१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

'क्लिन फिड' लागू गर्न माग

काठमाडौं- अघिल्लो मन्त्रिपरिषदले पारित गरिसकेको क्लिन फिड नीति छिटो लागू गर्न सरोकारवालाले माग गरेका छन्। क्लिन फिड नीति लागू भए नेपालको विज्ञापन बजार झन्डै दोब्बर हुने भन्दै नेपाल विज्ञापन संघ (आन) ले सोमबार राजधानीमा गरेको कार्यक्रमका सहभागीले यो नीति छिटो लागू गर्न आग्रह गरेका हुन्।

टेलिभिजन च्यानलले विज्ञापनरहित सामग्री प्रस्तुत गर्ने व्यवस्था नै क्लिन फिड हो। केपी शर्मा ओलीको सरकारले अन्तिम अवस्थमा क्लिन फिड नीति पारित गर्दै एक वर्षमा लागू गर्ने कार्ययोजना बनाएको थियो। राम्रो कामको कार्यान्वयन गर्न एक वर्ष किन कुर्नुपर्‍यो भन्दै नेपाल विज्ञापन संघका अध्यक्ष सन्तोष श्रेष्ठले छिटोभन्दा छिटो नीति कार्यान्वयनमा गर्न सरकारलाई आग्रह गरे।

'नेपालको बजारलाई लक्षित गरेर मल्टिनेसनल कम्पनीहरूले भारतका च्यानलमा पैसा खर्च गर्छन्,' श्रेष्ठले भने, 'क्लिन फिड लागू भए उक्त रकम नेपालमा आउँछ र यसले नेपाली विज्ञापन बजारलाई झन्डै दोब्बर बनाउने छ।' क्लिन फिड नीति जति राम्रो छ, कार्यान्वयनको पक्ष पनि त्यत्ति नै संवेदनशील भएको श्रेष्ठले बताए।

आनका पूर्वअध्यक्ष भाष्करराज राजकर्णिकारले क्लन फिड विज्ञापन बजारमात्र नभएर यो सम्पादकीय स्वतन्त्रतासँग पनि जोडिएको बताए। 'सम्पादकीय स्वतन्त्रता हुनका लागि कुनै पनि मिडिया आर्थिक रपमा समृद्ध हुनैपर्छ,' राजकर्णिकारले भने, 'क्लिन फिड नीति लागू भए यसले सम्पादकीय स्वतन्त्रता ल्याउन सहयोग गर्नेछ।'

क्लिन फिड नीति लागू गर्ने नाममा विदेशी कार्यक्रममा विज्ञापन 'इन्सर्ट' गर्ने प्रवृत्ति आउन सक्ने भन्दै त्यसो गरे नेपाली विज्ञापन र मिडिया धराशयी हुने राजकर्णिकारले बताए। 'क्लिन फिडका नाममा हिन्दी च्यानलमा यहाँबाट विज्ञापन इन्सर्सनको कुरा आउन सक्छ,' राजकर्णिकारले भने, 'विज्ञापन इन्सर्ट गर्ने प्रवृत्ति भयो भने नेपाली मिडियामा भएका विज्ञापन पनि कम हुँदै जानेछ। यसमा सचेत हुनुपर्छ।'

नेपाल मिडिया सोसाइटीका अध्यक्ष पुष्करलाल श्रेष्ठले क्लिन फिड लागू गर्न मिडिया सोसाइटी तयार रहेको बताए। उनले सरकारले अन्य सुबिधाका विषयमा छिटोछिटो निर्णय गरेर लागू गरे पनि क्लिन फिड लागू गर्न किन एक वर्ष लाग्ने भन्दै प्रश्न गरे। कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले महासंघले सुरुदेखि नै क्लिन फिडका पक्षमा लबिङ गर्दै आएको बताए।

अन्तर्क्रिया कार्यक्रममा आनका पूर्वअध्यक्ष तथा क्लिन फिड समितिका अध्यक्ष निर्मलराज पौडेलले क्लिन फिडका विषयमा विस्तृतमा जानकारी गराएका थिए।

सरकारले पारित गरेको विज्ञापन रहित (क्लिन फिड) नीति २०७३ को कार्यनिीति अर्न्तगत रहेको 'क्लिन फिडमा नेपालमा प्रसारण हुने विदेशी च्यानलहरूमा नेपालमै तयार हुने विज्ञापनको फिड गर्ने सम्बन्धमा आवश्यक अध्ययन गर्ने' भन्ने बुँदा हटाउनुपर्ने सहभागीहरूले बताए। उक्त बुँदाले क्लिन फिड लागू नगर्नेतिर संकेत गरेको भन्दै यसले शंका उब्जाएको बताए।

सरकारले २०७४ साउन महिनादेखि क्लिन फिड लागू गर्ने गरी कार्ययोजना बनाएको छ। २०७३ भदौ मसान्तसम्म विज्ञापनरहित नीति सरोकारवालासँग अन्तर्क्रिया गरी कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने, असोजमा राष्ट्रिय प्रसारण नियमावलीमा आवश्यक संशोधन गर्ने, माघ मसान्तसम्म टेलिभिजन सिग्नल वितरण र केबल वितरण सम्बन्धी छुट्टै नियमावली तर्जुमा गरी लागू गर्ने, चैत समान्तसम्म समग्र विज्ञापन निर्माण, वितरण, प्रकाशन र प्रसारणका लागि छुट्टै नियम र संरचना तयार गरी लागू गर्ने कार्ययोजना तयार गरेको छ।   

अहिले देशमा वार्षिक ५ अर्ब ५० करोड रुपैयाँको विज्ञापन बजार रहेको संघले जनाएको छ। क्लिन फिड नीति लागू भए यो बजार दोब्बर हुन सक्ने उनीहरूको भनाइ छ। यसको सबैभन्दा धेरै फाइदा नेपाली टेलिभिजनहरूलाई हुनेछ। विज्ञहरूका अनुसार क्लिन फिड लागू भए नेपाली टेलिभिजनको विज्ञापन ५० प्रतिशतले बढ्छ।

प्रकाशित: २१ भाद्र २०७३ ०५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App