१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मेगा बैंकको बचत योजना

काठमाडौं–मेगा बैंक नेपाल लिमिटेडले सानै उमेरदेखि बचत संस्कृति विकास गर्ने भन्दै ‘नानीमा लागेको बानीः आज बचाउँ– जिन्दगीभरी रमाउँ’ नामक अभियान घोषणा गरेको छ ।

सोमबार मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले उक्त अभियानको घोषणा गरे । समाजका सबै तहमा बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने नेपाल सरकारको उद्देश्यलाई ध्यानमा राखी मेगाले यो अभियान ल्याएको सिइओ शाहले बताए । मेगा बैंकले

वित्तीय समावेशितालाई आफ्नो मुख्य लक्ष्य बनाउँदै आएको जानकारी गराए । ‘वित्तीय समावेशिताको पहिलो खुड्किलो खाता खोल्दादेखि नै सुरु हुन्छ । सानो उमेरदेखि नै बचत गर्ने बानी विकास भएमा जिन्दगीभर त्यो बानी रहिरहन्छ,’ उनले भने, ‘अन्य मुलुकको तुलनामा नेपालको बचत दर अत्यन्त न्यून रहेको तथ्यलाई ध्यानमा राख्दै बचत संस्कृतिको विकास गर्न हामीले यो अभियान सुरु गरेका हौं ।’

बैंकले उक्त अभियानलाई सार्थक बनाउन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र चर्चित अभिनेत्री प्रियंका कार्कीलाई ‘मेगा सेभिङ स्टार’ नियुक्त गरेको छ । ‘युवालाई बैंकिङ शिक्षाको माध्यमबाट बचत गर्ने बानीको विकास गराउन क्रिकेटर खड्का र सिनेस्टार कार्की देशभरका विद्यार्थीमाझ पुग्नुहुनेछ ।,’ सिइओ शाहले भने, ‘यो अभियानको मुख्य उद्देश्य भनेको देशभरका स्कूल र कलेजका विद्यार्थीमाझ पुगेर बैंकिङ बानीको प्रोत्साहन गर्ने हो ।’

‘मेगा सम्बन्ध’ स्थापना गर्ने र मेगा बैंकमा खाता खोली बचत गर्ने बानीको थालनी गर्ने जानकारी उनले दिए । ‘नानीदेखि लागेको बानीले नै हरेक मानिसको जीवनमा मुख्य प्रभाव पर्ने भएकाले यो अभियानले युवामा विद्यार्थी जीवनबाट नै बचत गर्ने संस्कृति विकास हुने विश्वास लिएका छौं,’ सिइओ शाहले भने । ‘हामीमा अरुले रोपेको रुखबाट फल टिप्ने प्रचलन छ । तर, मेगा बैंकले नानीमा लागेको बानीः आज बचाउँ– जिन्दगीभरी रमाउँ अभियान सुरु गरेर आजबाटै युवा विद्यार्थीमा बचत गर्ने बानीको बिउ रोप्न चाहन्छ ।’

बचत गर्ने संस्कृतिले मेगा बैंकलाई मात्र नभई सिंगो समाज र देशलाई नै फाइदा पु¥याउने दावी पनि उनले गरे । ‘युवामा बचत गर्ने बानीको बिउ रोप्न मेगा सेभिङ्स सद्भावना दूत पारस खड्का र प्रियंका कार्कीले उत्कृष्ट भूमिका खेल्ने हाम्रो विश्वास छ,’ उनले भने, ‘कार्यक्रममा क्रिकेटर खड्का र अभिनेत्री कार्कीले मेगा बैंकको अभियानलाई साथ दिन पाएकोमा खुसी लागेको छ ।’

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले दसैंमा टिका लगाउँदा पाएको दक्षिणा क्रिकेट खरिद गर्नमै सकाउने गरेको बताए । ‘केही रकम जोहो गरेको भए अहिले सहज हुने थियो,’ उनले भने, ‘पहिला खुत्रुकेमा पैसा जम्मा गर्ने चलन थियो । अहिले बैंकमा खाता खोलेर रकम जम्मा गर्ने चलन आएको छ ।’ अभिनेत्री कार्कीले बालबालिकाको नाममा खाता खोलेर बचत गर्ने बानीको विकास गर्ने हो भने मात्र पनि पुण्य कमाउन सकिने बताइन् ।

उक्त खाता बैंकले ४ प्रतिशत ब्याजदर उपलब्ध गराउने भएको छ । ‘सबैभन्दा बढी ब्याजदर पाउने छन्,’ सिइओ शाहले भने, ‘शून्य मौजदातमा खाता खोल्न सकिने छ ।’

मेगा बैंकको एउटा एक्सटेन्सन काउन्टरसहित ४५ वटा शाखा कार्यालयका साथै ४५ वटा एटिएम सञ्जाल छन् । देशका ५४ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले १३ सयभन्दा बढी स्थानमा मेगा रेमिटको सञ्जाल विस्तार गरेको छ ।

 

प्रकाशित: २१ भाद्र २०७३ ०५:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App