१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बागमतीमा वधशालाको फोहर

काठमाडौं- बागमतीलाई स्वच्छ र प्रदूषणमूक्त बनाउन सफाइ अभियान चलिरहे पनि विभिन्न टोल/बस्तीबाट बागमतीमा मिसाइने फोहर र ढलमा भने कुनै कमी आएको छैन। ठाउँठाउँमा रहेका धागो उद्योगबाट, बस्तीबाट ढल बागमती मिसाउने क्रम रोकिएको छैन भने पशु बधशालाहरूका सबै फोहर समेत सोझै बागमतीमा मिसाइने गरेको छ।

सफाइ थालिएको पहिलो ठाउँ गोर्कणस्थित वधशालाले आफ्नो सबै फोहर बागमतीमा सोझै मिसाउने गरेको छ। 'अहिले ढल झरेको देखिन्छ,' गोर्कर्णेश्वर मन्दिरभन्दा ५ सय मिटर तलस्थित बस्तीबाट बागमतीमा  खसिरहेको ढलको छाँगो देखाउँदै एक जना अत्तरखेलवासीले भने, 'बिहान ४/५ बजेतिर त ढल होइन रगतकै खोलो बग्छ यहाँ।' स्थानीयका अनुसार गोर्कण मन्दिर नजिकको वधशालामा राँगाभैंसीलगायत पशुको वधपछि निस्कने सबै फोहर बागमतीमा मिसाइने गरेको छ। छेउको चौरमा चरिरहेका राँगा देखाउँदै उनले भने, 'यी राँगा वध गर्दा आएको फोहर सोझै बागमतीमा मिसाइन्छ।'

ढलको पाइप सानो भएकाले ढल थुनिएर वधशालाको फोहर र बस्तीको ढल बागमतीमा मिसिन्छ। 'ठाउँठाउँमा यस्तै समस्या छ। ढल व्यवस्थित नहुँदा बस्तीको ढल र फोहर बागमतीमा मिसिइरहेको छ,' स्थानीय तथा बागमती नदी मुहानदेखि नै सफा गर्नुपर्छ भनेर लागीपरेका सफाइ अभियन्ता माधव पुडासैनीले भने, 'ढल व्यवस्थापन गर्र्ने निकाय आँखा चिम्लेर बसिरहेको छ।'

बागमतीमा मिसिने ढल व्यवस्थापन गर्ने निकाय अधिकारसम्पन्न एकीकृत बागमती सभ्यता संरक्षण समिति हो। समिति भने त्यस क्षेत्रमा सहिद पार्क निर्माणाधीन भएकाले पार्कबाट बगेर आउने माटो, बालुवाका कारण ढल थुनिएर बागमतीमा मिसिन पुगेको बताउँदै उम्किने प्रयास गर्छ। 'ढल थुनिएर खोलामा मिसिएको जानकारी छ,' समिति प्रमुख राजेश सिंहले भने, 'वर्षाका कारण तत्काल बनाउन सक्ने अवस्था छैन।' सिंहका अनुसार फोहर मिसाउने वधशालामाथि केही समयअघि कारबाही गरिएको थियो। वधशालाले फेरि त्यहाँ पशु वध नगर्ने भनेको र फेरि त्यहीँ वध गरिरहेको भए अनुगमन गरी कारबाही गर्ने सिंहले बताए।

समितिमाथि ढल नियन्त्रण मात्र नभएर अरु जिम्मेवारी समेत पूरा नगरेको स्थानीयले आरोप लगाएका छन्। 'समितिले कुनै पनि जिम्मेवारी पूरा गरेको छैन,' स्थानीय पुडासैनीले भने, 'ढल बिछ्याइसकेको ठाउँमा समेत सानो पाइप हालेकाले ढल पाइपमा नबगी बागमतीमा मिसिन्छ।' पुडासैनीका अनुसार बागमतीमा बस्तीका ढल, धागो उद्योगका केमिकल र फोहर समेत मिसिने गरेको छ।

समितिले गोर्कणबाट ललितपुर, बल्खुको सुन्दरीघाटसम्म २८ किलोमिटर ढलको पाइप बिछ्याइरहेको छ। अहिलेसम्म २० किलोमिटरमा ढलको पाइप बिछ्याइसकेको र ८ किलोमिटरमा पाइप बिछ्याउन बाँकी छ। सुकुम्वासी बस्ती हटाउन नसक्दा ती ठाउँमा पाइप बिछ्याउन नसकेको समितिले दाबी गर्‍यो। समितिले ढलको प्रवाह हेरी ४ सय मिलिमिटरदेखि २ हजार मिलिमिटरका पाइप बिछ्याएको जनाएको छ। ढल बिछ्याइसकेपछि किनारको सडकसम्बन्धी काम गरिने योजना रहेको समितिले बताएको छ। समितिले सुस्त गतिमा काम भइरहेको भने स्विकारेको छ।

स्थानीयले भने काम गर्न नसकेको भन्दै समितिलाई सम्बन्धित मन्त्रालय वा प्रधानमन्त्री कार्यालयमा गाभ्नुपर्ने जिकीर गरेका छन्। स्थानीयको एउटा समूहले केही दिनअघि सहरी विकासमन्त्री अर्जुननरसिंह केसीसँग भेटेर समितिले जिम्मेवारी पूरा गर्न नसकेकाले मन्त्रालय वा प्रधानमन्त्री कार्यालयमा गाभ्न अनुरोध गरेका थिए। 'समितिले बागमती संरक्षणका लागि गर्नुपर्ने कुनै काम गर्न सकिरहेको छैन,' पुडासैनीले भने, 'मन्त्रालय वा प्रधानमन्त्री कार्यालयमा गाभेपछि सम्बन्धित कार्यालयको ध्यान बागमतीमा पुग्ला भनेर अनुरोध गरेका हौं।' पुडासैनीले मन्त्री केसीलाई उद्धृत गर्दै भने, 'मन्त्रीले स्थानीयमाझ छलफल गरी अघि बढ्ने भन्नु भएको छ।' उनले मन्त्रीले यसबारे चाँडै निष्कर्ष निकाल्ने उनको भनाइ थियो।

प्रकाशित: २१ भाद्र २०७३ ०२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App