१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

'महाविपत्तिले सृजना गर्ने दाबी आफैले भुक्तानी गर्न बिमा कम्पनी सक्षम हुनुपर्छ'

दिपप्रकाश पाण्डे, प्रमुख कार्यकारी अधिकृत शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड

शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेसँग बिमा क्षेत्रमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव छ। एभरेस्ट इन्स्योरेन्स कम्पनीबाट बिमा क्षेत्रमा प्रवेश गरेका पाण्डेले विगत १२ वर्षदेखि शिखर इन्स्योरेन्सको सिइओको जिम्मेवारी सहाल्दै आएका छन्। शिखर इन्स्योरेन्सको बिमा समितिले हालै ल्याएको संस्थागत सुशासन, वित्तीय अवस्था, इन्स्योरेन्स क्षेत्रमा देखिएका अवसर, समस्या, चुक्ता पुँजीको बढाउने योजना, समग्र इन्स्योरेन्सबारे नागरिकका विष्णु बेल्वासेले सिइओ पाण्डेसँग गरेको कुराकानीः

बिमा समितिले संस्थागत सुशासन सम्बन्धी निर्देशिका ल्याएको छ। यसमा तपाइको भनाइ के छ?

०६९ सालमा बिमा समितिले जारी गरेको संस्थागत सुशासन सम्बन्धि निर्देशिकालाई समयसापेक्ष परिमार्जन गरी जारी गरिएको नयाँ निर्देशिका समष्टिगत रुपमा स्वागतयोग्य छ। पुरानो निर्देशिकामा रहेको कतिपय व्यवस्थालाई नयाँ निर्देशिकामा परमार्जन गरिएको छ। हाम्रो विचारमा यस्ता निर्देशिकालाई निरन्तर रुपमा समयसापेक्ष परिवर्तन गर्दै जानुपर्ने हुन्छ।

निर्देशिकामा रहेका सकारात्मक पक्ष के के छन् र यसले पार्ने नकारात्मक प्रभाव पनि छन् कि?

पुरानो निर्देशिकाको तुलनामा नयाँ निर्देशिकालाई अझ व्यवहारिक तथा सरलीकरण गर्ने प्रयास गरिएको छ। नयाँ निर्देशिकाले बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको योग्यता तथा पारिश्रमिक सम्बन्धी व्यवस्था तथा सञ्चालकको सुविधामा केही खुकुलोपना ल्याएको छ। नयाँ निर्देशिकामा धेरै सकारात्मक पक्ष भए पनि सञ्चालकको योग्यता तथा सञ्चालकको कार्यावधि सम्बन्धी व्यवस्थाले भविष्यमा बिमा कम्पनीमा व्यवहारिक तथा प्रशासनिक अड्चन निम्त्याउने देखिन्छ। बजारको वास्तविकता तथा अनुभवको आधारमा भविष्यमा यस्ता व्यवस्था समयानुकूल परिमार्जन हुँदै जाने विश्वास लिएका छौं।

भूकम्पपछि मधेस आन्दोलन र नाकाबन्दीको असर बिमा कम्पनीको वित्तीय विवरणमा पर्‍यो भनिन्छ। आगामी दिनमा पनि पर्ने सम्भावना पनि छ। ती असरलाई सामना गर्न के सोच्नु भएको छ?

भूकम्पपश्चात भएको आन्दोलन तथा नाकाबन्दीले राष्ट्रलाई नै नकारात्मक असर पारेको हुँदाहँुदै पनि समष्टिगत रुपमा बिमा क्षेत्रले गत आवमा रामै्र प्रगति गरेको देखिन्छ। सो समयमा सरल अवस्था भइदिएको भए बिमा क्षेत्रले अझै राम्र्रै फड्को मार्न सक्ने थियो कि जस्तो लाग्छ। यस्तो अवस्थाबाट पाठ सिक्दै आउँदा दिनमा हाम्रो व्यवसायलाई पर्ने असर न्यूनीकरण गर्न कम्पनीका आफ्ना शाखा विस्तार तथा नयाँ बिमालेखको विस्तार लगायत अन्य लगानीका क्षेत्र समेत पहिचान गरी आफ्ना जोखिमलाई न्यूनीकरण गरी अगाडि बढ्दै जानुपर्ने देखिन्छ।

प्रायः सबै बिमा कम्पनीले असार मसान्तसम्मको वित्तीय विवरण सार्वजानिक गरिसकेका छन्। समग्रमा बिमा कम्पनीकोे वित्तीय अवस्थालाई कसरी हेर्नु भएको छ?

प्रारम्भिक तथ्यांक अनुसार गत आवमा नेपालको निर्जिवन बिमा करिब २३ प्रतिशतले वृद्धि भएको देखिन्छ। प्राय सबै कम्पनीको व्यवसाय तथा खुद नाफा वृद्धि भएको देखिन्छ। सम्पुर्ण बिमा कम्पनीहरुको सेयर मुल्यमा समेत राम्रै वृद्धि भएको छ। करिब आधा आर्थिक वर्ष राजनीतिक समस्याको चर्कौ मार खेपेको समयमा समेत यस्तो किसिमको वृद्धिदर हासिल गर्न सकिनुलाई उत्साहजनक रुपमा लिनुपर्दछ। नेपाली बिमा कम्पनीहरुको वित्तीय अवस्था जतिसुकै सुदृढ रहेतापनि गएको भूकम्पजस्तो महाविपत्ति जोखिमले सृजना गर्ने दाबी आफैले भुक्तानी गर्न बिमा कम्पनीहरु सक्षम हँुदै जानुपर्दछ। त्यसको लागि आफ्नो व्यवसायअनुकुलको महाविपत्ति पुनर्बीमा व्यवस्था गर्दै जानुपर्दछ।

हामीले चालु आर्थिक वर्षमा कम्पनीको खुद धारण रक्षावरण गर्न ६०० करोडको महाविपत्ति पुनर्बीमा व्यवस्था गरेका छौं जुन अन्तराष्ट्रिय मापडण्ड लाई ध्यानमा राखेर गरिएको छ। यस तर्फ सम्बन्धित सबै पक्षको उचित ध्यान जानु आवश्यक छ जस्तो लाग्छ।

बिमा कम्पनीमा अझै पनि दाबी भूक्तानीको समस्या छ भनिन्छ, यसलाई कसरी समाधान गर्न सकिएला?

तपाईको यो प्रश्न विगतका अनुभवहरुलाई संगालेर राख्नु भएको जस्तो लाग्दछ जुन हालको अवस्थामा लागु नहुन सक्दछ। बिमा कम्पनीहरुले दाबी भुक्तानी गर्दा न्युनतम कानुनी कागजान संकलन गर्नुपर्ने हुँदा बिमितहरुले समयमै ती कागजातहरु पेश नगर्नाले बिमा कम्पनीहरुले समयमै दाबी भुक्तानी गर्न सक्दैनन। कतिपय अवस्थाहरुमा सर्भेयरहरुबाट प्रभावकारी भुमिका निर्वाह नहुँदा समेत दाबी भुक्तानी गर्न समस्या हुन्छ। साथै केहि विमितहरुबाट सृजना हुने नैतिक जोखिमले पनि दाबी भुक्तानीमा समस्या पर्ने गर्दछ।

हाम्रो विचारमा छिटो छरितो तथा सरलिकृत दाबी प्रकृयाबाट नै बिमा व्यवसायको उज्ज्वल भविष्य निर्धारण हुन्छ। विगतमा कम दाबी भुक्तानी गर्न सके कम्पनीको मुनफामा वृद्धि हुने सोच हुनसक्थ्यो होला। तर हाम्रो विचारमा छिटो छरितो तथा सरलिकरण वातावरणमा जतिसक्यो चाँडो र झन्झटमुक्त रुपमा वास्तविक दाबी भुक्तानी गर्न सके जनमानसमा बिमा प्रति विश्वास बढने र बिमाको बजार विस्तार हुँदै जानेछ।

यसको लागि कम्पनीहरुले आफ्नो दाबी विभागलाई सक्षम बनाउँदै जानुपर्दछ र सर्भेयरको कार्य क्षमता तथा दक्षतामा समेत अभिवृद्धि गर्न सम्बन्धि पक्षको ध्यान जान आवश्यक छ।

बिमा समितिले बिमा कम्पनीलाई  पनि मर्जरमा जान दवाव दिइरहेको छ भनिन्छ नि। मर्जरमा जाने सोचाइ तपाइहरुले बनाउनु भएको छ कि?

बिमा समितिले हालसम्म बीमा कम्पनीहरुलाई मर्जरमा जान कुनै दबाव दिएको छ जस्तो लाग्दैन। भविष्यमा कम्पनीको चुक्ता पँुजी वृद्धिसम्बन्धि व्यवस्थाले केहि बिमा कम्पनीहरुलाई मर्जरको विकल्प नहुन सक्छ।  हाम्रो सोचाईमा पुँजीको आधारमा नै कम्पनीले आफ्नो धारण शक्ति र सो को फलस्वरुप उच्चतम प्रतिफल समेत प्राप्त गर्न सक्नेे हुन्छ। हालको अवस्थामा अस्व्ााभाविक पुँजी निर्धारण गरिएको अवस्थामा बाहेक विना मर्जर नै हाम्रो कम्पनी अगाडी बढन सक्षम रहेको छ।

अहिले बिमा कम्पनीबीच तीव्र प्रतिस्पर्धा छ। शिखर इन्स्योरेन्सलाई अझ प्रतिस्पर्धी बनाउनेबारे के कस्ता कार्ययोजना अगाडि बढाउनुभएको छ?

प्रतिस्पर्धी बजारमा आफ्नो सेवा तथा क्षेत्रको विस्तार गर्दै अगाडी बढ्ने योजना रहेको छ। तीव्र प्रतिस्पर्धी बजारमा आफ्ना विमितहरुलाई चुस्तरुपमा सेवा प्रदान गर्न कर्मचारी तालिम तथा दक्षता अभिवृद्धिका कार्यकक्रमहरु ग्ार्दै आएका छौं। अगाडी भनिएजस्तै छिटो छरितो तथा झन्झटमुक्त दाबी भुक्तानी नै आजको आवश्यकता हो र यसले जनमानसमा विश्वसको वातावरण सृजना गर्दै बिमा क्षेत्रमा सोचेभन्दा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ।

शिखर इन्स्योरेन्सलेे शाखा विस्तार र आधुनिक सेवा विस्तार गर्ने सम्बन्धमा के गरिरहेको छ?

हामीले हरेक वर्ष नयाँ नयाँ बिमालेखहरु जारी गर्दै आएका छौं। नेपाली बीमा बजारमा पहिलोपटक नगदरहित स्वास्थ्य बिमा योजना हामीले नै ल्याएका हौं भने व्यक्तिगत ऋणीहरुको सुरक्षार्थ ढुक्क मनस्थिति बीमा,  संवेदनशिल रोगहरुको बिमा, गल्फ खेलको लागि …होल इन वन' बिमा तथा मौसमी सुचकाङमा आधारित बिमासेवा प्रदान गर्ने हामी एकमात्र कम्पनी हौं। चालु आवमा पनि केही नयाँ बिमालेखहरुको सुरुवात गर्दै छौं। यसका साथै शाखा विस्तार गर्ने क्रममा भौगोलिक विकतता रहेका क्षेत्रहरु जुम्ला, मुगु, कालिकोट तथा मुस्ताङमा समेत शाखा विस्तार गरिरहेका छौं र थप नयाँ शाखाहरु सञ्चालन गर्ने योजनाहरु रहेको छ।

बिमा कम्पनीका समस्या तथा चुनौतिहरु के के छन्? त्यसको सामना के गर्नु पर्ला?

दक्ष जनशक्तिको अभाव हालको प्रमुख समस्याको रुपमा रहेको छ। यसको लागि बिमा कम्पनीहरुले कर्मचारी तालिममा विशेष ध्यान दिनु जरुरी छ र यसमा हालको परिप्रेक्षमा नीति नियमको समेत आवश्यकता महसुस गरेका छौं। नेपाल सरकारको वजेटबाट निर्देशन भएबमोजिम ५ प्रतिशत लघुबिमाको लक्ष्य हासिल गर्नु बिमा कम्पनीहरुको लागि प्रमुख चुनौति रहेको छ। आफ्नो सेवा तथा शाखाको विस्तार गरी यो चुनौतिको सामना गर्न सकिन्छ। हाल प्रायजसो बिमालेखहरुमा बिमा समितिबाट निर्धारण गरिएको बिमादर लागु गर्नुपर्ने अवस्थामा यसैमा अस्वस्था प्रतिस्पर्धा हुने वातावरण रहने भएमा बिमा बजारमा नै नकारात्मक असर पर्ने हुँदा समय अनुकुल बिमा दर परिमार्जन गर्नुपर्ने देखिन्छ।

नयाँ बिमा ऐनका लागि मस्यौदा तयारी गरिँदै छ, ऐन कस्तो आउनु पर्छ?

हाम्रो विचारमा नीति नियमहरु समयअनुसार परिवर्तन हुँदै जानुपर्दछ। प्रस्तावित बिमा ऐन तयार पारिएको समयसमेत धेरै वितिसकेको अवस्थामा यसलाई पुन एकपटक सम्बन्धित पक्षहरुसँग विचार विमर्श तथा छलफल गरि ल्याइएमा व्यवहारिक भइ समग्र बिमा क्षेत्रलाई नै दिगो रुपमा सकारात्मक असर पुग्ने देखिन्छ।

 

शिखर इन्स्योरेन्सको  वित्तीय अवस्था कस्तो छ?

नेपालमा रहेको १७ वटा निर्जिवन बिमा कम्पनीहरुमध्ये १५ औं कम्पनीको रुपमा आजभन्दा १२ वर्ष अघिमात्रै शिखर इन्स्योरेन्सको स्थापना भएको हो। तथापी हामी प्रत्येक वित्तीय सुचांकमा अन्य कम्पनीहरुभन्दा माथि रहेका छौं। हाम्रो चुक्ता पुँजी, नेटवर्थ तथा लगानी अन्य बिमा कम्पनीहरुभन्दा बढी छ। ५० करोड भन्दा बढी चुक्ता पुँजी भएको तथा निजी क्षेत्रबाट प्रवर्द्धित निर्जिवन बिमा कम्पनीहरुमध्ये उच्चतम नेटवर्थ कायम गर्दै उच्चतम महाविपत्ति पुनर्बीमा व्यवस्था गर्दै अघि बढिरहेका छौं। कम्पनीको हाल करिब १५० करोडको नेटवर्थ रहेको छ।

नेपाली निर्जिवन बिमा बजारमा १०० करोडको बिमा शुल्क संकलन गर्ने हामी पहिलो कम्पनी बनेका थियौं भने आव २०७२/७३ मा २०० करोडको बिमा शुल्क संकलन गरी नेपाली बिमा क्षेत्रमा अर्को कोषेढुङा पार गर्‍यौं। साथै हाम्रो असमाप्त जोखिम जगेडा रकम मात्रै ५३ करोड पुगेको छ, यसले कम्पनीको वित्तीय अवस्थालाई सुदृढ पार्दै आगामी दिनमा कम्पनीको दाबी भुक्तानी गर्ने क्षमता, खुद मुनाफा लगायत लगानीकर्तालाई उच्चतम प्रतिफल प्रदान गर्न सक्ने क्षमता बढेकोे संकेत गर्दछ। समष्टिगत रुपमा कम्पनीप्रति लगानीकर्ता लगायत बिमित महानुभावहरुको विश्वास बढदै गएको हामीले महसुस गरेका छौं। यसको लागि हामी उहाँहरु प्रति आभार व्यक्त गर्दछौं।

चुक्ता पुँजी बढाउनलाई के कस्ता योजना बनाउनु भएको छ?

हामीसँग पुँजी बढाउन तीनवटा विकल्पहरु छन। पहिलो प्रत्येक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्दै जानु। दोस्रो हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्नु र तेस्रो साधारण शेयरको नयाँ निष्काशन (एफपिओ) गर्नु। बिमा समितिले हाललाई नगद लाभांस वितरण गर्न रोक लगाएको अवस्थामा हामीसँग बोनस सेयर वितरण गर्दै जानुको विकल्प छैन। बिमा ऐनबाट चुक्ता पुँजी सम्बन्धि व्यवस्था स्पष्ट भएपश्चात पुँजी बजारलाई मध्यनजर गरी हकप्रद सेयर अथवा साधारण सेयरको नयाँ निष्काशनबाट सजिलै पुँजी वृद्धि गर्न सकिन्छ।

गत आर्थिक वर्षमा शिखर इन्स्योरेन्सले खासै नाफा बढाउन सकेन भनिन्छ नि?

आर्थिक वर्ष २०७१/७२ मा हामीले २१ करोड ९६ लाखको खुद नाफा आर्जन गरेको थियौं। सो नाफामा नेपाल पुनर्बीमा कम्पनीबाट प्राप्त ७ करोड ४२ लाखको लाभांश हटाउने हो भने उक्त आर्थिक वर्षमा हाम्रो नाफा १४ करोड ५५ लाख हुन्छ। आव २०७२/७३ को अपरिस्कृत वित्तिय विवरण अनुसार आव २०७२/७३ मा ३१ करोडको खुद नाफा आर्जन भएको छ जुन आव  २०७१/७२ को १४ करोड ५५ लाखको तुलनामा शतप्रतिशतभन्दा बढीको वृद्धि देखिन्छ। यसका साथै गत आवमा हाम्रो असमाप्त जोखिम जगेडा रकम ३३ करोडबाट २० करोडले वृद्धि भई ५३ करोड पुगेको छ, जसको प्रत्यक्ष असर कम्पनीको खुद नाफामा पर्न जान्छ। बिमा व्यवसायको लेखांकन नीति अन्य व्यवसायको तुलनामा फरक रहेको हुन्छ। कम्पनीलाई सुदृढ बनाउन विभिन्न किसिमका जगेडाहरुको व्यवस्थाको लागि नीति निर्देशन बनाइएको हुन्छ। यस्ता निति बुझेकाहरुले कम्पनीको नाफा देखेर खुसी व्यक्त गरेका छन। अतः बिमा सम्बन्धि लेखांकन नीति बुझ्न जरुरीे छ। दिर्घकालीन रुपमा कम्पनीले राम्रै नाफा तथा प्रतिफल प्रदान गर्न सक्ने कुरामा हामी विश्वस्त छौं।

शिखर इन्स्योरेन्सको कार्यकारी अधिकृतको पद सम्हाल्नुभएको लामो समय भएको छ। यो अवधिमा गर्नुभएको उल्लेखनीय कामहरु के के छन्?

शिखर इन्स्योरेन्स कम्पनी स्थापना भएको १२ वर्ष भएको छ। उक्त अवधिमा १७ वटा निर्जिवन बिमा कम्पनीहरुमध्ये हामीले हाम्रो बजार हिस्सा करिब १५ प्रतिशत पुर्‍याउन सफल भएका छौं। जारी बीमालेखको संख्यामा त हाम्रो बजार हिस्सा करिब १९ प्रतिशत रहेको छ। आज हाम्रो कम्पनीले करिब ३ सय जनालाई रोजगरीको अवसर प्रदान गरेको छ। ती कर्मचारीहरुमध्ये करिब १५ कर्मचारी बाहेक अन्य सम्पुर्ण कर्मचारीले पहिलो पटक यसै कम्पनीमा रोजगारीको अवसर प्राप्त गरेका हुन। देशको अर्थतन्त्रमा वार्षिक ४० करोड भन्दा बढीको राजश्व योगदान गरेका छौं। अघि भनिए अनुरुप नेपाली बिमा बजारमा १०० करोड तथा २०० करोड बिमा शुल्क आर्जन गर्दै बिमाको हरेक क्षेत्रमा पथप्रदशकको भुमिका निर्वाह गर्दै अघि बढिरहेका छौं। अर्ध व्यवसायिक रुपमा रहेको नेपालको निर्जिवन बिमा व्यवसायमा हामीले व्यवसायिकरणको विकास गर्न योगदान पुर्‍याएका छौं जस्तो लाग्छ। यो अवधिमा बिमा कम्पनीहरुले दाबी भुक्तानी गर्दैन वा एकदम ढिलो गर्छ भन्ने भावनामा धेरै हदसम्म शिखर इन्स्योरेन्सले परिवर्तन गरेको जस्तो लाग्छ। हामी विगत लामो समयदेखि वार्षिक औसत ५० करोडको दाबी रकम भुक्तानी गर्दै आएका छौं। कुशल जोखिमाकंन नीति तथा पुनर्बीमा नीतिसाथ अगाडी बढने हो भने महाविपत्तिको समयमा समेत बिमा कम्पनीले सजिलै दाबी भुक्तानी गर्न सक्छ भन्ने कुरा हामीले पुष्टी गरेका छौं। हामीले गत आवमा .५५० प्रिमियममा साधारण सेयरको नयाँ निष्काशन गरेको थियौं। बैशाखको भूकम्प पश्चात जारी गरिएको सो निष्काशनमा १४ गुना भन्दा बढीको आवेदन परेको थियो। कम्पनीको पुँजी वृद्धि गर्न साधारण सेयरको नयाँ निष्काशन पनि एउटा माध्यम हुन सक्छ भन्ने हामीले बजारमा पुष्टी गरेका छौं। समष्टिष्त रुपमा १२ वर्ष अघि १० करोडको नेटवर्थ रहेको कम्पनी आज करिब १५० करोड पुगेको छ। सेयरधनीहरुलाई  १४४.१५ प्रतिशत प्रतिफल प्रदान गरिसकेको छ। करिब ३ सय व्यक्तिहरुलाई रोजगारीको अवसर प्रदान गरेको छ र कम्पनीलाई राष्ट्रकै अग्रणि कम्पनीको रुपमा स्थापित गरी उज्ज्वल भविष्य तर्फ अग्रसर हुने वातावरण बनेको छ।

बिमा कम्पनीहरुको सेयर अत्यधिक बढेको छ। यसलाई तपाईले कसरी मूल्यांकन गर्नु भएको छ?

शेयरको मुल्य खुला बजारले निर्धारण गर्ने हुनाले यसबारे टिप्पणी गर्नु उचित नहोला। तथापी बिमा कम्पनीहरुको पुँजी वृद्धि सम्भावित व्यवस्थाको कारण बिमा कम्पनीहरुको सेयरमुल्यमा वृद्धि भएको हो जस्तो लाग्छ। बिमा कम्पनीहरुको वित्तीय विवरणहरु तथा लेखानीतिको सुक्ष्म रुपमा अध्ययन गरी लगानी गरेको अवस्थामा अवस्य पनि वजारले कम्पनी अनुरुप सेयरको उचित मुल्य निर्धारण गर्ने हामीले विश्वास लिएका छौं।

प्रकाशित: २१ भाद्र २०७३ ०४:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App