१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गाडी फस्दा बाबुरामले सम्झे 'टाइटानिक'

डा. भट्टराई सवार स्कोरपियो जीप पुलबजारमा डुबानमा परेको अवस्थामा (सौजन्यः अरुणकाजी वैद्य)

बनेपा- नयाँ शक्ति नेपालका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले टि्वटरमा लेखेका छन्, 'बनेपामा वर्षाको पानी जमेर बनेको पोखरीमा गाडी फसेर डुब्न लाग्दा प्रसिद्ध अंग्रेजी फिल्म 'टाइटानिक' को याद आयो! बेलैमा 'रेस्क्यु' गर्ने प्रहरीलाई धन्यवाद!'

हुन पनि मंगलबार दिनभरिको पानीले पुण्यमाता खोलाको बाढी उर्लेर आउँदा अरनिको राजमार्गको पुलबजार आसपास एक सय मिटरजति सडक ताल नै बनेको थियो। यही तालमा भट्टराई सवार पजेरो अचानक फस्न पुग्यो।

'उहाँको पिएसओले बनेपा बजारमा जाममा परियो भनेर बाटो क्लियर गरिदिन आग्रह गरे। मैले वैकल्पिक बाटोको जानकारी दिँदै थिएँ। उहाँ चढ्नुभएको जिप ट्राफिक कार्यालयनजिकै आएर बाढीमै फस्न पुगेछ,' जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्स्पेक्टर सुकदेव खनालले जानकारी दिए।

पुलबजार क्षेत्रको सडकमा बाढीले ताण्डव देखाउन थालेपछि बटुवा र गाडीका यात्रुको उद्धारका लागि खनाल र इलाका प्रहरी कार्यालय बनेपाका इन्स्पेक्टर अनिल घिमिरे पुलपारि खटिएका थिए। भट्टराई र उनी सवार गाडीको उद्धारका लागि प्रहरी टोली पुग्दा गाडीभित्रै पानी छिरिसकेको थियो। 'घुँडासम्म पानीले भिजाइसकेको रहेछ, गाडीको साइलेन्सरभित्रै पानी छिरेकाले स्टार्ट हुन सकेन, हामीले गाडी धकेल्दै कार्यालयसम्म पुर्‍यायौं,' खनालले थपे। गाडीको ढोका खोल्नेक्रममै गाडीभित्रैबाट समेत पानी बगेको थियो।

साढे ५ बजेतिर उद्धार गरिएका भट्टराई जिल्ला ट्राफिक प्रहरी कार्यालयको पहिलो तलामा रहेको खनालको कार्यकक्षमा ४५ मिनेटसम्म बसेका थिए। इन्स्पेक्टरद्वय खनाल र घिमिरेले चिया र खाजाको प्रस्ताव गर्दा उनले भर्खरै खाजा खाएर आएको भन्दै पानी मात्रै पिएका थिए।

'बनेपाजस्तो सहरमा एक्कासि कसरी बाढी आयो? उहाँले सोध्नुभयो, अरु कुराकानी गर्न चाहनुभएन,' जवाफमा घिमिरेले भने, 'बनेपाका खोलानाला सबै अतिक्रमण भएको छ। खोला साँघुरिँदा हरेकपल्ट घरघर हुँदै सडकमा बाढी बग्दै आएको छ।'

प्रहरीले मोजा किनेर ल्याएपछि भिजेकै जुत्ता लगाएर भट्टराई काठमाडौं फर्केका थिए। आफ्नो गाडी बिग्रेपछि उनी ट्राफिककै जिपमा साँगासम्म सवार भएका थिए।

'उहाँले मगाउनुभएको गाडी नभेटुन्जेलसम्म जानु भनेर ड्युटीका प्रहरीलाई पठाएको थिएँ, साँगामा गाडी भेट भएपछि उहाँलाई बिदा गरेर हाम्रा प्रहरी फर्केका हुन्,' खनालले भने।

नयाँ शक्ति नेपाल पार्टीको गठनपछि आराम गर्न र केही दस्तावेज तयार गर्न भनि भट्टराई सोमबार धुलिखेल लज रिसोर्ट आएका थिए। सुरक्षाकर्मीको पछुवा गाडीसमेत नलिई आएका उनको भ्रमणबारे जिल्लाका सिडिओ र एसपीबाहेक सुरक्षाका अन्य निकायलाई पत्तै थिएन।

धेरैपटक धुलिखेलका हाइभ्यु रिसोर्टमा बसेका भट्टराईले यसपटक होटेल फेरेकाले जिल्लाका नयाँ शक्तिका नेता–कार्यकर्ताले पनि पत्तै पाउन सकेनन्।

सधैं डुब्छ बनेपा

'बनेपा र उग्रतारा जनागालको सिमाना पुलबजार क्षेत्र नडुबेको र घर–घरबाटै खोला नबगेको वर्ष नै भएन,' स्थानीय सूर्यभक्त श्रेष्ठले भने। यसअघि जेठ १८ गतेको मुसलधारे वर्षासँगै पुण्यमातामा आएको बाढीले पुलबजार क्षेत्रलाई तहसनहस बनायो। यी क्षेत्रका सयौं घरपसलमा पानी छिर्दा करोडौंको धनमाल नोक्सान भयो। बाढीले बगाउँदा दुई जनाको मृत्यु भयो।

'केही वर्षअघिसम्म अरनिको राजमार्गका दायाँबायाँ पानी निकास हुने ठुल्ठूला मंगाल र ढल थिए, घर बनाउने क्रममा ढल पुरिन थालेपछि निकास बन्द भएको हो,' डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख देवेन्द्र शाहले भने।

अघिल्लो दिन जलमग्न भएको पुलबजार निरीक्षण गर्न र पानीको निकासको विकल्प हेर्न बुधबार बनेपा आएका उनले विगतको राजकुलोसमेत पुरिएकोमा चिन्ता व्यक्त गरे, 'नगरपालिकाले समयमै राजकुलो पुरेर निर्माण कार्य गर्न रोकेको भए यस्तो अवस्था हुने थिएन,' शाहले भने।

पछिल्लो समय उग्रतारा जनागाल गाविस र बनेपा नगरपालिका हुँदै बग्ने पुण्यमाता खोलाको दुवै किनारमा जथाभावी प्लटिङ गर्नेको बाहुल्य छ। खोलावरिपरि भौतिक संरचना निर्माण गर्न खोला किनारबाट १५ मिटर छाड्नुपर्ने बनेपा नगरपालिकाले कानूनी प्रावधान राखे पनि कडाई गर्न नसक्दा प्लटिङ गर्नेको मनोमानी बढेकोमा स्थानीयको आक्रोश रहेको छ।

प्रकाशित: ९ असार २०७३ ०३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App