१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘एसईईको नतिजामा लापरबाही, विद्यार्थीको भविष्यमाथि खेलबाड’

काठमाडौं– पूर्व शिक्षा सचिव जनार्दन नेपालले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनमा सरकारले लापरबाही गरेको आरोप लगाएका छन्।  

रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै पूर्व शिक्षा सचिव नेपालले एसईई नतिजा प्रकाशनमा देखिएको कमजोरीलाई अर्को वर्ष नदोहो-याउने गरि सत्यतथ्यका बारेमा अनुसन्धान गर्न सरकारसँग माग गरे। ‘एसईईको नतिजा प्रकाशनको विषयमा सरकार गम्भीर बन्नुपर्छ, प्राविधिक तथा अन्य कुन–कुन पक्षले गल्ती गरेको छ, त्यो छानविन हुुनुपर्यो, अर्को वर्षमा यस्तो कमजोरी हुन नदिनको लागि चनाखो बन्नुपर्यो।’

कार्यक्रममा हिसानका अध्यक्ष रमेश सिलवालले सरकारले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको आरोप लगाए। ‘प्रत्येक दिन नतिजा फरक छ, अघिल्लो दिन एक प्रकारको रिजल्ट अर्को दिनमा फरक रिजल्ट देखाएको छ, नतिजा प्रकाशितमा त यति विघ्न समस्या छ भने कापी जाँचमा कति लापरबाही भयो होला ? हामीले सहज अनुमान लगाउन सक्छौं’, उनले भने। विद्यार्थीको भविष्यका बारेमा मन्त्रालय, शिक्षा विभाग, परीक्षा बोर्ड कोही पनि गम्भीर नबनेको उनको गुनासो छ। 

एन–प्याव्यसनका अध्यक्ष ऋतुराज सापकोटाले कक्षा ९ र १० को परीक्षाको बीचमा कुनै भिन्नता नदेखिएको र परिणाम मात्रै फरक देखाएर हुन्छ भनी प्रश्न गरे। ‘पाठ्यक्रम पुरानै छ, शिक्षाको स्तर घट्दो छ, पढाईमा विद्यार्थीको चासो कम हुँदै गएको छ, परीक्षाको नाममा विद्यार्थी अल्मल्याउने काम भैरहेको छ’, उनले भने।

पछिल्लो तीन वर्षमा एसईईको नतिजामा कुनै भिन्नता नआएको बताउँदै उनले भने, ‘यस वर्षको नतिजामा १४ हजार विद्यार्थीको रिजल्ट आएको छैन्, फरक–फरक रिजल्ट आएको छ, शिक्षामन्त्री र राष्ट्रिय शिक्षा बोर्डले यसको जिम्मेबारी लिनुपर्छ, दोषिमाथि कडा कारबाही गर्नुपर्छ।’

प्याब्सनका महासचिव राजेन्द्र बानियाँले एसईईको नतिजा प्रकाशित गर्ने काममा सरकारले हतार गरेको टिप्पणी गरे। ‘उत्ताउलो गाई बाघले खाई भनेजस्तै रिजल्ट प्रकाशित गर्ने काममा सरकार निकै हतारमा प्रस्तुत भएको छ, एक दुईदिन ढिला हुँदैमा आकाश खस्ने त थिएन होला? यसमा शिक्षामन्त्री, शिक्षा मन्त्रालय, परीक्षा बोर्डका कर्मचारीले लापरबाही गरेका छन्, यस्तो लापरबाहीको कारण कति विद्यार्थीको रिजल्ट आएको छैन्, कतिको रिजल्ट आज एउटा र भोलि अर्के भएर आएको छ, संस्थागत विद्यालयलाई बन्द गर्ने, कमजोर बनाउने काममा सरकार लागेको देखिन्छ, तर सामुदायिक विद्यालयको शिक्षालाई माथि उठाउनको लागि पर्यत्नरत देखिँदैन्।’

प्रकाशित: ११ असार २०७५ ११:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App