१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजपामा दलका नेता चयन प्रक्रिया अन्योलमा

काठमाडाैं - संसदीय दलको नेतामा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्षमण्डलक सदस्य राजेन्द्र महताले इच्छा देखाएपछि राजपामा संसदीय दलको नेता चयन गर्ने प्रक्रिया लम्बिँदै गएको छ। सहमतिबाट दलका नेता चयन गर्ने कि चुनावी प्रक्रियामा जाने भन्ने विषयमा राजपाका अध्यक्षमण्डलका सदस्यबीचमै विवाद उत्पन्न भएको छ।

आगामि वैशाखमा राजपाको पहिलो महाधिवेशन हुँदैछ । राजपाको संसदीय दलको नेता महाधिवेशनपछि पार्टी अध्यक्ष हुने सम्भावना भएकोले पनि दलका नेता हुन ठाकुर र महताले आकांक्षा देखाएका हुन्। स्रोतका अनुसार दुवै नेता सहमतिबाट संसदीय दलको नेता हुन चाहन्छन । पार्टी निकट स्रोतका अनुसार, दलको नेतामा महतोले आफूलाई समर्थन गरून भन्ने ठाकुर चाहन्छन् भने महतो पनि ठाकुरको प्रस्तावबाट आफू दलको नेता हुन चाहन्छन् । तर दुवै नेताले सार्वजनिक रूपमा यसबारे बोलेका छैनन। ठाकुरलाई दलका नेता बनाउने कि महतोलाई बनाउने भन्ने विषयमा अध्यक्षमण्डलका सदस्य नै विभाजित भएका छन् । स्रोतका अनुसार महेन्द्र यादल, राजकिशोर यादव र अनिल झाले ठाकुरलाई साथ दिएका छन् भने शरतसिंह भण्डारीले महतोलाई साथ दिएका छन् । महतो निकट नेताहरू पार्टीभित्र महतो बलियो भएको दाबी गर्छन्। चुनावी प्रक्रियमा गए महतो विजयी हुने महतो निकट नेताहरू बताउछँन्। राजपाको १७ सदस्यीय संसदीय दलमा ९ सांसद पूर्व सद्भावना पार्टी निकट भएकाले महतोको पल्ला भारी भएको महतो निकट नेताहरूको दाबी छ। यता ठाकुर निकट नेताहरू पूर्व सद्भावनाका केही सांसद अहिले ठाकुरसँग निकट भइसकेकाले चुनावी प्रक्रियामा गए पनि ठाकुर विजयी हुने दाबी गर्छन्। शारीरिक रूपमा ठाकुर अस्वस्थ्य भएकाले दलको नेता महतो हुनुपर्ने महतो निकट नेताहरूको भनाइ छ भने वरिष्ठता र राजनीतिक अनुभवका कारण ठाकुरको विकल्प नभएको ठाकुर निकट नेताहरू बताउँछन्।

ठाकुर र महतोको मन नमिलेपछि करिब सात महिनादेखि राजपाले संसदीय दलको नेता पाउन सकेको छैन । गत असार ११ गते राजपाको संसदीय दलको बैठक बस्ने र सोही बैठकले संसदीय दलको विधान पास गरी दलको नेता चयन गर्ने प्रक्रिया सुरू हुने नेताहरूले बताएका थिए। तर अध्यक्षमण्डलका सदस्यहरू काठमाडौं बाहिर भएको कारण देखाउँदै ११ गते बस्ने भनिएको दलको बैठक स्थगित गरिएको थियो । अब असार २१ गते राजपाको राजनीतिक समितिको बैठक बस्ने भएको छ । सो बैठकले संसदीय दलको विधान पास गर्ने अध्यक्षमण्डलका सदस्य महेन्द्र यादवले बताए । उनले भने, ‘असार २१ गते बस्ने पार्टीको राजनीतिक समितिको बैठकले संसदीय दलको विधान पास गर्छ । त्यसपछि दलको नेता चयन गर्ने प्रक्रिया अघि बढ्छ। ’ संसदीय दलको विधान पास नभएकोले राजपमा संसदीय दलको नेता चयन हुन नसकेको उनले बताए। उनले भने, ‘संसदीय दलको नेता कसरी चयन गर्ने भन्नेमा अझै टुगों लागेको छैन। सहमतिबाट पनि दलका नेता टुंगो लाग्न सक्छ । चुनाव पनि हुन सक्छ ।’ यसैगरी राजपका महासचिव केशव झाले पनि संसदीय दलको विधाान पास नभएकोले संसदीय दलकै नेता चयन हुन ढिलो भएको बताए। उनले भने, ‘विधान पास नभएका कारणले संसदीय दलको नेता चयन हुन ढिलो भएको हो। विधान पास हुनेबित्तिकै दलको नेता चयन गर्ने प्रक्रिया अघि बढ्छ।’

प्रकाशित: १७ असार २०७५ ०२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App