१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

गर्छिन् पुकार आमाअनशन बसी जोडले...

‘विद्या हराए काशी जानू, न्याय हराए गोरखा जानू’ भन्ने प्रचलित मान्यताको अवसान हुनलागेको छ। विद्या नगरी काशी यथावत् होला तर न्याय भूमि गोरखाका सबै मान्यता फेरिएका छन्। बाइसी चौबीसी राज्यहरूमध्ये सर्वाधिक शक्तिशाली गोरखालाई द्रव्य शाह र राम शाहजस्ता न्यायप्रेमी शासकहरूले विशेष पहिचान दिएका थिए। तपोभूमि नेपालको भूगोलको रक्षा हेतु उनीहरूकै वंशज पृथ्वीनारायण शाहले गोरखाको विस्तार गरे पनि नेपालको अस्तित्वलाई नेपालकै रूपमा यथावत् राखे । न्याय खोज्न गोरखा जानू भन्ने सार्थक कथन जीवित नै रह्यो । तैपनि समय र परिवर्तनको भेलमा अब ती सबै अतीत हुनपुगेका छन्। राजनीतिको नवीनधारहरूले नेपालीहरूको सोचमा व्यापक परिवर्तन गरेकामा असन्तोष मान्नुपर्ने छैन। परिवर्तनको धार जता मोडिए पनि त्यो न्यायको आधार हुनुपर्छ, अन्यायको पोषक प्रमाणित हुनुहुँदैन। तर क्रमशः परिवर्तन न्यायका विरुद्ध अन्यायको पक्षधर हुँदै गएको छ। अहिले गोरखाको फुजेल गाउँकी आमा फुजेल गाउँका केही मानिसहरूले राजनीतिक संरक्षणमा गरेको अन्यायको प्रतिरोध गर्दै मृत्युको संघारमा पुगेकी छिन्। उनले न्यायको पुकार गर्दैगर्दा आफ्ना पतिको अवसान देखिन्, घरेलु प्रतिशोधको सिकार हुनपुगेको आफ्नो छोराको शव देखिन्, न्यायको खोजी गर्दा आफ्ना घरका सबै गाई,भैँसी, बाख्राहरू दाम्लोमा नै पानी पिउनसमेत नपाई तड्पिँदै मरेको र कुहेको दर्दनाक दृश्य देखिन्, सदरमुकाम गोरखादेखि राजधानी काठमाडौँ चहार्दाचहार्दै आफ्ना खेतबारीमा सिस्नु र सिरु पलाएको टुलुटुलु हेरिन्, राजनीतिक नेतृत्व र न्यायालयका ढोका चहार्दाचहार्दै आफ्नो परिवार भताभुंग भएको पीडा सहिन्, न्यायको माग गर्न कुद्दै गर्दा आफ्ना फुटेर चिरा परेका पैतालाहरूको रगत पछ्दै पुर्खादेखि बसिरहेको घर भत्किएको तमासा हेरिरहिन्, न्यायको माग गर्दै सर्वत्र गुहार माग्दै कुदेको आफ्नो जेठो छोरा बेपत्ता भएको पीडा उनले बोकिरहिन् र अन्ततः उनले आफूलाई समेत उत्सर्ग गर्ने निर्णयमा पुगिन्। उनी अहिले आमरण अनशनमा छिन्, उनको धुक्धुकी चलिरहेको छ । कुनै पनि बेला प्राणान्त हुनसक्छ। संवेदनाशून्य भएको भौतिकवादी, सुविधाभोगी, हृदयविहीन समाज र शासन यो दर्दनाक र कठोर वास्तविकताप्रति निःस्पृह छ । आफ्नै आग्रहको बन्दी छ समग्र राज्यव्यवस्था र कानुन। शासकहरूमा माद छ, मात्सर्य छ, अहंकार छ, दुराग्रह छ, नागरिकप्रति उत्तरदायीचेत छैन, छ त शासकीय रवाफ। सम्पूर्ण मानवचेतलाई, न्याय र कानुनलाई, राज्यव्यवस्था र शासनलाई, सम्पूर्ण नागरिक समाजलाई चुनौती दिँदै अनशनमा बसेकी को हुन् त ती आमा ? ती दिदी ? ती बहिनी ? ती भाउजू? ती परिवारकी अभिभावक ? ती पत्नी ? को हुन् त ती ? जो राजनीतिको घीनलाग्दो क्रयविक्रयको खेलमा चारैतिरबाट ताछिएकी, चिराचिरा पारिएकी, छियाछिया भएकी, कलेजो मुटु मस्तिष्क सबै सडकमा असरल्ल पारिएकी? ती हुन् : गंगामाया अधिकारी । उनको निष्कर्ष छ ः  नेपालमा न्यायको अवसान, भइसकेको छ।

गंगामाया अधिकारीको जीवनगाथा ‘न्यायको अवसान’ भरखरै सार्वजनिक भएको छ । हावर्ड फास्टको आदि विद्रोहको क्रूरताको कथालाई सम्झाउने गरी भोगेको चरम यातनाको विवरण पढ्दा कठोर मनहरूले पनि आँसु नझारी रहन सक्दैनन् । मानिस पनि यति तल झर्नसक्छ ? मानिस यतिविधि आततायी र क्रूर हुनसक्छ ? विवेकविहीनता र अमानवीयताको यति ठूलो खाडल बन्न सक्छ ? के राजनीति र परिवर्तनले न्याय र अन्याय छुट्याउन सक्दैन ? के राजनीति भनेको अपराधको संरक्षण गर्ने माध्यम नै हो त? राजनीतिक दल हुनुको अर्थ दलमा आबद्धताका आवरणमा अपराधकाप्रति पूर्ण निरपेक्ष रहनु हो त? अपराध गरेपछि अपराधीहरूले शरण लिने सुरक्षित स्थान राजनीतिक दलहरू नै हुन त ? के समाज यति कायर र कृतघ्न हुनसक्छ ? यी प्रश्नहरू सहसा मनमा उठ्छन् । उनका पति नन्दप्रसाद अधिकारीले तीन सय चौतीस दिन अनशन बसेर प्राण त्याग गरेका थिए । करिब चार वर्षदेखि उनको मृत शरीर शिक्षण अस्पतालको शवगृहमा नेपाली राजनीतिको अन्यायको मुचुल्का तयार पार्दै छ । मृत शरीरको दाह संस्कार भएको छैन । आइरिस नागरिक बबि सान्डस्को कथा हामीले सानो छँदा सुनेका थियौँ । जेल सुधारको विषयमा उनको सामान्य माग थियो । तर सत्ताले त्यो माग सुनेन र उनी आमरण अनशनमा बसेका थिए। करिब ६९ दिनमा उनको अनशनकै क्रममा मृत्यु भयो। संसारले बबिका विषयमा आवाज बुलन्द पा-यो । आज पनि उनी शान्तिपूर्ण आग्रहका पर्याय मानिन्छन्। नेपालमा बिपी कोइरालाले जेलमा नै उनन्तीस दिन अनशन बस्नुभएको थियो राणा शासनका समयमा। राणा शासन अन्ततः बिपीको आवाजलाई सुन्न विवश भएको थियो । सूर्यबहादुर थापा पञ्चायतकै नेता भएर पनि जेल परेका समयमा बन्दीगृहको सुधारका लागि केही दिन अनशन बसेका थिए । उनको अनशनले समेत केही प्रभाव पारेको थियो । भारतीय जनताको स्वतन्त्रता र भारतको स्वाधीनताकालागि गान्धीको अनशन नै परमाणु अस्त्र सिद्ध भयो। अनशन नैतिक अस्त्र हो, आत्मविश्वास र साहस हो । महात्मा गान्धी अंग्रेज साम्राज्यबाट भारतको स्वतन्त्रताकालागि मात्र नभएर आफ्नो कर्म र चित्त शुद्धिसमेतका लागि अनशन बस्ने गर्नुहुन्थ्यो । भारतका चर्चित सामाजिक अभियन्ता अन्ना हजारे अहिले चर्चित हुनुहुन्छ, अनशनबाट नै । पछिल्लो राजनीतिक परिवर्तनको लगत्तैदेखि नेपालमा कसैको नियुक्ति, बढुवा, घटुवा, पदमुक्तिसहित केही नीतिगत सुधार माग राखेर अनशनमा ख्याति कमाएका छन् डा. गोविन्द केसीले । तर न्यायको माग राखेर यसरी आफ्नो जीवन उत्सर्ग गर्ने ती साधु नन्दप्रसाद अधिकारीको पृथक् पहिचान स्थापित छ । अरू देश र समाजमा रहेका भए नन्दप्रसाद महान् हुने थिए । संसारका आँखा उनमा पर्ने थिए । तर नेपाली समाज आफैँ कृतघ्न र विभाजित छ । यसैकारण उनको पार्थिव अवसानले कुनै सार्थकता पाएको छैन । उनकै धर्मपत्नी गंगामाया पनि पतिकै सहयात्री हुन पुगेकी छिन् । ‘न्यायको अवसान’ आफैँमा विस्मयकारी दस्तावेज हो । कतिपय सिनेमाका पर्दामा देखाइने भयानक, दर्दनाक, क्रूर, रहस्यात्मक पीडाहरूको दृश्यजस्तै प्रत्येक पानामा अमानवीय चरित्रचेतको दृष्टान्त ‘न्यायको अवसान’मा भेटिन्छ । के यही हो परिवर्तनको अर्थ ? अन्याय गर्ने जस कसैलाई पनि न्यायको कठघरामा उभ्याउनु पर्छ परिवर्तनले । तर अन्यायको रक्षाकवच हुन पुगेको देखिन्छ परिवर्तन । राज्य कमजोरहरूको सहारा बन्नुपर्छ, न्यायालयले आर्तहरूको पुकार सुन्नुपर्छ, सुरक्षा संयन्त्रले कानुनका निर्णयहरूलाई पालना गराउने सामथ्र्य राख्नुपर्छ । नन्दप्रसाद र गंगामायाको हकमा राज्य,कानुन र सुरक्षा सबै क्षेत्र बिराना भएका छन् । उनका निर्दोष बीस वर्षका छोरा कृष्णप्रसाद अधिकारीका सजाय घोािषत हत्याराहरूले राजनीतिक दलको अभेद्य रक्षाकवच धारण गरेका छन् । ती दोषी प्रमाणितहरू सुरक्षा संयन्त्रको अभिलेखमा फरार सूचीमा छन् । तर तिनीहरू राजनीतिक दलका नेताहरूसँग कुम जोडेर सार्वजनिक कार्यक्रममा प्रहरीकै सामुन्ने नास्तापानी गरिरहेका हुन्छन् । कृष्णप्रसाद कुनै पनि राजनीतिक दलको भरिया थिएनन्, सामान्य विद्यार्थी थिए । उनमा कुनै राजनीतिक चेत पसिसकेको थिएन । उनी विशुद्ध घरेलु रिसईबीको सिकार भएको देखिन्छ। घरेलुप्रतिशोधको विषयलाई द्वन्द्वसँग जोड्ने हो भने ०५२ यता ०६२ सम्म भएका सबै गैरराजनीतिक हत्याहरू, मधेस आन्दोलनमा समेत भएका सबै खाले गैरराजनीतिक हत्यालाई समेत एकमुष्ट उन्मुक्ति दिनुपर्नेे हुन्छ । राजनीतिका नाउँमा भएका हत्या र ज्यादतीको छानबिन गर्न सायद सत्य निरूपण र बेपत्ता छानबिन आयोग लागिरहेका होलान् । द्वन्द्वका अनेक विषय र पक्षहरूलाई ती आयोगहरूले खुट्याउने होलान् । तर निजी प्रतिशोधमा भएका हत्या, हिंसा र अपराधहरूलाई राजनीतिक दलमा भएको आबद्धताकै आधारमा मूल्यांकन गर्ने हो भने सबैको उन्मुक्ति हुनुपर्छ । राजनीति बाहिर कोही पनि हुँदैन। अपराधीहरूलाई त राजनीतिको बर्को ओढ्न कुनै आइतबार पर्खनुपर्दैन।

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ । प्रत्येक नागरिकका आवाजहरूको न्यायोचित सम्बोधन हुनुपर्छ । हिजोका दिनमा एकात्मक सत्ताले जनतालाई विभेदमा पा¥यो, अन्याय भयो, दमन र शोषण ग¥यो, अन्याय ग¥यो, नागरिकका आवाज सुन्नै सकेन भनेर आजको परिवर्तन भएको हो । हिजोको व्यवस्था र अवस्थासँग तुलना गरेर आजको परिवर्तन, यसका संवाहक र शासकहरूले सुख पाउन सक्दैनन् । पुस्तकमा उद्धृत समानताको आन्दोलनका पर्याय गान्धीका अनुयायी मार्टिन लुथर किङको यो वाक्य : एक ठाउँको अन्याय सबै ठाउँको न्यायलाई धम्की हो । नेपालको आजको परिवर्तनका सन्दर्भमा पनि आकर्षित हुन्छ । गंगामायाको माग सामान्य छ । उनका छोराको हत्याका आरोपितहरू अदालतबाट दोषी ठहरिएको हुँदा उनीहरूलाई राज्यले कारबाही गर्नुपर्छ । अर्थात् न्यायालयको फैसला कार्यान्वयन होस् । न्यायालयको फैसला कार्यान्वयन गर्ने दायित्व राज्यको होइन ? लोकतन्त्रमा न्यायिक सर्वोच्चता हुने गर्छ । कानुन र संविधानभन्दा माथि कोही पनि हुँदैनन्। निरंकुश सत्तामा मात्र कानुनभन्दा माथि शासकको स्थान हुने गर्छ । लोकतन्त्रले इन्साफलाई शिरमा राख्छ। के गंगामायाले आजको लोकतन्त्रबाट इन्साफ पाउँछिन् त?

प्रकाशित: ६ असार २०७५ ०२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App