१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

जसका धेरै फिल्म, उही राजेश हमाल!

तस्बिर सौजन्य : अर्जुन शाह

काठमाडौं - नेपाली फिल्म क्षेत्रमा तीन दशक बिताउँदा अभिनेता राजेश हमालले दर्शकको प्रेम मात्रै कमाएनन्, विभिन्न उपनाम पनि कमाए। कसैका लागि राजेश दाइ, कसैका लागि शंकर त कसैका लागि महानायक।

तर हमालले आफ्नो अभिनय करिअरमा प्रशंसामात्रै कमाएका छैनन्, सँगसँगै गम्भीर आरोप पनि खेपिरहेका छन्, ‘फिल्मको संख्या धेरै, स्तर कम।’ उनको नाम यतिबेला नेपाली फिल्मका लागि एउटा बिम्ब नै बनेको छ। यहाँ जसले फिल्म धेरै गर्छ, उ ‘राजेश हमाल’ हुन्छ।

दयाहाङ राई यसका बलिया उदाहरण हुन्। फिल्म क्षेत्रमा सम्भावना देखाएका दयाहाङले बग्रेल्ती फिल्म खेल्न थालेपछि उनीमाथि ‘दोस्रो राजेश हमाल’ भएको आरोप लाग्यो। उनले यसलाई नकारेनन्।

यही वर्ष अनमोल केसीले तीनटा फिल्म लगातार साइन गरेपछि उनीमाथि पनि हमाल पथमा हिडेको आरोप सुरु भइसकेको छ।

बिहे गर्नुअघिसम्म राजेशलाई सधैँ एउटा प्रश्नले लखेट्थ्यो, ‘बिहे कहिले गर्ने?’ मधु भट्टराईसँग लगनगाँठो कसेपछि यो प्रश्नबाट त उनले छुटकारा पाइसके। तर अर्को प्रश्नले लखेट्न थालिसकेको छ,‘बाबु कहिले बन्ने?’ उनले हाँस्दै जवाफ दिए, ‘म जवान छु, मधु जवान छिन्, खेती आफ्नै हो। बिस्तारै भइहाल्छ।’

पुरुष कलाकारलाई मात्रै होइन, महिला कलाकार पनि राजेश हमालको बिम्बबाट मुक्त छैनन्। अभिनेत्री प्रियंका कार्कीका फिल्म लगातार रिलिज हुन थालेपछि उनलाई पनि यही आरोप लाग्यो । उनले एक अनलाइन मिडियालाई स्पष्टिकरण नै दिइन्, ‘म लेडी राजेश हमाल होइन।’

हमाललाई नै लिएर जोक्स र ट्रोल पनि धेरै बने, बनिरहेकै छन्। यो विषयमा हमाल जानकार नै छन्। तर अहिले उनको नाम नेपाली फिल्ममा बिम्बका रुपमा प्रयोग भइरहेकोबारे उनी अनभिज्ञ छन्। ‘मलाई जानकारी थिएन,’ नागरिकसँगको एक भेटमा उनले भने, ‘तर मलाई लाग्दैन अहिलेको माहोल मेरोजस्तो छ। मैले त २० वर्षसम्म कम्तीमा वर्षमा ७–८ वटा फिल्म लगातार खेलेँ  तर अहिले त्यसरी काम गर्दा कोही कलाकार टिक्ने अवस्था छ र ?  एक वर्षमा २२ वटासम्म फिल्म खेलेको छु। मलाई लाग्छ त्यसरी गयो भने अहिले टिक्न गाह्रो होला।’

आफ्नो नाम बिम्बका रुपमा प्रयोग भइरहेकोबारे उनको खास आपत्ति पनि छैन्। ‘मान्छेको जीवनमा प्रशंसा र आलोचना दुवै हुन्छ भन्ने मैले राम्रोसँग बुझेको छु,’ उनले  कुटनीतिक जवाफ दिए, ‘अहिले अवस्था यस्तो आइसकेछ कि मभन्दा पनि बढ्दा प्रख्यात मेरो छवि भइसकेछ। त्यसैले मलाई लिएर बन्ने बिम्ब, ट्रोल, जोक्स सबैकुरालाई म सकारात्मक रुपमै लिन्छु। इन्टरटेन नै गर्छु। हिजो हिम्मतको कुरा आउँदा मेरो नाम लिइन्थ्यो आजको संख्याको कुरामा पनि लिन थालिएछ। यसमा मेरो आपत्ति छैन।’

आफूमाथि बन्ने ट्रोलहरु देख्दा उनलाई हाँसो उठ्छ। उनले एउटा ट्रोल सम्झिए, ‘केही दिनअघि ट्रोल देखेको थिएँ जहाँ मलाई ढलेको रुखसँग कम्पेयर गरिएको थियो। हेरेर निकै हाँसेको थिएँ।’

संख्याका कारण आलोचना खेपेका हमाल अब भने फिल्मको संख्या बढाउने मुडमा छैनन्। फिल्म खेल्न थालेको २७ वर्षपछि उनको काम गर्ने रफ्तार कम भएको छ। यसको कारण हो– पछिल्ला दुई फिल्म ‘बागमती’ र ‘शकुन्तला’ लगातार फ्लप हुनु। ‘यी दुवै नयाँ शैलीमा बनाइएका फिल्म थिए तर नयाँ शैलीमा बनाएको भन्दैमा राम्रा नहुने रहेछन्,’ उनले सुनाए, ‘बागमती’ पूरा केरलाको टिम, केरलाकै निर्देशक, खर्च पनि राम्रै गर्ने भन्ने थियो तर परिणामसोचेभन्दा फरक भयो। त्यस्तै ‘शकुन्तला’मार्फत् पहिलोपल्ट स्वास्नी मान्छेको भूमिकामा काम गरे। कलाकार सधैं नयाँ भूमिकाको लोभी हुन्छ तर यो फिल्म पनि स्तरीय भइदिएन। त्यसपछि म अलि निराश भएको हुँ र सतर्कता अपनाइरहेको छु।’

हमाललाई ठूलो पर्दामा नदेखेपछि धेरैलाई हमालले फिल्म पाउन छाडेको लागेकोे छ। तर हमाल आज पनि दिन बिराएर फिल्मको अफर पाउँछन्। तर पछिल्लो समय पाएका करिब १२–१५ वटा फिल्मको अफर लत्याएको उनले बताए।  ‘कतै टिम त कतै स्क्रिप्ट चित्त बुझेन। अब त आफ्नो समय सुहाउँदो भूमिका आयो भने मात्र फिल्म खेल्छु,’ उनले भने, ‘विगतभन्दा फरक तरिकाले फिल्म गर्ने मन छ। उमेरमा गरेको कुरा अब इतिहास भइसक्यो। अब म फिल्म गर्नका लागि मात्र गर्दिनँ।’

बिहे गर्नुअघिसम्म राजेशलाई सधैं एउटा प्रश्नले लखेट्थ्यो– ‘बिहे कहिले गर्ने?’ मधु भट्टराईसँग लगनगाँठो कसेपछि यो प्रश्नबाट त उनले छुटकारा पाइसके। तर अर्को प्रश्नले लखेट्न थालिसकेको छ, ‘बाबु कहिले बन्ने ?’ नागरिकसँगको जिज्ञासामा उनले हाँस्दै जवाफ दिए, ‘म जवान छु, मधु जवान छिन्, खेती आफ्नै हो। बिस्तारै भइहाल्छ।’

प्रकाशित: १३ असार २०७५ ०२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App