१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्वार्ता

राजनीतिक स्वार्थले धर्म परिवर्तन बढ्यो : कमल थापा (अन्तर्वार्ता)

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा युवा संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै देशव्यापी अभियानमा हिँडिरहेका छन्। हिन्दू राष्ट्र पुनस्र्थापनालाई मुख्य एजेन्डा बनाएर अगाडि बढिरहेको राप्रपा नेपालका अध्यक्ष थापा युवा संगठनलाई प्रशिक्षण र सम्बोधन गर्न नेपालगन्ज आइपुगेका छन्। राप्रपाको एजेन्डा र वर्तमान राजनीतिबारे पूर्व उपप्रधानमन्त्री एवम् राप्रपा अध्यक्ष थापासँग नागरिककर्मी कमल खत्रीले गरेको संवाद।

देशव्यापी कार्यक्रममा व्यस्त हुनुहुन्छ । जनतामाझ के एजेन्डा लिएर गइरहनु भएको छ ?

निर्वाचनपछि पार्टी कार्यकर्तामा निराशा र विचलनको अवस्था देखिएको छ। पार्टी कार्यकर्तामा उत्साह र ऊर्जा पैदा गर्न र राप्रपालाई देशको अग्रणी शक्तिको रुपमा स्थापित गर्ने क्रममा संगठन निर्माण अभियानमा देशव्यापी दौडाहामा छौँ।

राप्रपाले हिन्दू राष्ट्र हुनु पर्छ भनेर कुनै एउटा धर्मलाई मात्रै राज्यले विशेष संरक्षण र सुविधा दिनु पर्छ भनेको होइन। हिन्दू मान्यताको आधारमा शासन व्यवस्था सञ्चालन गर्नु पर्छ भनेको पनि होइन। हाम्रो मुख्य जोड  नेपालको धार्मिक सांस्कृतिक पहिचानको रक्षाको निमित्त हो।

अहिलेको एजेन्डाले राप्रपालाई देशको अग्रणी शक्ति बनाउन सक्छ ?

राप्रपा नेपालको राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीले अवलम्बन गरेको विचार र मार्गचित्रको विकल्पको रुपमा वैकल्पिक विचार र मार्गचित्र बोकेर खडा भएको पार्टी हो। राप्रपा संवद्र्धनवाद र राष्ट्रवादको सिद्धान्तमा विश्वास गर्दछ। आफ्नो गौरवपूर्ण इतिहास, धर्म, संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गरेर पनि सबल र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ भन्ने फरक विचार बोकेर हिँडेको पार्टी हो। यही क्रममा राप्रपाले पूर्ण धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दू राष्ट्र, राजसंस्थासहितको लोकतन्त्र र सुदृढ स्थानीय स्वायत्त शासन र उदार आर्थिक नीतिलाई पार्टीको मूल एजेन्डाको रूपमा बोकेर अगाडि बढिरहेको छ । यसले राप्रपालाई अग्रणी शक्तिका रुपमा स्थापित गराउने छ।

पूर्वराजा ज्ञानेन्द्र शाहले अर्को साता नेपालगन्ज भ्रमण गर्दै हुनुहुन्छ । त्यसअघि तपार्इंको भ्रमण भइरहेको छ। के अब राजसंस्था र हिन्दू अधिराज्य पुनर्स्थापना गराउने अभियानले तीव्रता लिइरहेको हो?

निश्चय पनि हो । पछिल्लो १०–१२ वर्षको बीचमा संगठित रुपमा हिन्दू र बौद्ध धर्मावलम्बीलाई धर्म परिवर्तन गराउने अभियान नै चलेको छ। २०६२–६३ यता मात्रै दशौँ लाख जनतालाई धर्म परिवर्तन गराइएको अनुमान छ। यसले एकातिर नेपालको राष्ट्रिय पहिचान संकटमा पर्ने र अर्कोतर्फ परम्परादेखि नेपाली समाजमा कायम रहँदै आएको धार्मिक, सांस्कृतिक सद्भाव र एकता खलबलिएर मुलुक धार्मिक द्वन्द्वमा फस्न सक्ने खतरा देखिएको छ । यो तीतो यथार्थलाई दृष्टिगत गर्दै राप्रपाले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र पुनस्र्थापनालाई मुख्य एजेन्डाको रुपमा अगाडि बढाएको छ । यो क्रममा हामी एकातिर हिन्दू राष्ट्र र हिन्दूत्वबारे आमजनतालाई जागरुक तुल्याउने र त्यसको साथसाथै हिन्दू राष्ट्र चाहने र नचाहनेबीच स्पष्ट धुव्रीकरण हुनु पर्छ भन्ने नीतिलाई अघि बढाएर जानेछौँ।

दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकताले हिन्दू राज्य पुनर्स्थापना के प्रभाव पार्न सक्छ ?

कम्युनिष्ट सिद्धान्त धर्मलाई अस्वीकार गर्दछन्। ईश्वरको अस्तित्वलाई अस्वीकार गर्छन् । धर्मलाई अफिमको रुपमा ठान्दछन् । केही कारणले गर्दा नेपालमा कम्युनिष्टको वर्चस्व बढ्दै गयो । त्यो सँगसँगै नेपालको धार्मिक, सांस्कृतिक पहिचान पनि कमजोर हुँदै गएको छ। त्यसैले हिन्दू राष्ट्र चाहने र नचाहने बीच स्पष्ट सिमाङ्कन हुनु पर्दछ । हिन्दू राष्ट्र पनि चाहने र हिन्दू राष्ट्रलाई समाप्त पार्नेलाई सहयोग गर्ने कार्य अब सँगसँगै जानु हुँदैन भन्ने हाम्रो मान्यता हो।

केही कारणले धर्म परिवर्तन भइरहेको छ भन्नु भयो । नेपालमा गरिबी र सामाजिक विभेद जस्ता कुराले धर्म परिवर्तनलाई सघाउ पुर्‍याइरहेको छ। यसतर्फ राप्रपाको ध्यान किन गइरहेको छैन ?

निश्चय पनि त्यो हो । धर्म परिवर्तनको पछाडि नेपालीको गरिब अवस्था र हाम्रो समाजमा रहेको अन्धविश्वास, विकृति र विसंगतिलाई आधार बनाइएको छ। तसर्थ हामी राजनीतिक दलका साथसाथै हिन्दू राष्ट्र र हिन्दूत्वमा विश्वास गर्नेले धर्मसँग गाँसिएका आएर भ्रमपूर्ण विकृति र विसंगतिको निराकरण गर्नुपर्छ । हाम्रो धार्मिक सामाजिक मूल्यमान्यतामा समययानुकूल सुधार गर्नेतर्फ ध्यान दिन आवश्यक छ । यसैगरी राज्यले पनि सनातन धर्मको संरक्षण निमित्त ठोस र प्रभावकारी कदम चाल्नु पर्छ । नेपालको संविधानमा धर्म निरपेक्षता भन्ने शब्द परेको भएता पनि परम्परागत रुपमा चल्दै आएको सनातन धर्म र संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व हुनेछ भन्ने पनि लेखिएको छ । अहिले जुन हिसाबले धर्म परिवर्तनको डढेलो देशमा लागिरहेको छ यसलाई रोक्न राज्यस्तरबाट पनि पहल हुन पर्छ । चाहे त्यो गरिबी निवारण गर्ने कुरामा होस् या भ्रम निवारणको कुरामा ठोस र प्रभावकारी कदम चाल्नु पर्छ । हामी हिन्दू र बुद्ध धर्ममा विश्वास गर्नेले हाम्रो धर्मको आडमा हुने गरेका सामाजिक सांस्कृतिक शोषण, विभेद र विकृतिको अन्त्य गर्न पहल गर्नु पर्छ।

हामीले बारम्बार हिन्दू राज्यको कुरा गरेका छौँ । त्यो केवल संविधानमा हिन्दू राष्ट्र भन्ने दुई शब्द उल्लेख गराउनको लागि मात्र होइन । इमानदारीपूर्वक भन्ने हो भने सदियौँदेखि अनेकौँ राजनीतिक उतारचढावका बावजुत नेपाली समाज र नेपालको राज्य व्यवस्था सनातन हिन्दू मान्यताको आधारमा खडा भएको छ ।

नेपालको इतिहासमा कुनै पनि परिर्वतन ठूला राजनीतिक दलबीचको एकताबिना सफल भएको छैन। राजसंस्थासहितको हिन्दू राज्य पुनर्स्थापना गराउने एजेन्डा राप्रपाले एक्लैले नेतृत्व गरेर सफल होला जस्तो लाग्छ?

हामीले बारम्बार हिन्दू राज्यको कुरा गरेका छौँ । त्यो केवल संविधानमा हिन्दू राष्ट्र भन्ने दुई शब्द उल्लेख गराउनको लागि मात्र होइन । इमानदारीपूर्वक भन्ने हो भने सदियौँदेखि अनेकौँ राजनीतिक उतारचढावका बावजुत नेपाली समाज र नेपालको राज्य व्यवस्था सनातन हिन्दू मान्यताको आधारमा खडा भएको छ । जसरी युरोप र अमेरिकाका समाज र राज्यव्यवस्था क्रिस्चियन मूल्यमान्यतामा आधारित छन् । कतिपय अन्य मुलुकको समाज र राज्यव्यवस्था इस्लाम मूल्यमान्यतामा आधारित छन् । यसैगरी नेपालको समाज र राज्यव्यवस्था हिन्दूत्व र सनातन मूल्यमान्यतामा आधारित छ । यो यथार्थलाई हामीले जनतामा सशक्त ढंगबाट बुझाउन सक्यौ भने हिन्दू राष्ट्र स्थापना कार्य कठिन हो जस्तो लाग्दैन । संविधान निर्माणकै क्रममा विभिन्न राजनीतिक दलका नेतासँग गरेको कुराकानीका आधारमा पनि म त्यो सम्भव देख्छु।

संविधान निर्माण गर्ने बेलामा यसपटक हिन्दू राष्ट्र राख्न नसकिएता पनि धर्म निरपेक्षतालाई हटाएर धार्मिक स्वतन्त्रता राख्ने शीर्षतहमा समझदारी बनेको थियो। तर, अन्तिम अवस्थामा कहाँ कहाँको दबाब र प्रभाव पर्‍यो फेरि धर्म निरपेक्षता राख्ने काम गरियो। त्यसको हामीले विरोध गरेपछि धर्म निरपेक्षताको स्पष्टिकरणको रुपमा धर्म निरपेक्षता विपरीत अर्थ लाग्ने धर्म निरपेक्ष भन्नाले परम्परादेखि चलिआएको धर्म संस्कृतिको रक्षा गर्ने भन्ने लेखिएको छ। खुला हृदयले छलफल गर्‍यो भने नेपालको पहिचानको रुपमा हिन्दू राष्ट्र कायम गर्नेमा राष्ट्रिय सहमति हुन सक्छ।

अहिले हिन्दू धर्मप्रति आस्था राख्ने शक्तिबीच एकता आवश्यकता देखिएको हो ?

आवश्यकता छ । अहिले कम्युनिष्ट पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेको अवस्था छ । उहाँहरुले इमानदारीपूर्वक समीक्षा गर्नु पर्दछ कि यो दुई तिहाइ बहुमतमा ९० प्रतिशत भोट हिन्दूको छ, बुद्धिष्टको छ, किराँतीको छ। जो सनातन मूल्यमान्यतामा विश्वास गर्दछन् । यति ठूलो सशक्त जनमतको जुन विश्वास प्राप्त गर्नु भएको छ त्यसलाई बारम्बार आघात पुर्‍याउने काम गर्नु भयो भने यो दुई तिहाइ बहुमत तासको घर ढलेझै ढल्न सक्छ। यसतर्फ उहाँ सचेत रहनु पर्छ । हिन्दू राज्य पुनस्र्थापना भनेको नेपालको आन्तरिक मामिला हो । देश विदेशका शक्तिको, समूहको सद्भाव र सुभेच्छा रहनु अलग कुरा हो । तर, नेपालमा कस्तो किसिमको धार्मिक सामाजिक व्यवस्था कायम गर्ने भन्ने कुरा नेपाली जनता र नेपालका राजनीतिक दलले निर्णय गर्ने विषय हो।

अहिलेको सरकारले पाएको बहुमतमा ९० प्रतिशत भोट सनातन धर्मप्रति आस्था राख्नेको हो भन्नु भयो । त्यसो भए बहुसंख्यक जनताको भावना विपरीत धर्मनिरपेक्ष राष्ट्र भएको हो त?

नेपाली राजनीतिमा तत्कालको निमित्त ‘अल्पसंख्यकवाद’ हाबी भएको छ । त्यो संगठित छ । त्यो निहित राजनीतिक स्वार्थले भइरहेको छ । निहित राजनीतिक स्वार्थले धर्म परिवर्तन भइरहेको छ।

माओवादी जनयुद्ध र त्यसपछिको जनआन्दोलनमा हिन्दू राष्ट्र विरोधीको, अन्तर्राष्ट्रिय शक्तिको धेरै ठूलो नैतिक र आर्थिक सहयोग रहेको थियो । त्यसको उहाँहरुले अहिले प्रतिफल दिइरहनु भएको छ । त्यसको साथसाथै कम्युनिष्टले परम्परा, धर्म संस्कृतिलाई आफ्नो मान्यतालाई अभिवृद्धि गर्नको निमित्त बाधकको रुपमा ठान्ने भएकोले पनि कम्युनिष्ट शक्तिले त्यो बाह्य शक्तिको दबाब, प्रभाव र सहयोगलाई सदुपयोग गरेर नेपालमा धर्म निरपेक्षता कायम गरेका छन् । यद्यपि नेपाली समाजले त्यो कुरालाई स्वीकार गर्ने सक्ने अवस्था छैन।

हिन्दू राज्य पुनर्स्थापना गराउन बौद्ध वा अन्य धर्मावलम्बीसँग सहकार्य गर्ने भन्नु भयो । यसले धार्मिक सद्भाव बिग्रार्नेतर्फ कत्तिको सचेत हुनुहुन्छ ?

राप्रपाले हिन्दू राष्ट्र हुनु पर्छ भनेर कुनै एउटा धर्मलाई मात्रै राज्यले विशेष संरक्षण र सुविधा दिनु पर्छ भनेको होइन। हिन्दू मान्यताको आधारमा शासन व्यवस्था सञ्चालन गर्नु पर्छ भनेको पनि होइन। हाम्रो मुख्य जोड  नेपालको धार्मिक सांस्कृतिक पहिचानको रक्षाको निमित्त हो। हामी सबै धर्मलाई सम्मान गर्दछौँ । पूर्ण धार्मिक स्वतन्त्रता हुनु पर्छ भन्छौँ । र धार्मिक स्वतन्त्रता कायम राख्दै ९४ प्रतिशत जनताको पहिचानको संरक्षण सँगसँगै राख्नु हुनु पर्छ भन्ने हाम्रो मान्यता हो। हिन्दू राष्ट्रको एजेन्डाप्रति अन्य धर्मावलम्बीको आपत्ति हुनु जरुरी छैन। र, साँच्चै भन्ने हो भने २०६२–६३ को आन्दोलन पूर्व नेपाल हिन्दू राष्ट्र हुँदा कुनै धर्मावलम्बीले थिचोमिचोको अनुभव गरेका थिएनन्। कुनै पनि धर्मावलम्बीले हिन्दू राष्ट्रको विरोध गरेका थिएन। यो नितान्त आयतीत मान्यता हो । हिन्दू राष्ट्र भयो भने धार्मिक द्वन्द्व ल्याउँदैन । बरु बहुसंख्यक जनताको पहिचान र आस्थालाई कमजोर बनाउने प्रयास गरियो भने त्यसले द्वन्द्व ल्याउन सक्छ।  किनभने बहुसंख्यकलाई उपेक्षा गरेर एउटा निश्चित समयसम्म मात्र काम गर्न सकिन्छ। तसर्थ बहुसंख्यक जनताको पहिचानलाई प्रतिनिधित्व गर्यो भने त्यसले धार्मिक सद्भाव र एकता कायम हुन सक्दछ।

राप्रपाले कांग्रेससँग सहकार्य गर्न सकिँदैन भनिरहुनु भएको छ। कुन अवस्थामा राप्रपा र कांग्रेसबीच सहकार्य हुन सक्छ?

नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि २०६३ सालसम्म अवलम्बन गरेको धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको सिद्धान्तमा उभिने हो भने राप्रपासँग सहकार्य हुने मात्र होइन नेपाली कांग्रेस र प्रजातान्त्रिक शक्ति नेपालको सबैभन्दा ठूलो शक्तिशाली विचारधारा र पार्टीको रुपमा स्थापित हुन सक्दछ । नेपाली कांग्रेसले बीपी कोइराला, सूवर्ण शमसेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको विचारधारालाई परित्याग गरेर कम्युनिष्टको र विदेशीको एजेन्डा बोकेर हिँड्न थालेपछि क्रमशः पतनतर्फ गइरहेको हो । यो वास्तविकतालाई दृष्टिगत गरी यदि कांग्रेस स्थापनाको वैचारिक धरातलमा उभिने हो भने हामी सहजै नेपाली कांग्रेससँग सहकार्य गरेर अगाडि बढ्न सक्छौँ।

प्रकाशित: १७ असार २०७५ ०७:५० आइतबार

राजनीतिक स्वार्थले धर्म परिवर्तन बढ्यो कमल थापा अन्तर्वार्ता