१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राउतको पक्षमा मानवअधिकार आयोगका पदाधिकारी? मोर्चाको विरोध

काठमाडौं– ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीले पृथकतावादी पक्षधरलाई कार्यकक्षमै भेटेकोमा आपत्ति जनाएको छ। 

मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटी पृथकतावादीलाई कार्यकक्षमै भेट्ने र पृथकतावादीको अपराध ढाकछोप गर्नेगरी उनीहरुको मानव अधिकारको रक्षा गर्नुपर्ने तर्कप्रति आपत्ति जनाएको हो।  

मोर्चाले पदाधिकारीको यो टिप्पणी हास्यास्पद भएको र राष्ट्रिय अखण्डताविरुद्ध लाग्नेहरुको पक्षमा आफ्नो शक्ति र प्रभाव प्रयोग नगर्न आयोगका पदाधिकारीलाई चेतावनी समेत दिएको छ।

भेटमा मोर्चाका अध्यक्ष नेपालले आयोगका अध्यक्ष शर्मा र सदस्य मोहना अन्सारीले नेपाल टुक्र्याउने घोषित अभियान लिएर हिडिरहेका सीके राउतलाई बोलाएर भेट्नु आपत्तिजनक भएको बताएका थिए। जवाफमा अध्यक्ष शर्माले राज्यबाट आफ्नो श्रीमती र छोराछोरीले दुःख पाएको भन्दै राउतले ज्ञापनपत्र बुझाउने भनेपछि आफूहरुले बुझेको स्पष्ट पारेका थिए।

मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मासँग भेट गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र दाहाल ।

आयोगका सदस्य मोहना अन्सारीले पृथकतावादी राउतको संरक्षण गरेको मात्र नभई निश्चित क्षेत्र, जात विशेष र हिन्दी भाषाको पक्षमा वकालत गरी पृथकतावादलाई प्रश्रय दिनु आपत्तिजनक भएको मोर्चाको ठहर छ। 

मोर्चाले यो मुद्दालाई चर्काएर लैजाने बताएपछि आयोगका सचिव वेदप्रसाद भट्टराईले राउतको ज्ञापनपत्रको व्यहोरा झुठो भएको जानकारी गराउँदै उनको परिवारलाई राज्यले सताएको नभई उल्टै राउतले ज्यादती गरेको उजुरी परिवारबाट आएको देखाएका थिए। उनका अनुसार राउतविरुद्ध उनकै श्रीमतीले आयोगमा ज्यादती गरेको भन्दै उजुरी दिएकी छिन्।

राज्यबाट सुविधा लिएर राज्यविरुद्ध नै लाग्ने आयोगका सदस्य अन्सारीविरुद्ध ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आयोग र सरकारसमक्ष उजुरी गरी विरोधका कार्यक्रम सञ्चालन गर्ने चेतावनी अध्यक्ष नेपालले दिएपछि आयोगका अध्यक्ष शर्माले यी विषयमा छलफल गर्न आफू सधैं तयार रहेको बताएका छन्।

प्रकाशित: १२ असार २०७५ ०९:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App