१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

घरजग्गा मेलामा बुकिङ गर्नेको चाप

काठमाडौं - घरजगा मेला (प्रोपर्टी एक्स्पो २०१८) मा अपार्टमेन्ट तथा घर बुक गर्नेको चाप बढेको छ । नेपाल जग्गा तथा आवास विकास संघले प्रदर्शनी हल, भृकुटीमण्डपमा आयोजना गरेको मेलामा अपार्टमेन्ट बुक गर्नेको संख्यामा बढेको हो।

घरजगा मेलाका संयोजक विपिन चित्रकारले यसपटकको मेला विगतको भन्दा भव्य भएको बताए । ‘यसपटकको मेलामा अपार्टमेन्ट र घर बुक गर्ने ग्राहकको चाप देखिएको छ । पाँचदिने मेलाको तेस्रो दिनमात्रै अधिकांश कम्पनीको कम्तीमा पाँचवटा अपार्टमेन्ट बुक भएको छ,’ मेला संयोजक चित्रकारले भने, ‘वर्षातको समय भए पनि उपभोक्ताको चासो र भिड उस्तै छ । हामीले सोचेभन्दा यसपटकको मेला भव्य भएको छ।’

उनका अनुसार मेलाका प्रदर्शकले सर्वसाधारणको भिडलाई घरजग्गा व्यवसायको वर्तमान अवस्था, यसका समस्या र समाधानका उपाय जानकारी गराएका छन् । नयाँ नेपाल निर्माणको लागि वैज्ञानिक, व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा सहरीकरणमा घरजग्गा मेलाले महŒवपूर्ण योगदान गरेको संघका अध्यक्ष इच्छाराज तामाङले बताए।

सातौंपटकको मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकले आ–आफ्ना सेवा तथा उत्पादन प्रदर्शन गरेका छन् । मेलामा भूकम्पप्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बिमा कम्पनीहरु सहभागी भएका छन् ।मेलामा विद्युतीय सरसामान, फर्निचर, पाइप, सेनिटरीवेयर्स फिटिङ, पेन्टस, सवारी साधन, सजावटका सामान र बिमा र परामर्श सेवा समेत उपलब्ध भइरहेको अध्यक्ष तामाङको भनाइ छ।

संघका महासचिव मीनमान श्रेष्ठले मेलामा सरप्राइज मूल्यमा घर तथा अपार्टमेन्ट बिक्रीमा राखिएको बताए । सुरक्षित एवं व्यवस्थित बसोबासको विकास र मूल्य प्रतिस्पर्धामार्फत उचित मूल्यमा घरजग्गा तथा अपार्टमेन्ट बिक्री सम्बन्धमा मेलाले उपभोक्ताको रुचिलाई सम्बोधन गरेको श्रेष्ठको भनाइ छ । उनका अनुसार मेलामा उपभोक्तालाई विशेषज्ञद्वारा सोसम्बन्धी कानुनी, प्राविधिक र वित्तीय परामर्श समेत उपलब्ध भइरहेको छ।  

मेला नेपाल जग्गा तथा आवास विकास संघ, सहरी विकास तथा भवन निर्माण विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणको संयुक्त आयोजनामा भएको हो । एक सय ५० स्टल रहेको यसपटकको मेलामा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।

दोस्रो अन्तर्राष्ट्रिय हाउजिङ सम्मेलन आजबाट
प्रोपर्टी एक्स्पो २०१८ अन्तर्गतको दोस्रो अन्तर्राष्ट्रिय हाउजिङ सम्मेलन आजबाट सुरु हुँदैछ । संघका सदस्य तथा हाउजिङ सम्मेलनका संयोजक संगीता सिंहले यसपटकको हाउजिङ सम्मेलन फरक ढंगले सञ्चालन हुने बताइन् । सम्मेलनमा विभिन्न देशका हाउजिङ विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने उनले जानकारी गराइन् ।‘यो सम्मेलनमा विश्वभरका रियल स्टेट कम्पनीहरुको छाता संगठन फिएफसीका अध्यक्ष फारुम महमद आउँदै हुनुहुन्छ,’ उनले भनिन्, ‘उहाँ एक दिनका लागि नेपाल आउने भएकाले यसपटकको मेला विशेष हुन्छ ।’ यस्तै भारत, मलेसिया, युएसका रियल स्टेट विज्ञहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने उनले जानकारी दिइन्।

उनका अनुसार सेमिनारमा फिएफसीका अध्यक्ष महमदले विश्वमा ‘हाई राइज बिल्डिङ’को विषयमा प्रस्तुति दिनेछन् । ‘सहरलाई व्यवस्थित र आकर्षक बनाउने भनेको योजना सहितको हाउजिङ तथा अपार्टमेन्टले हो,’ उनले भनिन्, ‘त्यसैले नयाँ नेपाल निर्माणको क्रममा वैज्ञानिक, व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा सहरीकरणमा सम्मेलनले महत्वपूर्ण योगदान गर्नेछ ।’
मेलामा कारोबार तत्काल नदेखिए पनि एक महिनाबाट सुरु हुने आयोजकको भनाइ छ । उनका अनुसार नेपालको घरजग्गा व्यवसाय क्षेत्रमा एक सय २० कम्पनी क्रियाशील छन् ।

प्रकाशित: ४ असार २०७५ ०१:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App