२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

प्रेमिल अभिभावक

म पोखरा आउनुअघि प्रकट पगेनी ‘शिव’ नामसँग खासै परिचित थिइनँ । ५० सालअघि मेरो पोखरा आवतजावत भइरहे पनि विधिवत रूपमा मेरो पोखरा बसाइँ भने ५० सालमा पृथ्वीनारायण क्याम्पसमा आइकममा भर्ना भएदेखि हो ।

त्यसअघि बरु सरुभक्त नाम र सरुभक्तको ‘पागल बस्ती’सँग म परिचित भइसकेको थिएँ । प्रत्यक्ष रूपमा भने सरुभक्त, तीर्थ श्रेष्ठसँग मेरो चिनजान त्यतिबेलादेखिकै हो । त्यतिबेलादेखि नै म भ्याएसम्म पोखराका साहित्यिक कार्यक्रमहरूमा उपस्थित हुन्थें । तर, प्रकट दाइलाई देख्न, भेट्न र चिन्न पाएको थिइनँ।

पत्रमित्र भावेश भुमरीले जहिल्यै चिठी पत्रमा प्रकट पंगेनीलाई सम्झना, नमस्कार सुनाइदिनु भनिरहने । तर, आफूले भेटेर भूमरीको नमस्कार सुनाइदिन पाको भने होइन । भावेश भनिरहन्थे प्रकट राम्रा गीतकार हुन् । मधुपर्कलगायतका पत्रपत्रिमामा उनका गीतहरू पढें । मन छुने गीत लेख्दारहेछन् । कविताहरू पढें मन छुने कविता लेख्दा रहेछन्।

पोखरामै बसेर पनि यिनले प्रसिद्धि कमाइसकेका रहेछन् । अनि उनको बारेमा सोधिखोजी गरियो । उनी लुम्ले कृषि अनुसन्धान केन्द्रमा कार्यरत रहेछन, उतै बस्दा रहेछन् । आक्कल झुक्कल पोखराका साहित्यिक कार्यक्रमहरूमा उपस्थित हुँदा रहेछन् । त्यतिखेर पोखरामा साहित्यिक कार्यक्रम पनि आक्कल झुक्कल नै हुने । पोखरेली युवा सांस्कृतिक परिवारको समता काव्य सन्ध्या भने मासिक रूपमा सञ्चालन हुन्थ्यो । प्रकट दाइ भने नियमितरूपमा समता काव्य सन्ध्यामा उपस्थित नहुने।

अनुजसँग पनि साथीकै व्यवहार गर्छन् उनी । हात समातेरै डो¥याउँछन् । अगाडि बढाउने कोशिस गर्छन् । वारिकालाई पारि तार्न खोजिरहन्छन् । खोला तरेपछि लौरो बिर्सनेप्रति गुनासो बोकी हिँड्दैनन् । घरिघरि त उनी मलाई मझदारको माझीजस्ता लाग्छन् ।

यस्तैमा ५१ सालको कुनै शृंखलामा दाइसँग भेट हुने अवसर जु¥यो । त्यतिखेर समता काव्य सन्ध्या कन्या स्कुल नदीपुरको कक्षा कोठामा सञ्चालन हुन्थ्यो । स्कुलभन्दा अलि माथिको चिया दोकानमा दुर्गा बराल, सरुभक्त, तीर्थ श्रेष्ठ, विनोद गौचनलगायत दाइ थिए । त्यहाँ ढाका टोपी लगाएका एक हसिला दाइ पनि थिए । परिचय गर्दा थाहा भयो, ती दाइ प्रकट पगेनी ‘शिव’ रहेछन् ।दाइको त्यतिखेरको स्वरूप आज पनि सम्झिरहन्छु । बोल्दा मुसुक्क मुस्काएर बोल्ने । हेर्दा रूपरंग च्याट्ट परेको । दाइको आकृति मलाई गाउँघरतिर पाइने ‘कौडे भाले’ जस्तो आकर्षक लागेको थियो ।

पहिलो भेटघाट भए पनि दाइसँग वर्षौंअघिदेखि भेटघाट भएझैं गरी कुराकानी भयो । त्यतिखेरै मैले गीतकार मित्र भावेशको सम्झना नमस्कार हस्तान्तरण गरिदिएँ । त्यतिखेर मलाई वर्षौंदेखिको भारी बिसाए जस्तो अथवा कुनै लाहुरेले छुट्टीमा आउँदा नासो सम्बन्धित ठाउँमा पु¥याइदिए जस्तो अनुभूति भयो । समता काव्य सन्ध्यामा दाइले निकै सुन्दर गीत प्रस्तुत गर्नुभयो । त्यो गीत थियो– ‘बाँड्दै जाँदा तिम्रो भागमा म परें कि अर्कै, म परे त हर्षै लाग्थ्यो नपरे त मर्कै...।’दाइले कार्यक्रममा प्रायजसो गीत नै सुनाउँथे । दाइका १०-१४ लाइनका गीतहरू सुनेर हामी मन्त्रमुग्ध हुन्थ्यौं । ०५२ सालमा भने दाइ लुम्लेको जागिर छाडेर पोखरा झरे ।

अहिले फिस्टेल हस्पिटल भएको त्यो बेला भर्खर बनेको एकतले घरमा उनले पसल सञ्चालन गरेका थिए । नाम थियो– ‘पगेनी आर्ट मिडिया’ । यो साइनबोर्ड, तुल, ब्यानर बनाउने र आर्ट सम्बन्धी डिजाइन गर्ने पसल थियो । त्यसपछि उनीसँग भेटघाट गर्न झन् सजिलो भयो । प्राय दिनहुुँजसो म त्यही पसलमा जान्थें । कहिले एक्लै पुग्थें, कहिले साथीहरूसित । दाइले नाम राखिदिनुभएको त्यो दौंतरी भवनमा कविहरूको एक किसिमको भेटघाट गर्ने थलोजस्तो पनि थियो ।दाइको मिलनसार बानी, नयाँ भाइबैनीहरूलाई दिने अभिभावकत्वले गर्दा दाइसँग हामी चाँडै घुलमिल भइसकेछौं । त्यतिखेर रमेशचन्द्र घिमिरे र मैले ‘सौगात’ हवाइ पत्रिका सम्पादन तथा प्रकाशन गथ्र्यौं ।

हुन त यसमा सरस्वती श्रेष्ठ ‘सरु’, नवीनचन्द्र घिमिरे, सुरेश रानभाट र प्रभा बराल पनि संलग्न थिए । एक दिन दाइले भने ‘भाइ, अब ‘सौगात’ पत्रिकालाई अब अलि ठूलो आकारमा प्रकाशित गरौं ।’ हामीले नि दायाँबायाँ नसोची हुन्छ भन्यौं । त्यसपछि विधिवत दर्ता गरेर प्रकाशित गर्यौं । पत्रिका ‘नव माध्यम’को नाममा बजारमा आयो । विश्व शाक्य दाइको नाममा पत्रिका दर्ता गरियो । विश्व दाइ प्रधान सम्पादक, प्रकट दाइ सम्पादक अनि भूपिन, रमेशचन्द्र घिमिरे, सरु दिदी र म व्यवस्थापक भएर पत्रिका निकाल्न थाल्यौं।

सरल अनि कलात्मक भाषामा गहन भाव पस्कने खुबी भएका प्रकट दाइको वाचन शैली पनि बेजोड छ । उनी जे लेख्छन्, हृदयले लेख्छन् । गीत, गजल, कविता, मुक्तक, कथा जे होस् मन छुने खालका लेख्छन् ।

पत्रिकाले छोटो समयमै चर्चा बटुल्यो । पत्रिका परिमार्जन हुँदै राम्रो हुँदै गइरहेको थियो । सबैको ब्यस्तताले समय दिन नसकेर बन्द हुन पनि पुग्यो । पत्रिका बन्द भए पनि हाम्रो भेटघाट सम्बन्ध चुलिँदै गयो । ‘पगेनी आर्ट मिडिया’ एक किसिमको नयाँ पुराना साहित्यकारको जमघटस्थल बन्दै गयो । पोखराका साथीभाइ बाहिरबाट आउनेहरू पगेनी आर्ट मिडियालाई भेटघाटस्थल बनाउथ्यौं । दाइको व्यापारले पनि उचाई लिँदै थियो । त्यति नै बेला फेरि पसलमा कामदार राखेर दाइले प्रोजेक्टमा जागिर खान थाले । पछि पसलै बन्द गरे उनले।

त्यसपछि दाइसँगको दिउँसोको भेटघाट साँझपख स¥यो । हामी पनि जागिर छुटेर साँझपख दाइसँग चिया खान कहिले महेन्द्रपुल, कहिले न्युरोड, कहिले सिद्धार्थचोकका क्याफेहरूमा भेटघाट गथ्र्यों । दाइको व्यक्तित्व मिलनसारितादेखि हामी प्रभावित थियौं । दाइले पनि हामी अनुजहरूलाई माया गर्ने सल्लाह, सुझाव दिएर अघि बढ्न उत्प्रेरणा जगाउने गर्थे । हामी पनि उनको संगत र हौसला पाएर हौसिन्थ्यौं।

दाइसँगका धेरै प्रिय बसाइँ छन्, मसँग । उनीसँग दिउँसोभन्दा साँझपखका बसाइँहरू आनन्ददायक हुन्छन् । अबेर साँझ मात्र होइन, पिउँदापिउँदा कयौं अबेर रात पनि काटिएको छ । जहिले बस्दा पनि नवीन अनुभूति भइराख्छ दाइसँगको बसाइँमा । पोखरा र वरपरका गाउँहरूमा दाइसँग बेलामौकामा बसाइँ भइरहन्छ । एकपटक दाइकी प्रेमिका अन्नालाई भेट्न सँगै गयौं, काँडेमा । बिहान १० बजे काँडे पुगेका थियौं, भेटघाट भो ।

पिउन सुरु गरियो ।दुई घन्टा बसेर निस्कौं भनेको झमझम पानी पर्न थाल्यो । पानीमा कता हिँड्नु ! फेरि बसेर पिउन लागियो । झरी थामिए पो । त्यहीँ झमक्क साँझ पर्यो । रुझ्दै भए नि निस्क्यौं । त्यहाँ त पानी परेर लामो समय बसियो । अघि पछि पनि बेलुकी ८ बजे उठ्ने भनेर ६ बजेतिर बसियो भने अब लास्ट पेग, अब एक पेग बाटो खर्च भन्दै बोतलका बोतल थपेर रातको ११ र १२ बजाइदिन्छन्।

दाइसँगको बसाइँ जति लामो भए पनि कहिल्यै कतै बोर फिल हुँदैन । घर ढिला आएकामा परिवारको गाली खानु परे खाइन्छ । तर दाइसँगको अबेर बसाइँ जति लम्बिए पनि बीचमा छाडेर हिँडिँदैन । लामो कालखण्ड समकालीन साथीहरू सरुभक्त, तीर्थ श्रेष्ठ, आनन्द श्रेष्ठ, अनिल रञ्जित, राजेन्द्र बजिमय, विनोद गौचनलगायत निकै निकट उठबस भयो उनको । दुःख र सुखमा साथीहरूको साथ पनि पाएँ भन्छन्, उनी।

उनीहरूको मित्रता अनुपम लाग्थ्यो मलाई । म दाइहरूको मित्रता देख्दा उद्देलित हुन्थें त्यसैत्यसै । समकालीन साथीहरूसँग जस्तै गरी पछिल्लो समय भाइसाथीहरूसँग पनि निकै घुलमिल भए प्रकट दाइ । ईश्वरमणि अधिकारी, जीवनसागर, भुवन क्षेत्री, रुपिन्द्र प्रभावी, लक्ष्मण थापा र यो पंक्तिकारसँगको सामिप्यता चर्चायोग्य छ । त्यसो त अन्य साथीसँग पनि उनको राम्रै हिमचिम भएको थाहा पाउन सकिन्छ । यसको अर्थ के हो भने उनी जो र जस्तोसँग पनि उस्तै सम्बन्ध, व्यवहार र मित्रता गर्न सक्छन्।

साहित्य लेखनमा एक किसिमको खुबी छ प्रकट दाइसँग । उनी जे लेख्छन्, हृदयले लेख्छन् । गीत, गजल, कविता, मुक्तक, कथा या चाहे जे होस् उनी मन छुने लेख्छन् । उनका १४ हरफे गीतका प्रशंसक थुप्रै छन् । उनका गजलका प्रशंसक पनि धेरै छन् । उनलाई बेलाबेलामा मुलुकभित्रबाट एकल गजन वाचनको निम्तो आइरहन्छ ।
कविताका पाठक, स्रोताहरू पनि त्यसैगरि अनगिन्ती छन् । कविता होस् वा गजल, गीत होस् वा कथा, उनको बाचन शैली बेजोड छ । उनको जस्तो वाचन कला र प्रस्तुति कमैको हुन्छ । सुन्नेहरूलाई लठ्ठै बनाउने जादू छ उनमा।

उनका साथी तीर्थ श्रेष्ठ ‘प्रकट गृहस्थी कवि हो’ भन्छन् । किनकि पंगेनीका कवितामा गाउँले जीवन, लवज, बोलीचाली, घर व्यवहार र संस्कृतिको समिश्रण पाइन्छ । ‘घर छोड्नुअघि घर छोड्नुपछि’, ‘भोक’ जस्ता कविताले कार्यक्रममा स्रोता तथा दर्शकलाई धुरुधुरु रुवाइदिन्छन् । सरल शब्दमा गहन भाव पस्कन सक्ने खुवी भएका स्रष्टा हुन्, प्रकट दाइ । त्यही सरल शब्द र गहिरा भावहरूले नै पगेनी आजसम्म बाँचेको हो । कथा लेखनमा पनि उत्तिकै दख्छल राख्छन् उनी।

गजल लेखनमा पनि उस्तै कलम चलाउँछन् । समसामयिक गजल लेखनमा जस पाए पनि रोमान्टिक गजलमा केही आलोचित बने उनी । तन्नेरी समुदायबाट त्यही रोमान्टिक गजल वाचनका लागि देशका विभिन्न ठाउँमा निम्तो आइरहन्छ । यसले एकातिर आर्थिक फाइदा दिएको छ भने अर्कातिर आफूलाई दिएको सम्मान ठानेका छन् उनले ।प्रकट दाइ काठमाडौं बस्दा अमृत भादगाउँलेहरूले ‘प्रकट दाइका फ्यानहरू’  मार्फत ‘प्रणयमा प्रकट दाइ’ भन्ने प्रणय परक गजल वाचन सुरु गरेका थिए । त्यसपछि यो पंक्तिकारको अध्यक्षतामा गजल सन्ध्या पोखराले उनको एकल वाचन गरेको थियो ।

तत्पश्चात देशका अन्य ठाउँमा पनि गजल वाचनको लहरै चल्यो प्रकट दाइको ।
पंक्तिकारले दाइलाई समसामयिक गजलहरूको वाचन कार्यक्रम गर्न नि सुझाएको हो । तर, उनी रोमान्टिक गजलमै रमाइरहेका छन् । उनी भन्छन्, ‘यसले मलाई आम्दानी दिइरहेको छ ।’हाम्रो आग्रह छ – ‘प्रकट दाइ अब गम्भीर लेखनमा बढी समय दिनुस् ।’पछिल्लो समय उनको पोखरामा एकल कविता वाचन पनि गरियो । त्यसमा पनि सबैको मन जिते । वाहवाही ! पाएका छन्।  

प्रकट दाइसँग अथाह प्रतिभा छ । तर, उनले त्यो प्रतिभा सदुपयोग गर्न सकेका छैनन् । वा त उनले आफूलाई चिन्न अझै सकेका छैनन् । प्रकाशकहरू उपन्यासका पाण्डुलिपि माग्न उनकोमा आउँछन् । तिनीहरूलाई उनी हुन्छहुन्छ भन्दै झुलाईदिन्छन् । लेख्न त उनी फेरि उपन्यास नै लेखिरहेका हुन्छन् । साथीभाइलाई उपन्यासको प्लट सुनाइरहन्छन् । धन्न साथीभाइहरू सोझा छन् र, नत्र त्यस्तै भए त्यही प्लटमा अर्कैले पहिल्यै बजार पिटिरहेको हुन्थ्यो।

उनी अरुको पुस्तक पढ्दैनन् । पढ्यो भने त्यसको प्रभाव पर्छ भन्ने डर मान्छन् उनी ।  पर्यटनविद् झलक थापाको संगतको प्रभाव परेझैं लाग्छ, मदिरापानको सम्बन्धमा । साँझपख प्रकट दाइकोमा जानुपर्छ, बोतललाई फूल चढाएर धुप बालेर तीन पटक घुमाएपछि बल्ल गिलासमा राखेर पिउँछन् । कहिले त पिउनु अघि नुहाइधुवाई समेत गर्छन् । किनभन्दा ‘मदिराप्रतिको सम्मान हो’ भन्छन् । मदिरा पनि चोखो मनले, खुसी मनले खायो भने अमृत हुन्छ भन्छन् उनी।

बिन्दास छन्, उनी । दुःखमा आत्तिएको पनि देखिँदैन । सुखमा मात्तिएको पनि । कसैलाई साधारण लाग्छन् । कसैलाई जटिल लाग्छन् उनी । कसैसँग भेट हुँदा मुस्कुराउने बानी हटेको छैन । सँगैका साथीभाइहरूले पोखरामा घर घरेडी जोडे, गाडी चढे । तर, उनी अझै डेराबाट डेरा सरिरहन्छन् । सार्वजनिक यातायातका साधनमा चढ्छन् । साथीभाइहरूसँग जमघटमा अबेर भो भने बाटुलेचौर पुग्न ट्याक्सी खोज्छन् । उनी यसैलाई जिन्दगीको मज्जा मान्छन्।

भएर पनि नभए जस्तो देखिनु, नभएर पनि भए जस्तो देखिनु नै जिन्दगीका अर्थहरु हुन् । यही अर्थ खोज्दा खोज्दै मान्छेको जिन्दगी सकिन्छ । उनी भने जिन्दगीलाई सरल किसिमले बाँच्नु पर्छ भन्ने ठान्छन् । हाइफाइको जीवनले मानिसलाई तनावमा डुबाउँछ । जिन्दगीलाई डुबाउने होइन उतार्नु पर्छ भन्ने सोच छ उनको ।कुनै बेला नेपाल प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको नाटक महोत्सवमा सर्वोत्कृष्ट अभिनेताको पुरस्कार हात पार्न सफल उनले आफ्नो जिन्दगीमा भने अभिनय गर्न जानेनन् र पछाडि परे । तैपनि कुनै दुखेसो छैन जिन्दगीप्रति । न दुखेसो पोख्छन् कसैप्रति । दुई थान गीत संग्रह र एक थान गजल संग्रह प्रकाशित गरिसकेका उनीसँग कविता, गजल, गीत, कथा र उपन्यासका पाण्डुलिपि तयार छन्।

थुप्रै पुरस्कार मान सम्मानको प्रमाणपत्रको चाङ छ डेरामा । पाण्डुलिपिलाई पुस्तकाकार दिन हतार पनि देखाउँदैनन् । गीत बोकेर कुनै गायक संगीतकारकोमा धाउने बानी पनि छैन । केही गीतहरू गायक तथा संगीतकारको कर बलमा रेकर्ड भएका छन् । जति भएका छन् सबै कर्णप्रिय छन् ।अनुजसँग पनि साथीकै व्यवहार गर्छन् । हात समाएर डो¥याउँछन् । अघि  बढाउने कोशिस गर्छन् । वारिकालाई पारि तार्न खोजिरहन्छन् । खोला तरेपछि लौरो बिर्सनेप्रति गुनासो बोकी हिँड्दैनन् । घरिघरि त उनी मलाई मझदारको माझी जस्ता लाग्छन्।

एउटा साहित्यकारमा हुनुपर्ने भन्दा बढी भावुकपना, एक्लोपना उनीसँग छ । आफ्नो जिन्दगीको व्यवस्थापन गर्न नसक्नु उनको कमजोरी हो । हुन त कमजोरी नभएका मान्छे को हुन्छन् र दुनियाँमा । केही न केही कमजोरी त हुन्छ नै सबैमा । ती कमजोरीलाई सच्याएर अघि बढ्ने हो । तर, उनले सच्याउन खोजे जस्तो लाग्दैन । जसो पर्छ त्यसै टर्छ भन्ने मानसिकता बोकेको मनुष्य हुन् प्रकट।

पोखरा छाडेर नफर्कने गरी काठमाडौं गएका पनि हुन् उनी । तर फर्कीफर्की पोखरा बस्न आइपुगे । पोखराको माछापुच्छ्रे, अन्नपूर्ण, फेवातालको मोहले मात्र होइन, साथीभाइको न्यानोपनले गर्दा पनि पोखरा छोड्न नसकेका हुन् ।हुन त उनी आफैं अन्नपूर्ण, फेवाताल लाग्छ मलाई घरिघरि । भेट हुँदा सबैलाई खुब माया र आत्मियता देखाउँछन् । साथीभाइ आफन्तसँगको उनको यो मायालुपन, आत्मियपन सधैं रहिरहोस् ।  
 

 

प्रकाशित: १६ असार २०७५ ०२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App