१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सिद्धार्थ राजमार्ग एकतर्फी खुला, यात्रुलाई होसियारी अपनाउन आग्रह

पाल्पा – सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको माथिल्लो सिद्धबाबामा पहिरो खसेपछि अवरुद्ध राजमार्ग एकतर्फी खुला भएको छ।

तिनाउ गाउँपालिका–३, हेडबक्समा निरन्तर पहिरो खसेपछि गएराति ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो । डोजरको सहायताले एकतर्फी बाटो खुला गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।रातीदेखी नै राजमार्ग अवरुद्ध भएपछि हजारौं यात्रुहरु अलपत्र परेका थिए । सडकमै रोकिएका सयौं सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।

पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पोखराबाट बुटवल जाने तथा बुटवलबाट फर्कने सवारी साधन र यात्रुहरु सडकमै अलपत्र परेका थिए । जिल्ला ट्राफिक प्रहरीले राजमार्गमा निरन्तर लेदो सहितको माटो खसिरहेकोले होसियारी अपनाएर यात्रा गर्न आग्रह गरेको छ।  

हेडबक्स भन्ने स्थानमा पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । सिद्धबाबा सडकमा पहिरो तथा ढुङ्गा खसेर सडक दुर्घटना हुने प्रक्रिया नियमित जस्तै छ । जोखिम मोलेरै सडकमा यात्रा गर्नेहरु आकाशबाट वर्षा हुँदा वा नहुँदा जुनसुकै अवस्थामा पनि बाटो काट्न बाध्य छन् ।

वर्षैदेखी यस सडकमा सयौं व्यक्तिहरुले ज्यान गुमाईसकेका छन् । सिद्धबाबा सडकखण्ड क्षेत्रमा सुरुङ्गमार्गको अध्ययन सरकारको प्राथमिकतामा छ । ‘मृत्युमार्ग’ को परिचय बनाएको यस क्षेत्रको विकल्प पनि अगाडी बढेको छ ।
सिद्धार्थ राजमार्गको सिद्धबाबामा जोखिम बढेपछि झुम्सा–चौकीभञ्याङ–चरङ्गे सडक वैकल्पिक मार्गको रुपमा नयाँ ट्रयाक खोल्ने कार्य भएको छ । तर यस सडकमा यो बर्खामा गाडी सञ्चालन हुन सक्ने स्थिती भने छैन ।

 

प्रकाशित: १८ असार २०७५ ०२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App