व्यवस्थित पार्क बनाउने योजना बनाएको छु । त्यस्तै गरी सहरी स्वास्थ्य क्लििनिकमार्फत ज्येष्ठनागरिकलाई घरदैलोमा स्वास्थ्यसेवा पुर्याउने लक्ष्य राखेको छु । प्रस्तुति ः हिमाल लम्साल

 

 


 

 

 

 

 

प्रकाशित: १८ असार २०७५ ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App