१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पोउलीसँग नाडाल स्तब्ध

न्युयोर्क- लुकास पोउलीले आइतबार न्युयोर्कमा ठूलो स्तब्ध नतिजा निकाल्ने क्रममा १४ पटकका ग्रान्ड स्लाम च्याम्पियन राफेल नाडाललाई पाँच सेटसम्म संघर्ष गर्दै निराश पारेपछि युएस ओपनको पुरुष क्वार्टरफाइनलमा तीन फ्रान्सेली खेलाडी हुने भएका छन्।

विम्बल्डनको क्वार्टरफाइनल पुगेका २५ औं वरीयताप्राप्त २२ वर्षे पोउलीले पाँच सेटसम्म संघर्ष गर्दै ६–१, २–६, ६–४, ३–६, ७–६ (८/६) को नतिजामा स्पेनिस सुपर स्टारलाई निराश पारेका थिए। नाडीको समस्याका कारण फ्रेन्च ओपनको तेस्रो चरणबाट खेल परित्याग गरेका नाडाललाई त्यही चोटले विम्बल्डनमा पनि अनुपस्थित गरायो। आइतबारको हारपछि २००४ मा किशोरावस्थामा ग्रान्ड स्लाममा डेब्यु गरेयता नाडाल पहिलोपटक कुनै पनि प्रतियोगिताको अन्तिम आठ पुग्न असफल भए।

'म आक्रामक भएर आफ्नो सम्भावना कायम राख्न चाहन्थेँ। त्यसका लागि मैले फोरह्यान्डमा जोड दिएँ। त्यहीँ सफल हुँदा अन्तिममा म्याच प्वाइन्ट लिन सफल भएँ। नाडालजस्ता महान खेलाडीमाथि जित हासिल गर्नु मेरा लागि ठूलो सफलता हो। यो जितले मेरो करिअरमा धेरै अर्थ राख्छ,' पोउलीले भने।

नाडालले भने फोरह्यान्डमा ध्यान नदिँदा ठूलो गल्ती भएको बताए। 'टाइ–ब्रेकमा ६–६ को बराबरी हुँदा मैले सही अंक लिएको पनि थिएँ तर त्यसपछि मबाट ६ गल्ती भयो। यस्तो गल्ती गर्ने हो भने कुनै पनि खेल जित्न सक्दिनँ,' आर्थर आसे रंगशालामा ४ घन्टा ७ मिनेटको प्रतिस्पर्धामा पराजित भएपछि नाडालले भने, 'म पोउलीलाई बधाई दिन चाहन्छु। उनले साँच्चै राम्रो खेले। मैले गल्ती गरिरहँदा उनी जितको हकदारका रूपमा प्रस्तुत भइरहेका थिए।'

अन्तिम आठको यात्रा गर्ने क्रममा पोउलीले पाँच सेटसम्म प्रतिस्पर्धा गरेर विजय पाएको यो लगातार तेस्रो खेल हो। २२ हजार दर्शक क्षमताको कोर्टमा सफलता हासिल गरेपछि उनले भने, 'मैले अहिलेसम्म यति रमाइलो वातावरणमा खेलेको थिइनँ। खेल सकिने बेलासम्म त पूरा रंगशाला भरिइसकेको थियो। कुनै बेला त म आफैलाई पनि सुन्न नसक्ने गरी त्यहाँको हल्लामा रमाएको थिएँ।'

अन्तिम आठमा पोउलीले १० औं वरीयताप्राप्त आफ्नै देशका जिल मोन्पि्कल्ससँग खेल्नेछन्। मोन्पि्कल्सले आइतबार साइप्रसका मार्कुस बाघ्डाटिसमाथि ६–३, ६–२, ६–३ को सोझो सेटमा विजय हासिल गर्दै क्वार्टरफाइनलको ढोका खोलेका थिए।

नवौं वरीयताका जो विल्पि्र्कड सोंगा सफलताका साथ युएस ओपनको क्वार्टरफाइनल पुग्ने अर्का फ्रान्सेली खेलाडी हुन्। उनले २६ औं वरीयताप्राप्त अमेरिकी प्रतिद्वन्द्वी ज्याक सकलाई चार सेटको प्रतिस्पर्धामा पराजित गरे। सोंगाले २३ वर्षे सकमाथि ६–३, ६–३, ६–७ (७/९), ६–२ को विजयी नतिजा निकाले। १९४७ यता कुनै पनि ग्रान्ड स्लामको क्वार्टरफाइनलमा फ्रान्सका तीन पुरुष खेलाडी पुगेको यो पहिलोपटक हो।

सोंगाले सेमिफाइनल पुग्न विश्व नम्बर एक एवं प्रतियोगिताका साबिक विजेता सर्बियाली स्टार नोभाक जोकोभिचसँग प्रतिस्पर्धा गर्नेछन्। जोकोभिचले विश्व वरीयताको ८४ औं स्थानका बेलायती काइल इडमन्डमाथि ६–२, ६–१, ६–४ को सोझो सेटमा विजय पाए।

महिलामा कुर्कुच्चाको चोटका कारण यो वर्ष निकै पीडा भोगेकी कारोलिन वोज्नियाकी र तीन वर्षअघि खेलबाटै संन्यास लिएकी अनास्तासिया सेवास्तोभाले आइतबार युएस ओपनको महिलातर्फ क्वार्टरफाइनल भिडन्त पक्का गरे।

२००९ र २०१४ की उपविजेता पूर्व विश्व नम्बर एक वोज्नियाकीले आठौं वरीयताप्राप्त अमेरिकी प्रतिद्वन्द्वी मेडिसन किलाई ६–३, ६–४ को सोझो सेटमा पराजित गर्दै युएस ओपनमा पाँचौंपटक क्वार्टरफाइनल पक्का गर्दा सेवास्तोभा कुनै पनि ग्रान्ड स्लामको क्वार्टरफाइनल पुग्ने २२ वर्षमा पहिलो लाट्भियाली महिला खेलाडी बनिन्। उनले १३ औं वरीयताप्राप्त बेलायतकी योहाना कोन्टामाथि ६–४, ७–५ को सहज जित दर्ता गराएकी थिइन्।

महिलाकै अर्को क्वार्टरफाइनलमा दोस्रो वरीयताप्राप्त जर्मनीकी एन्जेलिक क्रेबर र विश्व वरीयताक्रमको सातौं स्थानमा रहेकी इटालियन रोबेर्टा भिन्चीबीच प्रतिस्पर्धा हुनेछ। क्रेबरले १४ औं वरीयताप्राप्त चेक गणतन्त्रकी पेट्रा भिटोभालाई ६–३, ७–५ को सोझो सेटमा हराउँदा भिन्चीले युत्रे्कनकी लेसिया टिसुरेन्कोमाथि ७–६ (७/५), ६–२ को विजय हासिल गरिन्।

प्रकाशित: २१ भाद्र २०७३ ०३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App