१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

ओलीको चीन यात्रा

प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबारदेखि सुरु हुने छदिने औपचारिक भ्रमणबाट नेपालमा चिनियाँ सहयोग र सहकार्य अभिवृद्धि हुने अपेक्षा गरिएको छ। चीनसँगको हार्दिकतापूर्ण सम्बन्धमा यो भ्रमणबाट थप आयाम उजागर हुनसक्छन्। आफ्ना चिनियाँ समकक्षी ली खछाङको निमन्त्रणामा चीन भ्रमणमा रहँदा झन्डै आधादर्जन समझदारीपत्रमा हस्ताक्षर हुने जानकारी सरकारले दिएको  छ। भ्रमणको पूर्वसन्ध्यामा ओलीले प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकलाई छुट्टछुट्टै सम्बोधन गर्दै चीनसँग सहयोग, सहकार्य र संयुक्त लगानी ढाँचामा समझदारी गर्ने जानकारी दिएका छन्। वास्तवमा चीनसँग नयाँ सम्झौताभन्दा पनि आफ्नो अघिल्लो कार्यकालमा २०७२ को चैत अन्तिम साता भएको सम्झौता कार्यान्वयनमा जोड दिनुपर्ने आग्रहलाई प्रधानमन्त्री ओलीले स्वीकार गरेको देखिएको छ। ओलीको उक्त भ्रमणका अवसरमा मुलुकको सडक र समुद्रसँगको पहुँचका निम्ति दूरगामी प्रभाव पार्ने सहमति चीनसँग भइसकेका छन्। ओलीले रेल, पारवहन र ट्रान्समिसनसम्बन्धी विगत सम्झौताको कार्यान्वयनमा चीनसँग आग्रह गरिने समेत उल्लेख गरेर विगत सम्झौताको कार्यान्वयनमा जोड दिने संकेत गरिसकेका छन्। नेपालका हकमा चीन यस्तो मित्र हो, जोसँग नेपालका ठूला समस्या छैनन् र उसले जहिल्यै नेपाललाई सहयोगका निम्ति आफ्नो हात बढाएको छ। असल व्यवहारका कारण सरकारको तहमा मात्र होइन, जनस्तरमा समेत चीनसँग नेपालको सुखद सम्बन्ध रहेको छ।

सबैभन्दा महत्वपूर्ण काठमाडौं–केरुङ रेल्वे सेवा थालनी गर्ने सम्बन्धमा हुने सम्झौताको मुलुकले तीव्र प्रतीक्षा गरिरहेको छ। विगतमा भएका दुई देशबीचका सन्धिसम्झौता कार्यान्वयनका निम्ति बनाइने संयुक्त संयन्त्रले परियोजना कार्यान्वयन छिटो बनाउने अपेक्षा छ। द्विपक्षीय वार्ताका क्रममा रसुवागढी र तातोपानीमा दुई अन्तर्राष्ट्रिय स्तरका मितेरी पुल निर्माणको विषय पनि आउने सम्भावना छ।

नेपालको चीनसँग खुला सीमा छैन। तर, केही वर्षयता चीनसँग नेपालको आवतजावत बढेको छ । नेपालले संविधान जारी गरेपछि दक्षिणको छिमेकी भारतसँग सम्बन्ध बिग्रेर नाकाबन्दी लाग्दा ज्यादै ठूलो अपेक्षाका साथ सर्वसाधारण नेपालीले समेत उत्तरतिरका नाका खोल्नुपर्ने आग्रह गरेको हामी सबैको स्मृतिमा छ। भूकम्पलगत्तै चीनसँगको प्रचलित तातोपानी नाका बन्द थियो तर थप नाकाबारे खोजी भयो। त्यो बेला प्रधानमन्त्री ओलीले नाकाबन्दीविरुद्ध राखेका अडान र चीनसँग गरिएका पारवहनसम्बन्धी समझदारीका कारण आम जनमानसमा उनीप्रतिको भरोसा बढेको हो। त्यसैको परिणामस्वरुप उनी र उनको दललाई सफलता प्राप्त भएको छ। त्यति मात्र होइन, उनले चातुर्यपूर्वक माओवादी केन्द्रसँग आफ्नो पार्टी एमालेलाई एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गठनसमेत गरेका छन्। निर्वाचनबाट बलियो सरकार र दलीय गठबन्धनका आधारमा समेत सशक्त दल बनाएका ओलीका निम्ति अहिले सबैभन्दा अनुकूल अवस्था छ। त्यति मात्र होइन, यति बेला चीन र भारत दुवैबीच कटु प्रतिस्पर्धासमेत छैन। दुई ठूला छिमेकीको बीचमा रहेको ‘दुई ढुंगाबीचको तरुल’को भाष्यमा परिवर्तन हुँदै ‘दुई महासागरबीचको पुल’मा अनुदित हुँदै गइरहेको नेपालका निम्ति अहिले अनुकूलता बढी छन्। चीन र भारतबीचको सम्बन्ध राम्रो हुनुको अर्थ दुवै मुलुकसँग नेपालले असल सम्बन्ध विस्तार गर्दा कोही सशंकित हुने अवस्था छैन।

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा आठ विभिन्न सम्झौतापत्रमा हस्ताक्षर गर्ने सम्भावना छ। सम्झौतापछि नेपालले चीनको तिब्बत राजमार्ग आठ प्रवेश विन्दुमा प्रयोग गर्न पाउनेछ। यी प्रवेश विन्दुमा हिल्सा, रसुवागढी, रियु तिप्ताला भन्ज्याङ (ताप्लेजुङ), टिंकर (दार्चुला), उराहीपास (बझाङ) र पुलाना हिल्सा हुनेछन्। परराष्ट्र मन्त्रालयले दुवै पक्षले यी सम्झौतापत्रमा हस्ताक्षर गर्ने र भ्रमण ‘ऐतिहासिक तथा फलदायी’ हुने समेत बताइसकेको छ। सबैभन्दा महŒवपूर्ण काठमाडौं–केरुङ रेल्वे सेवा थालनी गर्ने सम्बन्धमा हुने सम्झौताको मुलुकले तीव्र प्रतीक्षा गरिरहेको छ। विगतमा भएका दुई देशबीचका सन्धि/सम्झौता कार्यान्वयनका निम्ति बनाइने संयु्क्त संयन्त्रले परियोजनाको कार्यान्वयनलाई छिटो बनाउने अपेक्षा छ। द्विपक्षीय वार्ताका क्रममा रसुवागढी र तातोपानीमा दुई अन्तर्राष्ट्रिय स्तरका मितेरी पुल निर्माणको विषय पनि आउने सम्भावना छ। हालैको भारत भ्रमणपछि प्रधानमन्त्री ओली सम्बन्धलाई सामान्यीकरण गर्न सफल भएका कारण अहिले एउटा सहज अवस्थामा चीनको भ्रमणमा छन्। यसपटक उनले चीनसँग सम्पन्न गर्न खोजिएका ठूला आयोजनाको कार्यान्वयनका निम्ति भूमिका खेल्न सके भने भ्रमण उपलब्धिपूर्ण हुनेछ। ओलीबाट मुलुकले विकास निर्माणका क्षेत्रमा ठूलो अपेक्षा गरेको छ। चीनको भ्रमणपछि उनको यसप्रतिको प्रतिबद्धताले मूर्तरुप लिन थाल्ने अपेक्षा गरिएको छ। चीन भ्रमणपछि दुवै निकट छिमेकीसँगको सम्बन्ध सामान्य भएको सन्देशसहित ढुक्कले काम गर्ने अवस्था सिर्जना गर्न पनि चीन यात्राको महत्व छ।

प्रकाशित: ५ असार २०७५ ०४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App