१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘संविधानले हतियार मोह बोकेको छ’

काठमाडौ - नेपालको संविधानले हतियार मोह बोकेको आरोप जानकारहरूले आरोप लगाएका छन्। राजधानीमा शनिबार आयोजना गरिएको संविधानको अन्तर्य विषयक अन्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले सो आरोप लगाएका हुन्। कानुन विद्यार्थी सर्कल, ल क्याम्पसले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै पूर्व कानुन सचिव तथा कानुनका ज्ञाता मोहन बञ्जाडे र विश्लेषक सौरभले नेपालको संविधानका विषयमा आ–आफ्ना धारणा राखेका हुन।

अन्तक्रिया कार्यक्रममा बोल्दै विश्लेषक सौरभले संविधानमा प्रयोग भएका शब्द जनताबीचमा विभाजन ल्याउने किसिमका रहेको आरोप लगाए । उनले संविधानमा नेपालको गौरवपूर्ण इतिहासलाई वेवास्ता गर्दै नेपाल केही वर्ष अघि मात्र गठन भएको मुलुक जस्तो बनाइदिएको आरोप लगाए।

‘नेपालको इतिहास धेरै पुरानो हो, तर नयाँ संविधानले नेपालको इतिहास केही वर्षअघि गठन भएको जस्तो देखाएको छ । संविधानमा दुई दशक यताका घटना क्रमलाई मात्र प्राथमिकता दिइएको छ, यसले संविधानले नेपालको पुरानो इतिहासलाई मास्ने काम गरेको प्रष्ट हुन्छ,’ उनले भने। संविधानमा ट्रेड युनियन, विदेशी सहयोग र रेमिन्ट्यान्सको व्यवस्था हुनु निकै दुखको कुरा भएको उनको भनाई थियो। नयाँ संविधानमा आइएनजीओलाई वैद्यता दिएको भन्दै उनले हाल नेपालमा सरकार नभएर आइएनजीओको छायाँ सरकार रहेको आरोप लगाए।

‘नेपालमा सरकार कहाँ छ ? छायाँ सरकारले सरकार चलाईरहेको अवस्था छ,’ उनले भने। भूकम्प गएको तीन वर्षसम्म पनि सरकारले भूकम्प पीडितलाई राहत र सहयोग दिन नसकेको भन्दै उनले अहिलेको सरकारले जुद्ध समशेरको सरकार जति पनि काम गर्न नसकेको आरोप लगाए। उनले पछिल्लो समय हरेक क्षेत्रमा राजनीति हाबी हुँदै गएको भन्दै अहिले कृषि पेशा गर्ने भन्दा राजनीतिलाई पेशा बनाउनेको संख्या बढेको आरोप लगाए।

अन्तक्र्रिया कार्यक्रममा पूर्व कानुन सचिव बञ्जाडेले नेपालको संविधानले हतियार मोह बोकेको दाबी गरे। कानुनका ज्ञाता समेत रहेका उनले अन्य मुलुकले विगतमा भएका द्वन्द्व बिर्सेर संविधान सबैको साझा हुने गरी बनाएपनि नेपालमा भने संविधानमै द्वन्द र हतियारको शक्तिलाई वैधानिकता दिएको बताए। अहिलेको संविधान विभाजन मुखी रहेको र संविधानलाई व्याख्या गर्ने अधिकार न्यायालयबाट बञ्चित गरिएको उनको आरोप छ।

‘पहिलेको संविधानमा सम्पूर्ण न्याया दिने अधिकार सर्वाेच्च अदालतले पाएको थियो, नयाँ संविधानमा त्यो शब्द हटाइएको छ,’ बञ्जाडेले भने। उनले संविधान लेख्दा इतिहासको वेवास्ता गरिएको र संविधान निर्माणका बेला संकलन भएका जनताका प्रतिक्रियालाई लुकाउने काम गरेको बताए। ‘संविधानमै नेपालको भाषा, झण्डा र राष्ट्रिय एकतामाथि प्रहार गर्ने काम भएको छ,’ बञ्जाडेले भने।

उनले नेपालमा पश्चिमा अजेन्डा स्थापित गर्न र स्वार्थ घुसाउन संयुक्त राष्ट्र संघको भूमिका निकै खतरनाक हुने बताए। ‘नेपालमा पश्चिमा एजेन्डा स्थापित गर्न यूएनको भूमिका निकै खतरनाक हुन्छ, पश्चिमा मुलुकले यूएन मार्फत यहाँको धर्म, संस्कृति जस्ता विषयमा आफ्नो स्वार्थ घुसाउन खोज्छन्,’ उनले भने।
बञ्जालेले युएनलगायतका विभिन्न दातृ निकायसँग सावधान हुनुपर्नेमा जोड दिए। बञ्जाडेले संविधानमा नजानेर वा कसैको प्रभावमा परेर गलत कुरालाई प्रवद्धन गरेको आरोप लगाए। ‘संविधान लेख्दा कानुन मस्यौदा गर्ने सिद्धान्तको समेत ख्याल गरिएको छैन,’ उनले भने।

प्रकाशित: १७ असार २०७५ ०२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App