१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चीन भ्रमणबारे प्रधानमन्त्रीद्वारा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धीमूलक बनाउने तयारी भएको बताएका छन्।
चीन भ्रमणको तयारीका सम्बन्धमा आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीसँग छलफल गर्दै उनले भने, ‘तपार्इँहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु, मूख्यत राष्ट्रिय हितलाई ध्यानमा राखेको छु।’

पूर्वप्रधानमन्त्रीहरुसँगको भेट अघि प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीसँग भ्रमण सम्बन्धमा छलफल गरेका थिए। परराष्ट्रमन्त्री ज्ञावलीसँगको भेटमा उनले भ्रमणपछि नेपाल चीन सम्बन्ध नयाँ उचाईमा प्रवेश गर्ने र चीन– भारतबीच बढ्दो सम्झदारीले नेपालले थप अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्रीको आसन्न भ्रमणलाई चिनिया पक्षले दुई पक्षीय सम्बन्धमा सबैभन्दा महत्वपूर्ण पहल कदमीका रुपमा अंगिकार गरेको पनि उनको भनाई थियो। भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा  थप ५ नाका खोल्ने समझदारी हुन लागेको उनले जानकारी गराए।

भ्रमणका अवसरमा समझदारी पत्रमा हस्ताक्षर र ‘लेटर अफ एक्सचेन्ज’ आदानप्रदान हुने जानकारी दिँदै दुवै देशको राजनीतिक स्थिरताले विकास र समृद्धिको नयाँ मार्ग प्रशस्त हुने अपेक्षा गरिएको उनले बताए।

परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणले विगतका सम्झदारी र सम्झौताको कार्यान्वयनको बाटो खुल्ने विश्वास व्यक्त गरे। ‘भ्रमणका क्रममा सहयोगका नयाँ क्षेत्र पनि पहिल्याइने छ। दुई देशबीच कनेक्टेभिटीका क्षेत्रमा महत्वपूर्ण सम्झदारी हुनेछ’, ज्ञवालीले भने। साथै केरुङ–काठमाडौ, काठमाडौँ–पोखरा रेल परियोजनाका सम्बन्धमा विस्तृत परियोजना प्रतिवेदन बनाएर अघि बढ्ने समझदारी हुने जानकारी गराए। 

छलफलमा नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चीन भ्रमणमा नेपालको तयारी राम्रो रहेको बताउँदै भ्रमणले नेपालको हित हुने विश्वास व्यक्त गरे। उनले प्रधानमन्त्री ओलीलाई भ्रमण सफलताको सुभकामना पनि दिए। 

नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल–चीन–भारत बीच त्रिदेशीय सम्बन्ध अगाडि बढ्नु सकारात्मक भएको बताए। 

त्यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनालले रेल परियोजनाप्रति सबैको आशा रहेको बताए। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई लिखित सुझाव प्रस्तुत गरेका थिए। 

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेपाल चीनको बहुआयामिक सम्बन्धलाई महत्वका साथ अघि बढाउन रणनीतिक साझेदारीको दिशामा अग्रसर हुनपर्ने धारणा राखे।  मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले नेपालमा चिनिया लगानी भित्राउने बातावरण बन्नु पर्ने राय व्यक्त गरे।

प्रकाशित: ३ असार २०७५ १६:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App