१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सोनु निगमद्वारा मुम्बईमा बसन्त चौधरीको पुस्तक लोकार्पण

मुम्बई– प्रसिद्ध कवि एवं गीतकार बसन्त चौधरीको नयाँ काव्य कृति ‘चाहतो के साये मे’ मुम्बईमा लोकार्पण गरिएको छ। बलिउडका लोकप्रिय गायक सोनु निगम तथा प्रसिद्ध गीतकार समीरले मुम्बईको जुहुस्थित जे. डब्लु मेरोइटमा आयोजित एक सांगीतिक कार्यक्रमका बीच पुस्तकलाई लोकार्पण गरेका हुन्।

चौधरीको यो पाँचौ कविता संग्रह हो। जसमा अत्यन्तै सुरुचीपूर्ण तवरले प्रेमका विविध आयामलाई सरलतापूर्वक बुझाउने प्रयत्न गरिएको छ। ‘चाहतो के साये मे’मा प्रेममा आधारित भएर हिन्दी तथा उर्दु मिश्रित भाषामा लेखिएका सयौं कविता, नज्म तथा गजलहरुलाई समेटिएको छ। पुस्तकलाई सुन्जोय शेखरले अंग्रेजीमा समेत अनुवाद गरेका छन्। 

पुस्तक लोकार्पण कार्यक्रमको सुरुवात ‘प्रेमका विविध अयाम’ विषयक अन्तरक्रियाबाट गरिएको थियो। हिन्दी कविताका प्रखर व्यक्तित्व प्रसिद्ध गीतकारद्वय हसन कमाल र समीरको उपस्थितिले कार्यक्रमको रौनकता बढाएको थियो। हिन्दी साहित्य तथा काब्य जगतका प्रसिद्ध ब्यक्तित्वहरु सागर त्रिपाठी, शाहिद हम्दाने, डेनिश जाबेद लगायतको उपस्थितिले कार्यक्रमको महिमा बढाएको थियो। प्रसिद्ध गजल गायिका पिनाजमसानि र संञ्चारकर्मी मार्कण्ड अधिकारी समेत समारोहमा उपस्थित थिए।

त्यसमाथि गायक सोनु निगमले शीर्ष कवितालाई सांगीतिक धुनमा सजाउँदा उपस्थित दर्शक मन्त्रमुग्ध बनेका थिए। 

टाइम्स म्युजिकले प्रकाशन गरेको ‘चाहतो के साये मे’ बोलको शीर्ष गीतलाई बलिउडका चर्चित संगीतकार रिन्को सुशान्त–शंकरले कम्पोज गरेका छन्। उक्त गीतको म्युजिक भिडियोलाई प्रथमेश पाटिलले निर्देशन गरेका छन्। जसमा विश्वास किनी र सुलेनको अभिनय रहेको छ। 

‘चाहतो के साये मे प्रेमलाई अत्यन्तै सुक्ष्म दृष्टिकोणबाट बुझ्ने मेरो एउटा यात्रा हो। मेरो यो यात्रामा धेरै व्यक्तित्वहरुको साथ रहेको छ जसमध्ये केही विशेष व्यक्तित्वहरु आज यहाँ उपस्थित हुनुहुन्छ’, कार्यक्रममा कवि चौधरीले भने, ‘मधुर स्वरका धनी सोनु निगमले आज मलाई मो. रफी साहवको त्यो सुनौलो सांगीतिक युगको सम्झना गराउनुभयो र उहाँको स्वरमा पुस्तकको शीर्ष गीत सुन्न पाउँदा हामी निकै हर्षित छौं।’

गायक निगमले भने, ‘लामो समयपछि मैले अत्यन्तै सुन्दर रचना गाउने अवसर पाएँ। पहिलो पटक सुन्नेवित्तिकै यसले मेरो मन छोयो। नेपालका लोकप्रिय कवि, लेखक एवं समाजसेवी बसन्त चौधरीजीले अत्यन्तै मन छुने गीत लेख्नुभएको छ, त्यसमा संगीत पनि उत्तिकै राम्रो छ र छायाकंन पनि अत्यन्तै सुन्दर तवरले गरिएको छ।

प्रकाशित: १२ असार २०७५ १५:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App