१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

जो चर्चामा आउँदैनन्

साहित्यफाँटमा कुनै समय यस्तो थियो । जुन बेला खोजी खोजी साहित्यिक रचना पढिन्थ्यो । सकेसम्म भेला भएरै नभए लेखेर ति सिर्जनाको राम्रा र कमजोर पक्ष केलाइन्थ्यो । जसले नयाँ लेखनी र लेखकको धार तिखाथ्र्याे । आगामी सिर्जना राम्रो बनाउन प्रेरणा र दबाब दुवैका लागि ऊर्जा बन्थ्यो।

अचेल सामाजिक सञ्जालबाट केही कृति बजारमा आएको थाहा हुन्छ । त्यसैमा चर्चा चल्छ । त्यसकै आधारमा कतिले पुस्तक किन्छन् । पहुँचका आधारमा बहस र चर्चा चलाइन्छ । त्यही चर्चाकै आधारमा पुस्तक उत्कृष्ट दस वा बिसको लाइन लगाइन्छ । कहिलकाहीँ पहुँचकै आधारमा पुरस्कार पनि बाँडिएका खबर आउँछन् । तर, यस्ता सतही चचाको माहोलमा नबस्ने, सामाजिक सञ्जाल, मिडियाकर्मीकोे निकट नभएकाहरू भने चर्चामा आउँदैनन् । गम्भीर लेखनमा संलग्न पुरुष हुन् वा महिला, उनीहरु जहिल्यै ‘चर्चा’भित्र अटाउँदैनन् । अत्यधिक महिला स्रष्टाका त कति पुस्तक बजारमा आए । त्योसम्म थाहा पाउन मुस्किल पर्छ।

इतिहासविद् महेशराज पन्तका हालसम्म १३ पुस्तक छापिए । नेपालको सेरोफेरोमा गहन अध्ययनले भरिएका उनका अक्षरका चर्चा न्यून रहे । गत मंसिरमा प्रकाशित उनको ‘जनै पूर्णिमादेखि रानीपोखरीसम्म’ नामक कृति अतुलनीय गुण भएको पुस्तक हो । त्यसको चर्चा जति हुनुपथ्र्यो त्यति हुनै सकेन । उनका अन्य कृतिहरू ‘असंस्कृत एजुकेसन’, ‘नेपाल संवत्को राष्ट्रिय मान्यताको अनौचित्य’, ‘टु अर्लियस्ट कपर प्लेट अ डिस्कृप्सन अफ नेपाल,’ ‘अभिलेख संग्रह’लगायत गहनता बोकेका कृति त्यस्तै ओझेलको खोल ओढ्न बाध्य रहे ।‘अरुले नलेख्दा आफ्नो बखान कहिले आफै गर्छु,’ केही अन्योल मिश्रित स्वरमा पन्त भन्छन्, ‘अरुबाट खै किन चर्चा भएन ।’

‘मान्छेको गम्भीर अध्ययन गर्ने प्रवृत्ति हराउँदै गयो अनि हल्का फुल्का पढ्न रुचाउन थालेर पनि यस्तो भयो कि,’ उनी अनुमान लगाउँछन्, ‘कुमार नगरकोटी, शारदा शर्मा जस्ता चलेकालाई बढी पढ्छन् । हामीजस्ता भीडमा पुग्न नसकेकालाई कसले खोज्ने ?,’ गम्भीर अध्ययनसँगै अहिलेको पाठकमा भाषाको ज्ञान पनि घट्दै गएको अनुभूति उनले गरेका छन् ।

पत्रपत्रिकाले गहन अध्ययन नगरी लेखरचना प्रकाशित गर्दा त्यसकै भ्रममा विश्लेषण गर्ने बानी पाठकमा परेको आरोप उनी लगाउँछन् ।उनी भाषिक तथा साहित्यिक रूपमा अराजकता फैलिँदै गएकोमा दुःख पोख्छन् । केही दिनअघि ‘रूपरेखा’ पत्रिका १०३ अंक छापेर बन्द भयो भनी एक राष्ट्रिय दैनिकले छापेको उदाहरण समेत उनले दिए । सार्वजनिक समारोहमा जाँदा समय खर्च हुन्छ ।

गम्भीर लेखनमा संलग्न पुरुष हुन् वा महिला, उनीहरु जहिल्यै ‘चर्चा’भित्र अटाउँदैनन् । अत्यधिक महिला स्रष्टाका त कति पुस्तक बजारमा आए । त्योसम्म थाहा पाउन मुस्किल पर्छ।

त्यहाँ अरुले भाषण गरेको सुनेर ज्ञान नबढ्ने उनको ठम्याइ छ ।  त्यस्ता कोठे कार्यक्रमले मञ्चमा बस्नेको नाक ठूला पार्ने बस्न नपाउनेको मन खुम्चाउने काम मात्र गर्ने उनको दाबी छ ।उनलाई चर्चामै आउन कसैलाई अनुनय गर्न मन पर्दैन । ‘म पनि उनीहरूजस्तै ठाउँ खोजेर लेख्ने–बेच्ने काम गर्न इच्छा लागेन,’ उनी थप्छन्, ‘निस्काम काम गर्ने, फाइदा उठाउँछु भनेर नगर्ने भएर चर्चा भएन होला ।’ अरुको भने खोजी खोजी पढेर आलोचना गर्छन् । कम्य्ुनिस्ट नेता बामदेव गौतमको लेखनीको आलोचना गर्दा उनी चर्को आलोचित भए।

‘कुनै दृष्टिविहिन काटिएको रुखको जरामा ठोक्किएर लड्यो भने रुखको के दोष,’ उनी उदाहरण दिन्छन्, ‘यो रुखको अपराध होइन, अपराध त दृष्टिविहिन आँखा नदेख्नेकै हो ।’ ज्ञानको आँखा नभएकाले आफ्ना कृति हेरेनन् वा देखेनन् भनेर किन अपसोच गर्ने भनेर उनी चित्त बुझाउँछन् । अरुको साहित्य खोजी खोजी पढ्छन् र लेखिदिन्छन् । बजारमा राम्रा भन्दा कमसल पुस्तकको बाढी आएझैं लाग्छ, उनलाई ।रिटायर्ड प्राध्यापक कृष्ण गौतम पनि उति चर्चामा नआउने स्रष्टा हुन् । २०४८ सालमा निस्केको उपन्यास ‘स्वर्ण बिम्ब’ त्यसपछि कथासंग्रह ‘नाच’लगायत एक दर्जन चिन्तनशील सिर्जनाका धनी हुन् गौतम । उनको चर्चा न कतै पत्रिकामा हुन्छ न त सभा समारोहमा नै।

गत वर्ष प्रकाशित उनको ‘रानीवन’ उपन्यासको गहनता पढ्नेलाई राम्रै थाहा छ । प्रचारप्रसारको लागि देश दौडाहा गरेनन् । न त सार्वजनिक समारोहमा पुगेर ‘लौ पढिदेओ न’ नै भने । एकाध छोटा समाचार छापिए त्यति हो । एक वर्ष बित्दा उपन्यासको पहिलो संस्करणको दुई हजार प्रति सकिएको छैन।

‘मेरो काम आफ्नो विचार चिन्तन प्रस्तुत गर्ने, समाज कस्तो छ भनेर चिनाउने हो,’ उनी स्वच्छन्द भावले भन्छन्, ‘कसैले किनेर पढे पढुन्, नपढे नपढुन्, म त्यो हिसाबकिताब राख्दिनँ ।’कुनै कृति पढ्ने÷नपढ्ने चयन गर्न पाठकलाई स्वतन्त्र छाड्नुपर्छ भन्नेमा उनी विश्वास राख्छन् । त्यसले नै निष्पक्ष समालोचना गर्ने उनको बुझाई छ । उनी आधुनिक प्रविधिको सामाजिक सञ्जाल, सञ्चारमाध्यममा सक्रिय छैनन् । अचेलको पुस्तक सामजिक सञ्जालमा कुुन आयो, मिडियाले कस्तोलाई चर्चामा ल्याउँछन् भन्नेमा भर पर्नुलाई सही मान्दैनन् ।

मिडियाले पनि आफ्ना मान्छे र नजिक रहेकाको बढी चर्चा गर्ने गरेको उनी आरोप लगाउँछन् ।
पाठक मिडियाकै भरपर्नु स्रष्टाको लागि थप हानीको विषय रहेको उनको टिप्पणी छ । मिडिया एउटा माध्यम हो । तर, सबथोक हैन भन्ने भ्रम साहित्यिक जगतबाट हटाउन जरुरी रहेको उनको बुझाइ छ ।चर्चामा नपर्नुको पीडा माथिका पुरुष स्रष्टाले जति बेहोरेका छन् । त्योभन्दा बढी महिला स्रष्टाले भोग्दै आएका छन् । महिलाले जतिसुकै राम्रा सिर्जना गरोस्, पुरुष प्रधान सोचले त्यो राम्रो ठम्याउन समय लगाउँछ । त्यो बेलासम्म थोरै भए पनि हुनुपर्ने चर्चाको वसन्त ऋतु हिउँदमा परिवर्तन भइसक्छ ।

महिलाका सिर्जना खोजी–खोजी चर्चामा ल्याउनुपर्छ भन्ने मान्यता राख्छिन्, लेखक तथा प्रकाशक अर्चना थापा । ‘सामाजिक जन्जाल र घर गृहस्थीले यसरी गाँजेको हुन्छ कि उसले अरु विषयमा समय दिनै पाउँदैनन्,’ थापा भन्छिन्, ‘घरमा बिरामी होस् वा पाहुना आओस् महिलाकै भर हुन्छ ।’ आफ्ना लागि पाएको कम समय लेखन र सार्वजनिक रूपमा हिँड्नका लागि पर्याप्त नहुने उनको तर्क छ । फलस्वरूप लेखेर पनि चर्चामा आउने बाटो बन्द हुन्छ ।

उनका अनुसार सार्वजनिक वृतमा पुरुष बढी देखिन्छन् । महिलाको उपस्थिति न्युन हुँदा लेख्ने महिला छँदै छैनन् भन्ने भान पर्छ, जसले ‘आउँदैनन्, गर्न सक्दैनन् र चाँहदैनन्’ भन्ने टीकाटिप्पणी बढी हुन्छ । कतिपय महिला आफै  समय अनुसार चल्न नसक्दा ओझेलमा पर्छन्।

घर परिवारको बन्देजले लेख्न सक्ने खुबीमै अंकुस लागेका धेरै रहेको थापाको आँकलन छ ।नेपाली समाजमा आदर्श महिला भनेको शान्त र चुप लागेर बसेको तस्विर बनेको छ । जसले महिला खुलेर भन्न र चर्चामा सामेल हुन नसक्ने वातावरण बनेको उनको बुझाई छ । महिलाका सिर्जनामाथि विश्वासको वातावरण बनाउनुभन्दा मिडियाले पहुँचवालाको चर्चा गरिदिँदा महिला स्रष्टा मारमा पर्छन्।

राम्रै पुस्तक पनि ‘के नै लेख्या होला र ?’ भनेर महिलाको क्षमतामाथि प्रश्न गर्ने पाठकको सोचबाट पुरुषवादी सोचको अंकुस हट्न नसकेको उनले पाएकी छिन् । ‘पढेर बोलिदिए पो थाहा हुन्छ,’ उनी प्रष्ट्याउन खोज्छिन्, ‘गल्ती नै भए पनि सच्याएर अघि बढ्न हौसला हुन्छ ।’ बजारमा हुने प्रोपोगान्डा, शक्ति र स्रोतको पहुँचमा महिला स्रष्टा कमजोर सावित भइरहेको उनी बताउँछिन् ।

एकाध सक्रिय महिलाको सुरुवाती सिर्जना राम्रा बिके पनि चर्चाको हिसाबमा अब्बल हुन नसकेको उनले अनुभव बटुलेकी छन् ।महिलाले जानेका ज्ञानका परिधि र पुरुषले जानेका ज्ञानका परिधि फरक हुन्छन् । घरगृहस्थीकै फरक अर्थशास्त्रमा ‘तरकारी नहुँदा कसरी चलाउने ? कसैको घाँटी दुखे कस्तो पानी तताएर दिने ?’ भन्ने कुरा महिलाले जानेका हुन्छन् । महिलाले गरेका फरक मेहनत र सीपका विषय साहित्यमा रुचाइन्नन्।

‘सिर्जना कमजोर छन् भने त्यो पनि बहस हुनुपर्छ,’ उनी आक्रोश पोख्छिन्, ‘शब्दहरू, वाक्य अंश किन फरक छन् भने त्यो पनि कुरा चल्नुपर्छ ।’ महिलाले जान्दैनन् भनेर एक वाक्यमा भन्नु गलत रहेको टिप्पणी गर्छिन् ।
जलेश्वरी श्रेष्ठले साहित्यमा कलम चलाउन थालेको धेरै भएको छैन । जति लेखिन्, मनमर्जीले लेखिन् । गएको जेठ २९ गतेमात्रै उनको कथा संग्रह ‘फूल फूलाउने गमला’ बजारमा आयो । तर, पाठकले बजारमा आएको भेउसम्म राम्ररी पाउन सकेनन्।

उनी प्रायजसो जमघटमा पुग्छिन् । तर, त्यहाँ चर्चा कमाएकैको बढी चर्चा हुन्छ । यसअघि प्रकाशित उनको ‘लाभाका बाफहरू’ कथा संग्रहको थोरै चर्चा चल्योे । त्यसअघि वा पछिका अन्य सिर्जना अरुलाई याद छैन ।  बिक्री र त्यसबाट कति आम्दानी भयो भन्ने समेत उनलाई जानकारी छैन । उनका ‘मौन विद्रोह’सहित चार कथा संग्रह, एक उपन्यास, पाँच बालकथा संग्रह, दुई बालउपन्यास प्रकाशित भए ।

‘कसैलाई समीक्षा लेखिदेउ न भन्ने बानी छैन,’ उनी आफ्नो व्यथा पोख्छिन्, ‘अन्तरमुखी छु, मिडियाका केहीसँग सम्बन्ध छ । तर, गर्देउ न भन्न सक्दिनँ ।’ बुझेर आलोचना–समालोचना गरिदिने चलन महिलाका लागि हराएजस्तो लाग्छ उनलाई ।नारीमनको विचारधाराको विश्लेषण गर्ने क्षमता समालोचकमा बढ्नु जरुरी रहेको उनको बुझाई छ ।बजारमा चलेका पुरुष साहित्यकार कुमार नगरकोटी, अमर न्यौपाने, सुविन भट्टराई जस्ताको तुलनामा महिलाका लेखनी कमजोर मान्दिनन्, उनी।

२०१६ सालदेखि कविता लेखन थालेकी कवि तोया गुरुङ अचेल गुमनाम छिन् । उनका कविता संग्रह मात्रै ६ वटा प्रकाशन भएका छन् । अझै प्रकाशोन्मुख छन् । निकै मुस्किलले २०४२ सालमा ‘सूर्यदह’ कविता संग्रह निकालेको उनलाई याद छ । त्यसअघि जनमत संग्रहको आन्दोलनमा होमिदाको सुखद अनुभूतिसँग आफ्ना कृतिका संकलन हराउनुको दुखद पल उनले संगालेकी छन्।

उनको ‘धुपी’, ‘देवल घुमेपछि’, ‘पुनरावती’ जस्ता कविता संग्रह साहित्य फाँटका ऊर्जा नै हुन् । यीबाहेक ‘कुसुम’ कथा संग्रह, ‘अस्प्रिस्य’ संस्मरण, ‘तोया गुरुङका लामा कविताको संग्रह’, धुपीको अंग्रेजी अनुवाद, फुटकर कविताको अंग्रेजी अनुवादलगायत पाठकमाझ पुगे । चलेका साहित्यकारसँग प्रतिस्पर्धा गर्न प्रचारप्रसार गर्नुपर्ने र मिडियासँग नजिक हुनुपर्ने उनलाई थाहा छ । तर, पनि उनी त्योबाट टाढै छिन् । उनका कति विमोचन नभई बजार पुगे । प्रतिफलका रूपमा न उनले समालोचना पाइन न त आर्थिक भरथेग नै।

साहित्य फाँटमा उनलाई महिलाको चर्चा र परिचर्चा न्युन भएकै हो भन्ने लाग्छ । पहुँचकै आधारमा भर्खर लेख्न थालेका एकाध महिलाको चर्चा सुने पनि लामो समय संघर्ष गरेका महिला उनीजस्तै गुमनाम छन् भन्ने भोगेकी छन् ।
‘लेख्नुपर्ने कृति हो लेखेकै छु, भोगेको कुरा भनि नै रहन्छु,’ उनी निराश भावमा सुनाउँछिन्, ‘पुरुषले जति बारम्बार कसैलाई आग्रह गर्छन्, त्यो म गर्न सक्दिनँ।’

लेखनीमा महिला कमजोर भएकैले चर्चा नभएको भन्नेमा उनलाई रत्तिभर विश्वास छैन । पुरुषले कुनै कुराको गहिराइ थाहा पाए जस्तो अनि थाहा नपाए जस्तो दोहोरो अर्थमा लेख्छन् भन्ने मूल्यांकन उनको छ । महिलासँग भने थाहा पाएको अनुभूतिसँगै बेजोडको गहिराइ लेखनीमा हुन्छ भन्ने ठोकुवा नै गर्छिन् । नपढ्नु, बजारमा नदिनु, बिक्री नहुनुले पनि चर्चामा असर गरेकोमा उनको दुईमत छैन ।पुरस्कारकै हकमा महिला ठगिन्छन् । त्यो ठाउँमा पुगेका महिलाका पुस्तकका पाना राम्ररी नपल्टनुले सोझै हेयको पात्र बनेका उदाहरण उनीसँग छन्।

निर्णायकहरूले प्रचारबाजी र ठूला आवाज गर्नेको हेर्ने तर नाम नचलेकाले राम्रै लेखे वास्ता नगर्ने गरेको उनको आरोप छ । कतिपय बेला आफू पनि निर्णायकमा बस्दा महिलाका कृति पनि हेरौंभन्दा ‘स्वास्नी मान्छेले पनि त्यस्तो किताब लेख्नु पर्यो नि’ भनेर खप्की खाएको उनी सम्झन्छिन्।

राम्रै लेखेको भेटिएमा कुनै पुरुषसँग नाम जोडेर उसैको शक्तिले लेखे होला भन्ने लान्छना लगाउन पछि नपरेको उनले भेटेकी छन् ।साहित्य फाँटमा गीता केशरी नौलो नाम होइन । तर, चर्चाकै आधारमा यो नाम भने याद गर्न बल गर्नुपर्छ । उनको ‘नयाँ अध्याय’ नामक उपन्यास अहिले लुम्बिनी विश्व विद्यालयको स्नातक तहमा अध्यापन गराइन्छ । त्यसको चर्चा हुनुपर्ने जति भने हुन सकेन।

तेस्रो लिंगीका विषयमा लेखिएको त्यो उपन्यास अन्तर्राष्ट्रिय तहमा छलाङ मार्न योग्य बनाउन कसैले प्रयास नै गरेनन् । साहित्य फाँटमा साहित्य भनेर होइन कि व्यक्ति भनेर हेरिने दृष्टिकोणले उनको लेखनी देशभित्रै खुम्चियो ।
तथापि महिलाले लेखनीमा सुधार गर्नुपर्ने सुझाव उनी दिन्छन् ।

‘महिलाले नराम्रै लेख्छ भन्ने होइन । तर, सैद्धान्तिक ज्ञानबाट जसरी पुरुष नजिक छन् त्यो अवसर महिलाले नपाएको पक्कै हो,’ उनी ठम्याउन खोज्छिन् ।साहित्य सिर्जनामा प्रतिक्रिया निर्धारणमा पुरुष प्रधान समाजको छाया पर्नु स्वभाविक भएको केसरी उल्लेख गर्छिन् ।महिला लेखनीलाई खुलेर स्विकार गर्दैनन् भन्ने कुरा उनले पचाइसकेकी छन्।

कतै बोलिहाले महिलाले अधिकार नै खोजेजस्तो व्यवहार पाउँदा उनलाई कयौंपटक खल्लो लागेको छ ।उनलेझैं सुलोचना मानन्धरले कविता कोर्न थालेको धेरै समय भयो । पछिल्लो पटक जीवनलाई सकारात्मक पथमा डोहोर्याउने भावको ‘आहा जीवन’ कविता संग्रह उनको बजारमा आयो ।यो उनको तेस्रो कविता संग्रह हो । उनी अझै कविता सुनाउन पाउँदा मख्ख पर्छिन् । तर, जनमानसमा चर्चाको सवालमा उनी रुचाइन्नन्।

‘अनुभूतिका थोपाहरू’ नामक कविता संग्रह उनको श्रव्यदृष्य प्रविधिमार्फत जर्मनीमा चर्चा बटुल्न सफल रह्यो । रातको श्रृंखलावद्ध कविता संग्रह च्याट बुकले युकेमा अनुवाद गर्दैछ । तर, नेपालका चर्चा हुने मुख्य क्षेत्रमा उनी देखिन्नन् । कथा, संस्मरण लेखनीमा सक्रिय छिन् । लेखेपछि चर्चामा आउनुपर्छ ।

लेख्नुभनेकै बाहिर आउनु हो भन्ने मान्छिन् । फेसनका रूपमा लेखनी रातारात बिक्न थालेकामा भने चिन्तित छन् । ‘राम्रो कुरा बिक्यो भने मान्छेको हित हुन्छ,’ मानन्धर दिक्दारी पोख्छिन्, ‘त्यो कृति पढेर मान्छेको जीवनमा केही परिवर्तन आओस् न तब पो कृति ।’कविता लेखेबापत चर्चा त परै जाओस्, आर्थिक रूपले प्रकाशकीय रकम समेत उठाउन नसक्नेमा उनी पनि पर्छिन्।

उनलाई थाहा छ– कवि, लेखक स्वतन्त्र र स्वच्छन्द जात हो । समालोचना कृति निस्केपछि अरुले गर्नुपर्छ, लेखकले भनेर गर्ने होइन भन्नेमा उनी प्रष्ट छिन् ।उनका अनुसार अचेल समालोचकहरू बजार उन्मुख र राजनीतिक धारले ग्रस्त छन् । ‘प्रगतिशील र डेमोक्र्याट धार भन्नेले अरुका कवितामा प्रगतिशीलता र प्रजातान्त्रिकपन कसरी देखुन्,’ उनी सुनाउँछिन्, ‘राजनीतिक पूर्वाग्रहले साहित्य क्षेत्र अराजक बन्दै गएको छ।’

त्यसैले आफूजस्ता लेखक कविले ठीक लागेको कुरा लेख्दै जानु बेस मान्नुको विकल्प नरहेको ठान्छिन् । महिलाका हकमा प्राज्ञिक जगतमा महिलाको उपस्थिति कोरम पुर्याउनकै रहेकाले समस्या रहेको पाएकी छन् । मातृभाषाको व्याख्या गर्ने मञ्चमुनि सबै पुरुष अनुहार देखेरै त्यो प्रष्टिने व्यंग्य उनी गर्छिन् ।घरमा श्रीमतीको अनुहार हेरे जसरी बुद्धिजीवि महिलाको मूल्यांकन गर्ने पुरुष विज्ञको मानसिकताले थप मलजल गरेको उनले धारणा राख्छिन्।

कथाकार माया ठकुरी उतिबेला अल इंडिया रेडियो र रेडियो नेपालमा आफ्नो चर्चा सुनेको कुरा अझै भुल्दिनन् । त्यस्तो माया र चर्चा अहिले कतै छुटेको महसुस गर्छिन् ।अनेकथरी प्रविधिसँग उनी साक्षात्कार कम हुन्छिन् । उनका कतिपय कृति क्याम्पसका अध्ययनको विषय बनेका छन् । तथापि मेरो बारेमा लेख्दिनु भनेर भन्दिनन् । अहिलेका पुस्ताको रचना राम्रा आउन थालेको थाहा छ । तर, चर्चा उही पहुँचवालाकै पकेटमा रहनु राम्रो ठान्दिनन्।

महिलाबीचमै पनि प्रतिस्पर्धी भावले बैमस्यता सृजना हुनु गलत अभ्यास भइरहेको उनी बताउँछिन् । साथीभाइ एक ठाउँ, लेखनी अर्को ठाउँ भनेर एक–अर्कोलाई अघि बढ्न नदिने पथमा महिला आफै वाधक बनेको अवस्था उनले देखेकी छन् । अर्कोतर्फ यस युगमा पनि महिला स्वतन्त्र छैनन् । ‘घरमा खाना बनाएर, दिउँसोको खाजा र बेलुकीको तयारी गरेर बल्ल म निस्कन्छु,’ उनी भन्छिन्, ‘बचेको समय लेख्ने र मोबाइल चलाउने हो ।’ घरपरिवारको रेखदेख सहित बच्चा बोकेरै महिला कार्यालय गएको देखेकी उनले पुरुषले त्यो गरेको अझै देखेकी छैनन् ।

समाजका सबै पुरुष खराब नरहे पनि लेखनीमा धेरै बलिया पक्ष पुरुषका तुलनामा महिलाको रहेको धारणा पोख्छिन् । अध्ययन तर्क–वितर्कको अवसर भने महिलालाई कम भएको स्वीकार्छिन् ।उनको दृष्टिकोणमा पुरुषले आफ्ना लागि चुरोट, रक्सी, पुस्तक किन्न सक्छन् । महिलाले कार्यालबाट घर फर्कदा अझै सागको मुठा र केटाकेटीलाई पुस्तक बोकेर जाने मनस्थितिबाट उम्कन नसकेको बताउँछिन्।

पत्रकार तथा लेखक कृष्णप्रसाद सिग्द्याल भने यी सबै हुनुको कारण मिडिया र मिडियाकर्मी सतहमा बग्नु हो भन्ने तर्क गर्छन् । ‘हामी मेहनत गर्दैनौं, पत्रिकाका पु्रफ रिडिङ नै पनि नराम्रो बन्दै छ,’ उनी मिडियातर्फ नै औंला ठड्याउँछन्, ‘अर्थको अनर्थ लाग्ने कुरा लेख्छौ, बोल्छौं, स्पष्टता छैन ।’ समाजप्रतिको पत्रकारिताको दायित्व साह्रै धेरै महसुस नगरेको जस्तो उनलाई अचेलको प्रवृत्ति हेर्दा लाग्छ । कुनै लेखकको लेखनीका हकमा गम्भीर साहित्यमा त्यति दम नमान्ने, हल्काफुल्का उपन्यास, कथामा बजारुपन रुचाउने चलन बढेको उनी देख्छन् ।

‘प्रलोभन, फाइदातर्फ समालोचक र मिडिया लागेका छन् कि ?,’ उनी प्रष्ट्याउन खोज्छन्, ‘ज्ञान कम भएको कारण सही लेखनीको मापन नसकेका हुन् कि ?’लेखिएकामा पनि विदेशी भाषा भरमार पार्दै मौलिक नेपाली भाषालाई लोप बनाउँदै लाने काममा मिडिया र मिडियाकर्मी लागेको हो कि भन्ने अनुभूत गर्छन् ।उनको आफ्नै लेखन नेपाल विश्व र छिमेक बजारमा आएको एक वर्ष भयो । बजारिया चर्चा कम चले पनि देशभित्र बिक्री राम्रो रह्यो, यो कृति अन्तर्राष्ट्रिय स्तरमा रुचाइन पुग्यो ।

प्रकाशित: १६ असार २०७५ ०३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App