१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

घरजग्गा खाली गर्न नमानेपछि ट्रस्टले ताला लगायो

तस्बिर : विजय राई

काठमाडौं - सार्वजनिक घर, जग्गा व्यक्तिले हड्पेर नछाडेको भन्दै नेपाल ट्रस्टको कार्यालयले एक घरमा ताला लगाएको छ । काठमाडौंको छाउनीमा रहेको २ रोपनी १३ आना जग्गा व्यक्तिले हड्पेको घर खाली गर्न नमानेपछि ट्रस्टले ताला लगाएको हो।

स्थानीय जुनी थापाले ट्रस्ट स्वामित्वको करिब साढे २ रोपनी जग्गामा रहेको घर हड्पेर बसेकी थिइन् । उनले घर खाली गर्ने आग्रह नमानेपछि हटाउन कानुनी प्रक्रिया थालिएको ट्रस्टका सचिव डा.रमेशप्रसाद सिंहले बताए ।

ट्रस्टको कार्यालयले २०७२ सालदेखि पटकपटक घरजग्गा खाली गर्न आग्रहसहितको सार्वजनिक सूचना जारी गरेको थियो । ट्रस्टको सार्वजनिक सूचना र पत्रलाई बेवास्ता गर्दै थापाले अटेर गरेपछि मंगलबार ताला लगाइएको हो । ‘उनलाई ३ वर्षदेखि पटकपटक घरजग्गा खाली गर्न पत्र पठाइएको थियो । तर, उनले खाली गर्न नमानेपछि कानुनअनुसार अघि बढिएको हो,’ सचिव सिंहले भने।

उनलाई पछिल्लोपटक गत वैशाख ६ मा सात दिनभित्र जग्गा खाली गर्न आग्रहसहितको पत्र पठाइएको थियो । ट्रस्टको कार्यालयको पत्रलाई बेवास्ता गर्दै थापाले सार्वजनिक जग्गा ओगटेर बसेपछि उनलाई कानुनअनुसार हटाउने जानकारी गराइएको थियो ।

काठमाडौंमा राजाको पालामा बक्सिसमा जग्गा पाएको भन्दै व्यक्तिले अन्य ठाउँमा समेत सार्वजनिक जग्गा हड्पेर बसेका छन् ।

मंगलबार प्रहरी पुग्दा थापा घरमा ताला लगाएर बाहिर गएकी थिइन् । छिमेकीका अनुसार उनी घरमा आउनेजाने गर्ने र कहिलेकाहीँ बस्ने गरेकी छिन् । ट्रस्ट कार्यालयको नाममा रहेका जग्गा अन्य व्यक्तिले पनि हड्पेका छन् । पत्र पठाएर जानकारी गराउँदै हैरान भएको ट्रस्टले पहिलोपटक घरमा पुगेर ताला लगाएको हो । ट्रस्टले घरजग्गा खाली गराउन जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरीलाई समेत जानकारी गराएको थियो । प्रहरी प्रशासनले समेत ध्यान नदिँदा सार्वजनिक जग्गामा व्यक्तिले फाइदा उठाउँदै आएका छन्।

काठमाडौंमा राजाको पालामा बक्सिसमा जग्गा पाएको भन्दै व्यक्तिले अन्य ठाउँमा समेत सार्वजनिक जग्गा हड्पेर बसेका छन् । अब घरजग्गा खाली नगर्ने अटेरीलाई ट्रस्ट आफैं पुगेर खाली गराउने काम सुरु गरेको छ । ट्रस्टका कार्यकारी सचिव सिंहका अनुसार ट्रस्टका नाममा रहेका जग्गा व्यक्तिव्यक्तिको हातमा रहेकाले सार्वजनिक जग्गा फिर्ता गर्ने अभियानमा लागेको बताए । ‘घरजग्गा खाली गर्न पटकपटक जानकारी गराउँदा समेत अटेर गरेकाले अब कानुनबमोजिम कार्बाही अघि बढाउनेछौं,’ सचिव सिंहले भने ।

ट्रस्टको स्वामित्वमा रहेको कामनपा १३ छाउनीमार्गमा रहेको १०२–११०३–१३ कित्ता नम्बर ११ क्षेत्रफल २–१३–१–१ (१४४० वर्गमिटर) मा रहेको घरजग्गा ७ दिनभित्र यथाशिघ्र्र खाली गरिदिन थापालाई पटकपटक सूचनासहितको पत्र पठाएको थियो ।ताला लगाइएको घरको सामान एक साताभित्र खाली नगरेमा ट्रस्टले नै खाली गर्ने बताएको छ । ट्रस्टले थापालाई छिटो सामान निकाल्न आग्रहसमेत गरेको छ ।

 

प्रकाशित: १४ असार २०७५ ०१:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App