१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विपक्षीलाई नगरसभा छाड्न मेयरको उर्दी

नगर सभाको बहिस्कारपछि नगरपालिकाको प्रतिक्षालयमा बसेका नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू। तस्बिरः अरूण/नागरिक

डोटी – दिपायल सिलगढी नगरपालिका नगरसभाको बन्दसत्र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले बहिस्कार गरेका छन्। 

तत्कालिन नेकपा एमालेबाट निर्वाचित नगरप्रमूख मञ्जु मलासीले ‘नगरसभा छाड्न उर्दी’ गरेपछि आफुहरूले शनिबारको नगरसभा बहिस्कार गरेको उनीहरूले बताएका छन्। 

नगरपालिकाका कामकारबाहीहरुको पारदर्शी नभएको, कार्यक्रमहरुमा नगरप्रमुख तथा उप–प्रमुखले आफ्ना कार्यकर्ता पोस्ने काम मात्रै गरेको र जानकारी लिन खोज्दा नगरप्रमुख मञ्जु मलासीले उल्टै नगर सभा छाडेर जान ‘उर्दी’ गरेपछि आफुहरूले नगरसभा बहिस्कार गरेको वडा नम्बर–२ का वडाध्यक्ष राजेन्द्र खड्का बताए। ‘उहाँहरूले बहुमतको दम्भ देखाउनुभयो। बहुमतका आडमा जे गरेपनि हुन्छ भन्ने रबैया देखाउनुभयो,’ उनले भने,‘हामी त्यसका साक्षी बस्न चाहेनौ र बहिस्कार गर्यौ।’ 

नगरसभामा छलफल चलिरहँदा बिषयगत निकायका प्रमुखसँग जवाफ माग्दा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरूले बखेडा झिँक्दा मेयरले उनीहरुको पक्ष लिएर आफुहरुलाई बाहिरिन उर्दी जारीगरेपछि बहिस्कारको निर्णयमा पुगेको वडा नम्बर–३ का सदस्य रतन द्वारियाले बताए। ‘बन्द सत्रमा बिषयगत शाखाका कार्यक्रमहरूका बिषयमा छलफल भैरहेको थियो।

केही शाखाका कामहरू अपारदर्शी देखेपछि हामीहरूले सम्बन्धित शाखाका प्रमुखहरुसँग जानकारी लिन खोज्यौ,’ उनले भने,‘त्यसमा एमालेबाट जितेका वडाध्यक्षहरू बीचमा आएर बिबाद गर्न थाले। त्यसपछि मेयरसाबले पनि उल्टै हामीहरूलाई बाहिरिन उर्दी जारी गरेपछि बहिस्कार गरेका हौ।’ 

बिषयगत शाखाबाट प्रबाह भएको बजेटका कार्यक्रमहरू सबै कार्यकर्ता पोस्नेगरी खर्च गरिएको वडा नम्बर–३ का वडाध्यक्ष चक्र बहादुर माझीले आरोप लगाए। उनले भने,‘पशुपालन  तर्फका बाख्रा, भैसी, कुखुरा, बंगुरपालन लगायतका कार्यक्रममा एकलौटी एमालेका कार्यकर्तालाई मात्रै रकम दिइएको छ। हाम्रा छनोट भएर नाम सार्वजनिक भएकाहरूको नाम हटाइएको छ।’ 

नगरपालिकाका हरेक गतिबिधि अपारदर्शी रुपमा सञ्चालन भैरहेको कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको आरोप छ। नगरप्रमूख मलासीले वडाध्यक्षका बीचमा भएको बिबादले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि बाहिरिएको प्रतिक्रिया दिइन्। आफुले सबैलाई मिलाएर लैजान खोजेको नगरप्रमूख मलासीले बताइन्। ‘सबैलाई मिलाएर लैजानै खोजेको छु। यसमा मैले आफ्नो(एमालेबाट जितेको) वडाध्यक्षबाट नै आरोप भोगिरहेकी छु। यती हुँदाहुँदै पनि बिबाद झिके बहुमतबाट निर्णय गर्छु भन्नैपर्यो,’ उनले भनीन्। 

दिपायल सिलगढी नगरपालिकामा कुल ५५ सदस्यीय नगरसभा छ। जसमा ३३ जना तत्कालिन नेकपा एमालेबाट र २२ जना नेपाली कांग्रेसबाट निर्वाचित सदस्यहरु छन्। 

प्रकाशित: १६ असार २०७५ १२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App