बर्बाद बाटो कि हामी ?

मङ्गलबार, १२ असार २०७५, १८ : ११ अजय फुयाल

विश्वकप फुटबलको माहोल चलिरहेका बेला खेलपछि समाचार लेखेर घर फर्किदै थिएँ। रातको साढे ११ बजेको थियो होला । चाबहिल, बौद्ध, जोरपाटी हुँदै मुलपानीसम्म पुग्ने बाटोमा विश्वकपको माहोलमा रमाएर घर फर्किदै गरेका युवाहरुका मोटरसाइकल, पानी बोक्ने ट्यांकर, छिटफुट नीजि सवारी र ट्याक्सीले चहलपहल बाँकी नै थियो। प्रशासनले नै जबरजस्ती १० बजेपछि मृत बनाउने सहरका सडक रुसमा चल्दै गरेको विश्वकपले जीवित पारे जस्तो देखिन्थ्यो । सधै डेक्स क्लोज गरेर राती अबेर घर फर्किने हामीजस्तालाई यसले राम्रै राहत महसुस भइरहेको थियो।

तर रातीको यात्रा गर्दा सडक जति व्यस्त भयो, जोखिम पनि उत्तिकै हुने। टिफर र टयांकरको तिब्र गति, लापरवाह चालक, अनि काठमाडौंको बाटोबाट जोगिएर सुरक्षित घर पुग्दा सधै एउटा युद्ध जितेजस्तो हुने गर्छ । अझ  त्यसमाथि अहिले त सरकारले संवृद्धिका नाममा सडकमा जताततै 'जनता मार्ने धरापहरु' थापिरहेका छन्। लियोनेल मेसीले विपक्षी खेलाडीलाई छलाएजस्तै सरकारले थापेका धराप छलाउँदै घर पुग्ने हामी बहादुर चालक हौं। घोडा चढ्ने नै लड्छ। बहादुर नै लडाईमा जाने हो र लडाईमा जाने नै पराजित हुने हो।

हुनत यिनलाई आँसुको मुल्य के थाहा। निर्दोष जनतासँग उठाएको करबाट किनेका महंगा फोर ह्विल ड्राइभ गाडीमा सवार हुँदा यिनलाई काठमाडौंको बाटो एडभेन्चर रुटजस्तो लाग्ला। जनताको करले किनेको, विग्रिँदा त्यही करको पैसाले बनाउने, तेल पनि त्यहीबाट हाल्ने भएपछि किन चिन्ता लिनुपर्‍यो। एडभेन्चर गर्न पाएकै छ।

शनिबार राती घर फर्किदै थिएँ । बौद्धमा यस्ता थुप्रै धरापहरु थापिएका छन् सडकमा। असारे खेतका आली कान्ला हिडेजस्तो हुन्छ, त्यहाँको बाटोमा हिड्न । चार पांग्रेका लागि छलाउन साह्रै गाह्रो, मेसीलाई आइसल्यान्डका खेलाडीजस्तै हुन्छ, बौद्धको बाटो चार पांग्रे साना सवारीलाई । खाल्डा खुल्डीमा छलाउँदै अघि बढ्न खोज्दा बढिमा ५ किलोमिटर प्रतिघन्टा हुँदोहो मेरो गाडीको गति । एउटा स्कुटरले मलाई उछिन्यो । उसलाई खाल्डा छलाउन सजिलो हुन्थ्यो, दुई चक्कामात्र भएकाले । त्यसको गति मलाई उछिनेर अघि बढ्दा पनि बढिमा १० किलोमिटर प्रतिघन्टा थियो होला । त्योभन्दा तिब्र गतिमा त्यहाँ सवारी चलाउनु सम्भव नै हुँदैन । मलाई उछिनेर ५० मिटरजति अघि बढ्ने वित्तिकै स्कुटर लड्यो । केही सेकेन्डमा म त्यही पुगेँ । त्यसमा चढेकी १९–२० वर्षकी युवती हिलोमै लडिरहेकी थिइन । स्कुटर विस्तारै लडेको थियो। त्यसैले गम्भीर चोट त पक्कै थिएन । तर उनी उठन सकिनन् । नजिक पुग्दा मेरो गाडीको हेडलाइट ति युवतीको मुखैमा पर्‍यो। उनी असहय पीडामा रोइरहेकी थिइन । मैले गाडी साइड लगाएर रोकेँ। सँगै दी राइजिङ नेपालमा कार्यरत खेल पत्रकार अञ्जन खड्का पनि थिए । हामी ओर्लिएर तिनलाई उठायौं। स्कुटर पानी जमेको खाल्डोभित्रको ठूलो ढुंगामा परेर लडेको रहेछ । पानीभित्रको ढुंगा नदेख्नु तिनको गल्ती थिएन। उनले त स्कुटर किन्दा नै दुई सय प्रतिसत भन्दा बढि सवारी कर तिरेकी थिइन । चिप्लो बाटोमा सुरक्षित रुपमा सललल स्कुटर चढ्नका लागि वार्षिक सडक कर पनि तिरिरहेकी थिइन । उनको के गल्ती ? तर कुनै गल्ती नगर्दा पनि उनले सजाँय भोग्नुपर्‍यो। विचरीको खुट्टा मर्किएछ । नली खुट्टामा  धारिलो ढुंगाले गहिरो गरी काटेछ। भलभली रगत बगिरहेको थियो । हामीले उनलाई उठायौं । बाटो दुर्ई पटक वारपार गर्न लगायौं । खुट्टा सामान्य मर्किएको ठानेर उनलाई घर जान सक्ने नसक्ने सोध्यौं । घर नजिकै रहेछ, बौद्ध पिपलबोटभन्दा २०० मिटरमात्र भित्र।

हामीसँग छुट्टिदासम्म पनि उनी पीडामा रोइनै रहेकी थिइन। घर नपुग्दासम्म अञ्जन र मलाई उनको आँसुले पोलिरह्यो। कठैबरा अनुभुती भइरहयो । पोल्नुपर्नेलाई पोल्यो की पोलेन । समयमै बाटो बनाउने जिम्मेवारी लिएर ठूल्ठुला भाषण गर्नेहरुले त्यस्तो दृष्य देख्नु वा भोग्नुपरेको छ की छैन थाहा भएन।

पछिल्लो एक साताभित्रै त्यो नरकयात्रामा हामी यस्तै अरु दुई घटनाको पनि प्रत्यक्षदर्सी बन्नुपर्‍यो। यिनै अञ्जनलाई लिन सुवेदी गाउँ जाँदै थिएँ । विहान पौने नौ बजेको थियो होला। ब्रम्हखेल चोक पुग्दा साँखुतिरबाट एउटा यात्रुवाहक बस आउँदै थियो । बाटोको छेउमा एक यात्रु सरकारी कार्यालयको पोशाक होला निलो कोट लगाएर प्रतिक्षारत थिए। बसको गति धेरै थिएन । २० देखि ३० किलोमिटर प्रतिघण्टा थियो होला । बाटोमा खाल्डाखुल्डीको कमी थिएन। दूर्भाग्यवश चालकले जति जोगाउन खोज्दा पनि बसको एउटा पांग्रा सानो खाल्डोमा पर्‍यो। खाल्डोको पानी पूरै ति सरकारी कर्मचारीको जिउभरी पर्‍यो। अफिस जान घरबाट ठाँटिएर हिँडेका उनी हिलाम्मे भए।

अब घर फर्केर फेरी नुहाएर कपडा फेरेर आउनुको विकल्प उनीसँग रहेन। गाडी अगाडि बढिसकेको थियो । उनी विना वित्थामा बाटोको हिलो खानुपरेकोमा रिसले चुर थिए । बस चालकलाई सत्तो सराप गर्दै घरतिर फर्किए । उनले पनि त्यस्तो सजाय पाउनुपर्ने कुनै गल्ती गरेका थिएनन् । न त चालककै कुनै गल्ती थियो । उनले पनि सकेसम्म खाल्डा छलाउन खोजेकै हुन् । तर यस्तो नरकयात्रामा सबै खाल्डा छलाउन सम्भव हुँदैनथ्यो । उनले पनि सकेनन्। विना गल्ती उनले पनि सत्तो सराप खानु पर्‍यो। 

त्यस्तै अर्को घटना नारायणटार चोकमा देख्नुपर्‍यो। त्यहाँ एउटा मोटरसाइकललाई टाटा मोबाइलले हिलो छ्याप्यो। टाटा मोबाइल चालकले जानेर त्यसो गरेका थिएनन् । उनले पनि सरकारी नियमअनुसार सबै कर तिरेर राम्रो बाटोमै चलाउन गाडी किनेका थिए । कसैलाई विना वित्थामा दुखः दिनु उनको उदेश्य थिएन । मोटरसाइकल चालक स्थानीय परेछन् । भिडको राज रहेको देशमा स्थानीय युवाले एकाविहानै हिलोले नुहाउँनुपर्दा विचरा टाटा मोबाइल चालकले राम धुलाई भोग्नु पर्‍यो। अन्जानमा त्यसो भएको भन्दै उनले धेरै पटक माफी मागे। तर कुनै दोष नभई अनाहकमा हिलाम्मे हुनुपर्दा रिसले चुर भएका ति युवा र उनका साथीहरुले रोकिने नाम लिएनन् । ति विचरा चालक रगतपच्छे नभएसम्म उनीमाथि मुक्का बर्सिइरहे।

दिनभर मजदुरी गरेर परिवारको पेट पाल्ने ति विचरा चालकले अनाहकमा रगतपच्छे हुने गरी पिटाई खानु पर्‍यो। तत्कालिन रिसको झोकमा चालकमाथि हातपात गरे पनि मोटरसाइकल चालकको इच्छा एकाविहानै कसैलाई पिट्ने थिएन। उनलाई पनि विना वित्थामा एउटा मजदुरमाथि हातपात गरेको घटनाले पछुतो लाग्यो होला।

एक हप्ताको बीचमा तीन जना अनावस्यक रुपमा रुनुपरेको मैले देख्नुपर्‍यो। सानोमा हजुरआमाले सधै भन्ने गर्नुहुन्थ्यो, ‘बाबु कसैलाई रुवाउने काम कहिल्यै नगर्नु । मान्छेको आँसुले पोल्छ ।’ हजुरआमाले नै भनेको अर्को कुरा पनि याद आउँछ, ‘बाबु कसैलाई सराप नगर्नु । मान्छेको जिब्रोमा सरस्वतीको बास हुन्छ। कसैलाई नराम्रो सराप गर्दा लाग्न सक्छ।’

हजुरबा–हजुरआमाको माया प्रेममा हुर्किएको मेरालागि उहाँहरुका प्रत्येक बचन अकाट्य आदेश हुन्। उहाँहरुको अभिभावकत्व हामीले गुमाएको धेरै भइसक्यो । भौतिक रुपमा उहाँहरु नभए पनि उहाँहरुले दिएको संस्कार छ। त्यसैले कसैको कुभलो चिताउन मन लाग्दैन । कसैलाई स्राप दिन पनि मनले दिँदैन । तर मेरी स्वर्गवासी हजुरआमाले भनेजस्तो विना दोश दैनिक हजारौं लाखौंलाई रुवाउने मेरो देशका पापी प्रशासक र नेतालाई निर्दोष जनताको आँसु लाग्ला की नलाग्ला ? ति विचरी किशोरीको आँसुले पोल्ला की नपोल्ला ? हजुरआमाले नै भन्नुहुन्थ्यो, ‘बाबु कलीमा जे पनि हुन्छ ।’ विना वित्थामा पिटाई खानुपर्दा निस्केको टाटा मोबाइल चालकको आँसुले यिनलाई आशिर्वाद पो देला की?

घर मुलपानी, काम सुन्धारामा कार्यालय रहेको नागरिक दैनिकमा। दिनहुँ घर कार्यालय गर्ने क्रममा सधै मैले पनि नरकको यात्रा गर्नुपर्छ । बौद्ध, जोरपाटी, आरुबारी, सुन्दरीजल, गोकर्ण, दक्षिण ढोका, मुलपानी, थली, डाँछी, भद्रबास, आलापोट, साँखु हुँदै सिन्धुपाल्चोकसम्मका लाखौं वासिन्दा दैनिक मजस्तै नरक यात्राको नियति भोग्न बाध्य छन्। उनीहरुले अपराध गरेका छन्, मासिक वा वार्षिक रुपमा सरकारलाई सडक कर तिरेर । आयकर वा अन्य विभिन्न नामका कर बुझाएर यिनले सरकारको मन दुखाएका छन्। व्यक्तिगत स्वार्थभन्दा माथि उठन नसक्ने, समाज, सहर र देश सञ्चालन गर्न दुई पैशाको ढंग नभएका, अग्रगमनको सोच पाल्न पनि अपराध ठान्ने, मानव मन र जिम्मेवारी बोध थोप्पै नभएका कठोर ढुंगालाई भोट हालेर पनि यिनले गल्ती गरेका थिए । समाज, नगर र राष्ट्रको विकासप्रति अत्यन्तै उदासिन नालायकहरुलाई वडा सदस्यदेखि प्रधानमन्त्रीसम्मको पदमा पुर्‍याउँदा अलिकती पनि जवाफदेहिता नखोज्ने, बरु जति गल्ती गरे पनि, जति अपराध गरे पनि तिनैमा आफ्नो भाग्य विधाता भगवानको रुप देख्नु वास्तवमै जनताको अपराध थियो। 

माफ गर्नुस हजुरआमा, आज मलाई भन्न मन लागेको छ, ‘हरेक दिन लाखौं निर्दोशलाई रुवाउने सबै तह र तप्काका जिम्मेवारलाई आँसु लागोस।’

हुनत यिनलाई आँसुको मुल्य के थाहा। निर्दोष जनतासँग उठाएको करबाट किनेका महंगा फोर ह्विल ड्राइभ गाडीमा सवार हुँदा यिनलाई काठमाडौंको बाटो एडभेन्चर रुटजस्तो लाग्ला। जनताको करले किनेको, विग्रिँदा त्यही करको पैसाले बनाउने, तेल पनि त्यहीबाट हाल्ने भएपछि किन चिन्ता लिनुपर्‍यो। एडभेन्चर गर्न पाएकै छ। आफ्नै परिश्रमको फलबाट दुई सय प्रतिसतभन्दा बढि कर तिरेर गाडी, मोटरसाइकल किन्ने, महंगीमा लाइन लागेर भए पनि ज्ञानी बच्चाजसरी पेट्रोल हाल्ने, बिग्रिए पनि आफ्नै मजदुरीबाट प्राप्त पैसाले बनाउने जनताको पीडा फोकटमा मस्ती गर्न पल्केकाले कसरी बुझ्नु। जीवनको मुल्य र आँसुको पीडा त सुसंस्कारी मानिसले पो बुझ्न सक्छ। पूरा देशलाई झोपडपट्टी बनाएर भए पनि आफ्नो खुसी खोज्न पल्केका कुसंस्कारी नेता र प्रशासकले कसरी बुझ्नु जनताको भावना, जीवनको मुल्य र आँसुको पीडा।

त्यसैले फेरी पनि भन्न मन लाग्यो, ‘यिनलाई आँसु लागोस।’







यसमा तपाईको मत


अन्य समाचार

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सल धेरै हुँदैमा क्यामरा राम्रो हुने होइन ! ...

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

हामी सबैको घरमा फ्रीज हुने नै गर्छ। लामो समयसम्म खाना वा कुनै बस्तु ताजा राख्नका लागि यसको प्रयोग गर्ने गरिन्छ।

इण्डिया एडमिसन एक्स्पो २०१९

इण्डिया एडमिसन एक्स्पो २०१९

उच्च शिक्षाका लागि सहि गन्तव्य भारत हुनसक्छ भन्ने अभिप्रायले इण्डिया एडमिसन एक्स्पो २०१९ अर्थात १० औं बृहद भारतिय शैक्षिक मेला...

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् ।

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा 
आइएलओको १०८ औं सम्मेलनमा संबोधन

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा आइएलओको १०८ औं सम्मेलनमा संबोधन

अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Organization-ILO)  को १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...