१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

समूह विजेता बन्दै ब्राजिल विश्वकपको नकआउट चरणमा

रूस – उपाधि दाबेदार टोली ब्राजिल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। मस्कोको स्पार्टक रंगशालामा बुधबार राती सम्पन्न खेलमा सर्बियालाई २–० ले पराजित गर्दै ब्राजिल समूह ‘इ’ को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो।

पराजित सर्बिया भने प्रतियोगिताबाट बाहिरिएको छ। ब्राजिलको जितमा पाउलिन्हो र थियागो सिल्भाले एक–एक गोल गरे। ब्राजिलले पहिलो हाफको ३६ औं मिनेटमा पाउलिन्होको गोलमा अग्रता लिएको थियो। फिलिपे कौटिन्होको पासमा पाउलिन्होले तीन डिफेन्डरको बीचबाट सुन्दर गोल गरेका थिए।

पहिलो हाफमा एक गोलले अग्रता बनाएको ब्राजिलले दोस्रो हाफको ६८ औं मिनेटमा नेइमारले प्रहार गरेका कर्नर बलमा थियागो सिल्भाको हेड गोल मार्फत अग्रता दोब्बर बनाए। त्यसपछि निर्धारित र इन्जुरी समयमा दुवै टोलीले गोल गर्न नसकेपछि ब्राजिल विजेता बन्र्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो। खेलअवधिभर सर्बियालाई दबाबमा राखेपनि ब्राजिलले अन्य गोल भने गर्न सकेन्। सर्बियाले पनि पाएका केहि सुनौला अवसरलाई पोस्टको दिशा दिन सकेन।

समूह ‘इ’मा ब्राजिलले ७, स्विट्जरल्यान्डले ५, सर्बियाले ३ र कोस्टारिकाले १ अंक जाडे। पहिलो हाफको सुरुवातमै डिफेन्डर मार्सेलो इन्जुर हुँदै मैदानबाट बाहिरिएपछि उनको स्थानमा फिलिप लुईस मैदान प्रवेश गरेका थिए। समूह ‘इ’ बाट ब्राजिल विजेता बन्दा स्विट्जरल्याण्ड उपविजेता बनेको छ।

ब्राजिलले अब प्रि क्वाटरफाइनलमा समूह ‘एफ’ को उपविजेता मेक्सिकोको सामना गर्नेछ। स्विट्जरल्याण्डले भने स्विडेनलाई प्रतिद्धन्दी पाएको छ।  उपाधिको मुख्य दाबेदारका रूपमा रूस पुगेको ब्राजिलले पहिलो दुई खेलमा एक जित र एक बराबरी नतिजा निकाल्दै अगाडि बढ्ने सम्भावना कायम राखेको थियो। पाँच पटकको विश्वविजेता ब्राजिलले सोचे अनुसारको प्रदर्शन भने गर्न सकेको छैन। 

ब्राजिललाई अन्तिम १६ मा स्थान पक्का गर्न बराबरीको नतिजा पर्याप्त थियो भने सर्बियालाई ब्राजिलविरुद्ध जित आवश्यक थियो। पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेको ब्राजिलले दोस्रो खेलमा कोस्टारिकामाथि २–० को विजयी नतिजाका लागि इन्जुरी समयसम्म कुर्नुपरेको थियो। 

ब्राजिलले विश्वकप छनोट र अभ्यास खेल गरी २१ खेलमा १ खेल मात्र गुमाएको थियो। जहाँ टोलीले ४७ गोल गरेको थियो भने मात्र ५ गोल खाएको थियो। यता पहिलो खेलमाकोस्टा रिकालाई १–० ले पराजित गर्दै प्रतियोगिताको सुखद सुरुआत गरेको सर्बियाले दोस्रो खेलमा स्विट्जरल्यान्डलाई २–१ को नतिजा सुम्पिएसँगै अन्तिम १६ प्रवेश यात्रा धरमराएको थियो।

प्रकाशित: १३ असार २०७५ २०:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App