१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वीरगन्ज महानगरको नगरसभा बहुमतबाट बहिस्कार

वीरगन्ज महानगरपालिकाको नगरसभा बाहिर प्रदर्शन गर्दै सभाका सदस्यहरु । तस्विर : नागरिक

वीरगन्ज– वीरगन्ज महानगरपालिकाको आइतबार राखिएको नगर परिषद् बहुसंख्यक परिषद् सदस्यले बहिस्कार गरेका छन्।

आगामी आर्थिक बर्ष २०७५/०७६ को बजेट र नीति तथा कार्यक्रममा छलफल गरी पास गर्ने उद्देश्यले राखिएको नगरसभाका एक सय ३३ मध्ये एक सय २० जनाले बहिस्कार गरेको बिरोध कार्यक्रमका संयोजक जतन राउत कुर्मीले बताए। वीरगन्जको नगर सभा गृहभित्र उद्घाटनको औपचारिकता भइरहँदा बहिस्कार गर्नेहरु सदस्यले बाहिर टेन्ट लगाएर विरोध जनाए। उनीहरुले नगर सभागृह अगाडि वीरगन्जका नगरप्रमुख विजय सरावगीबिरुद्ध नाराबाजी समेत गरे। 

प्रमुख र उपप्रमुख, वडाध्यक्ष, प्रत्येक वडाबाट निर्वाचित २ जना महिलासहित ४ जना सदस्य र दलित÷अल्पसंख्यक समुदायबाट नगरसभाले निर्वाचित गरेका ३ जना सदस्यको नगर सभा हुने स्थानीय सरकार संचालन ऐन, २०७४ ले ब्यवस्था गरेको छ। सोही ऐनले भने अनुसार राखिएको नगरसभाले आगामी आर्थिक बर्षको लागि बजेट र नीति तथा कार्यक्रम पारित गरेपछि सोहीअनुसार फाँटवारी बजेट बन्ने हो। वीरगन्जमा भने यो प्रक्रिया बिवादित बनेको छ। 

‘नगर प्रमुख सरावगीको प्रवृति तानाशाही खाले देखिएको छ, उनले मनोमानी ढँगले अहिलेसम्म सम्पूर्ण काम गर्दै आएका छन्’, वडा नम्बर २१ का प्रतिनिधि रहेका कुर्मीले भने, ‘वडामा निर्वाचित सदस्यहरुको मान्यता न वडा अध्यक्षहरुले दिएका छन्, न मेयरले दिँदैछन्। कुनै बिकासको काम जाँदा हामीसंग सरसल्लाह छैन्, नीति तथा कार्यक्रम बनाउँदा वडाहरुबाट हाम्रो राय संकलन गर्ने काम भएको छैन, मनोमानी छ।’ आफूहरुको मुख्य माग पारदर्शिता रहेको उनले बताए। 

यसअघि नगरसभाका सदस्य रहेका वडा सदस्यहरुले सामूहिक रुपमा नगरप्रमुख सरावगी समक्ष आफ्ना मागहरु राखेका थिए। त्यसमा उनीहरुको तलब, भत्ता र अन्य सुबिधाहरुको कुरा प्राथमिकतामा छ। त्यस्तै महानगरपालिकाको बजेटबाट मोटरसाइकल दिनुपर्ने माग समेत त्यसमा सामेल छ। ‘हामी छलफल गर्न तयार छौं, चित्त नबुझेका कुराहरुमा परिषदभित्रै छलफल गर्न सकिन्छ, उहाँहरुले बाहिर बसेर प्रदर्शन गरिराख्न जरुरी देख्दिन’, आफ्नो सम्बोधनको क्रममा सरावगीले भने, ‘गैरकानूनी किसिमको माग न मैले न प्रमुख प्रसाशकीय अधिकृत ज्यूले पुरा गर्न सक्छौं।’

दातृ निकायको सहयोगमा नगरमा संचालित बिशेष महत्व भएका योजनाहरुमा दिनुपर्ने समपुरक रकम (मैचिङ्ग फण्ड) जुटाउन समस्या भइरहेको बेला आफूहरुले वडा वडामा एक करोड वा दुई करोड रकम दिन नसकेको उनले बताए। केही स्वार्थ समूह, नगरपालिकाबाट पहिलेदेखि अनुचित फाइदा लिरहेकाहरु अनावश्यक राजनीति, तथ्यहीन प्रचार र बिभिन्न खाले खेल गरिरहेको उनले आरोप लगाए। नगर परिषद् असफल भएमा सबै जनप्रतिनिधिहरुले सामूहिक रुपमा जिम्मेवारी लिनुपर्ने भन्दै जनताप्रति जवाफदेही हुन आह्वान गरे। 

नगरसभामाको उद्घाटन सत्रमा बोल्ने बिभिन्न राजनीतिक दलका प्रतिनिधिले असहमतिहरु हल बाहिरभन्दा भित्रै छलफल गरी टुँग्याउन सुझाव दिए। महानगरपालिकाको तर्फबाट नगर उप–प्रमुख शान्ति कार्कीले बजेटसहितको २८ पन्ने नीति तथा कार्यक्रम उद्घाटन सत्रका प्रस्तुत गरेकी थिइन्। नगर सभा बहुमत सदस्यहरुको बहिस्कारले उक्त बजेट र नीति तथा कार्यक्रममा साँझ ४ बजेसम्म छलफल सुरु भएको थिएन्। बजेटमा ४ करोड ९४ लाख आय र ४ करोड ९७ लाख ब्यय अनुमान गरिएको छ। 

प्रकाशित: १० असार २०७५ १३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App