१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संघीयता कार्यान्वयन चुनौतीपूर्ण : मुख्यमन्त्री राई

नम्बर प्रदेशस्तरीय युवा महोत्सवको बिहीबार इलाम सदरमुकाममा उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई।    तस्बिर : भीम/नागरिक

इलाम – १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले संघीयता कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन्। उनले अहिलेको स्थायी र बलियो सरकारले संघीयता कार्यान्वयनको गहन जिम्मेवारी लिएको भन्दै यसलाई पार लगाउन निकै मेहनत गर्नुपर्ने बताए। 

१ नम्बर प्रदेशस्तरीय युवा महोत्सव बिहीबार सदरमुकाममा उद्घाटन गर्दै मुख्यमन्त्री राईले भने, ‘संघीयता कार्यान्वयन निकै चुनौतीपूर्ण छ। त्यही चुनौती पार लगाउन हाम्रो नेतृत्व आएको हो।’ उनले संघीयता कार्यान्वयनले मात्रै देश समृद्ध बनाउने भन्दै देश यतिबेला संघीयता कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको बताए। उनले संघीयता कार्यान्वयनकै लागि देशमा स्थायी सरकार बनेको र समृद्धिको पाइला चालिरहेको पनि बताए।

आफू पनि कुनै मुख्यमन्त्रीको प्रतिस्पर्धीका रूपमा मात्रै आएको नभई संघीयता कार्यान्वयनका लागि मुख्यमन्त्री बनेको उनले दाबी गरे। अहिले देशको नेतृत्वले सही बाटो समातेको भन्दै उनले प्रदेश सरकारले जनतालाई केन्द्रमा राखेर काम गर्ने दाबी गरे। ‘स्रोत–साधनमा सबैको पहुँच र सहभागिता सुनिश्चित गर्ने हाम्रो अठोट यथावत छ,’ उनले भने, ‘जनतालाई केन्द्रमा राखेर समृद्धिको महान यात्रामा छ अहिलेको प्रदेश सरकार।’ 

उनले हिजो देश अल्मलिएको भन्दै आज कतै अलमल, अस्थिरता, द्विविधा र अन्योलमा नरहेको बताए। सडक, बिजुली, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइजस्ता सबै क्षेत्रमा नागरिकले समृद्धि अनुभूत गरेमात्रै अहिले नारा लगाइरहेकोजस्तो समृद्धि प्राप्त भएको मानिने उनको भनाइ छ। ‘भ्रष्टाचार नगर्ने, गर्नेलाई नछाड्ने हाम्रो नीति छ,’ उनले भने, ‘सुशासन, विकास र चेतना हाम्रो मुख्य लक्ष्य हो, पूरा गरेर छाड्नेछौं।’ मुख्यमन्त्री राईले देश नयाँ कोर्समा प्रवेश गरेको भन्दै पहिलोपटक आफैंले लेखेको संविधानअन्तर्गत अहिले जनताहरू शासित हुन पाएको बताए।  

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवाले देशको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिकलगायत सबै क्षेत्रको परिवर्तनमा भूमिका निर्वाह गरेको बताए। ‘देशका मुख्य राजनीतिक परिवर्तनको नेतृत्व सधैं युवाले नै गरेका छन्,’ उनले भने, ‘युवाको भूमिकालाई केन्द्रमा राखेर सरकारले त्यसअनुसारका कार्यक्रम ल्याउनुपर्छ।’

ढुंगेलले नयाँ प्रविधि प्रयोग, नयाँ आविष्कारलाई प्रोत्साहन गर्दै राष्ट्रियदेखि स्थानीयस्तरसम्मका युवालाई समेटेर अघि बढ्नु आवश्यक रहेको औंल्याए। विविध कार्यक्रमसहित शनिबारसम्म चल्ने महोत्सवमा प्रदेश नम्बर १ का विभिन्न जिल्लाका युवा सहभागी छन्।

प्रकाशित: १४ असार २०७५ १२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App