१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

घोर्ले झरनाको आकर्षण बढ्दाे

तस्बिर : मेघराज तामाङ/नागरिक

संखुवासभा – पछिल्लो समय आन्तरिक पर्यटकहरुको घुँइचो लाग्ने गरेको घोर्ले झरना मूख्य पर्यटकीय गन्तव्य बनेको छ। घोर्ले झरना हेर्न र आसपासका क्षेत्रको दृश्यावलोकन गर्दै रमाउन दैनिक पर्यटकहरू आउने गरेका छन्।

पाँचखपन नगरपालिका वडा नं. १ मा रहेको यो झरना १ सय ९१ मिटर अग्लो रहेको छ। कुसुवा खोलाबाट निर्मित यो झरना तीन तला भएर बगेको छ। सबैभन्दा माथिको पानीको छाँगा ९ मिटर, त्यस भन्दा तलको ६५ मिटर र अन्तिमको १ सय १७ मिटर छ। अन्तिम छाँगा सबै भन्दा लामो भएकाले दिनमा प्राय जसो इन्द्रेणी देखिने गरेकाले झरना झनै सुन्दर देखिने वडा अध्यक्ष टेक बहादुर बुढाथोकीले बताए।

आइतबार घोर्ले झरना पर्यटन विकास केन्द्रले झरना संरक्षण, सम्बद्र्धन तथा प्रचारप्रसार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। झरनाको संरक्षण र सम्बद्र्धन कसरी गर्ने र यसको प्रचारप्रसारलाई कसरी प्रभावकारी बनाउने विषयमा कार्यक्रम केन्द्रित भएको घोर्ले झरना पर्यटन विकास केन्द्रका अध्यक्ष दुर्गानिलम श्रेष्ठले बताए। झरना संरक्षण र सम्बद्र्धनका लागि बिहीबार सम्पन्न वडा परिषद्मा समेत आवश्यक बजेट विनियोजन गर्न नगरपालिका र प्रदेश सरकारलाई सिफारिस गर्न निवेदन दिएको केन्द्रका अध्यक्ष श्रेष्ठले बताए। पर्यटन विकास र पर्यटकीय गन्तव्यका लागि नगरपालिका भित्र रहेको घोर्ले झरना पाँचखपनका लागि कोषेढुंगा साबित भएको जिल्ला समन्वय समितिका उपप्रमुख अम्बिका खवासले बताए। उनले झरनाको संरक्षण र सम्बद्र्धनका लागि आवश्यक सहयोग पनि गर्ने बताएका छन्।

झरनालाई थप प्रचारात्मक गर्न छिट्टै घोर्ले झरना मिनि महोत्सवको आयोजना गरिने श्रेष्ठले बताए। झरना संरक्षण र प्रचारका लागि आर्थिक वर्ष २०७४/०७५ मा प्रदेश सरकार मार्फत चार लाख रुपैंयाँ विनियोजन गरिएको श्रेष्ठले बताए।

झरनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न गत वर्ष सांसद विकास कोषबाट सडक निर्माणका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। उक्त रकमले चैनपुर–बाह्रबिसे सडक खण्डको जौंबारीबाट झरना जाने सडकको डाँडा गाउँसम्म ट्रयाक खोलिएको थियो। झरना जौंबारीबाट झन्डै ११ किलोमिटर उत्तर–पूर्वमा पर्रछ। तर विनियोजित रकमले झरनासम्म पुग्ने सडकको ट्रयाक खोल्न नसकिएको वडाध्यक्ष बुढाथोकीले बताए।

गत आर्थिक वर्षमा नगरपालिकाको पहिलो नगरपरिषदले मर्मत तथा ट्रयाक निर्माणका लागि ८ लाख रुपैंयाँ बजेट विनियोजन गरेको थियो। उक्त रकमले सांसद विकास कोषबाट विनियोजित रकमले खोलिएको ट्रयाकको मर्मत गरेको र बाँकी रकमले ट्रयाक खोलिएको वडा अध्यक्ष बुढाथोकीले बताए। बाँकी २ सय ७० मिटरमा ढुंगाको सिँढी निर्माण गरिएको उनले बताए। दैनिक एकसय आन्तरिक पर्यटक घोर्ले झरना हेर्न आउने गरेको उनले बताए। झरनाको प्रचारप्रसार गर्न सके पाँचखपनको मात्र नभई सिंगो जिल्लाको पहिचान हुने नगरपालिकाका प्रमुख विपिन राईले बताए।

प्रकाशित: ११ असार २०७५ ०४:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App