१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पूर्वाधार विकासमा विशेष प्राथमिकता

काठमाडौं - काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षलाई पूर्वाधार विकासको वर्षका रूपमा मनाउने घोषणा गरेको छ। महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शनिबार आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा पूर्वाधार निर्माणमा विशेष प्राथमिकता दिइने घोषणा गरेका हुन्।

नीति तथा कार्यक्रममा दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजना एवं क्षेत्रगत गुरुयोजना तयार गरिने उल्लेख छ। निजी शैक्षिक संस्थालाई नियमन, महानगर अस्पताल सञ्चालन, जात्रापर्वलाई अन्तर्राष्ट्रियकरण गरिनेलगायतका कार्यक्रम महानगरपालिकाले सार्वजनिक गरेको छ। सवारीसाधनको प्रदूषण जाँचलाई कडाइ गरिने र पुराना भवन हटाई सुविधासम्पन्न एकीकृत बस्ती विकास गर्ने नीति महानगरपालिकाको छ।

महानगरपालिकाले निजी तथा साना सवारीसाधनको प्रयोगलाई निरुत्साहित गर्ने भएको छ भने सार्वजनिक यातायातका क्षेत्रमा सुविधायुक्त बस, मोनोरेल, मेट्रोरल, केबलकारजस्ता विकल्पको अध्ययन गरी उपयुक्त र बृहत्तर सहरी यातायात योजना बनाउने घोषणा गरेको छ। मोनोरेल र केबलकारको सम्भाव्यता अध्ययन गर्न महानगरपालिकाले छुट्टै एकाइ गठन गर्नेछ।

‘सम्पत्ति कर, बहाल कर, व्यवसाय कर, विज्ञापन करलाई एकीकृत रुपमा सञ्चालन गर्नेछौं। सबै प्रकारका कर असुलीलाई प्रभावकारी बनाउन आवश्यक ऐन, नियम, कार्यविधि, निर्देशिका र मापदण्ड बनाई लागू गरिनेछ।’

प्रमुख शाक्यले महानगरपालिकाको आन्तरिक स्रोतको प्रभावकारी परिचालनका लागि प्रगतिशील कर प्रणालीको विकास गरेर पूर्वाधार निर्माणमा आमूल परिवर्तन गर्ने दाबी गरे। ‘सम्पत्ति कर, बहाल कर, व्यवसाय कर, विज्ञापन करलाई एकीकृत रुपमा सञ्चालन गर्नेछौं,’ शाक्यले भने।

अब महानगरभित्र सञ्चालन हुने संघसंस्था एवं व्यापार व्यवसाय अनिवार्य रुपमा महानगरपालिकामा दर्ता हुनुपर्ने व्यवस्था छ। ‘महानगरपालिकाका सबै प्रकारका कर असुलीलाई प्रभावकारी बनाउन आवश्यक ऐन, नियम, कार्यविधि, निर्देशिका र मापदण्ड बनाई लागू गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ, ‘सबै करदाताको विवरण डिजिटल प्रणालीमा आबद्ध गरेर करदातालाई काठमाडौं स्मार्ट ट्याक्स पेयर कार्ड उपलब्ध गराइनेछ।’

मुख्य चोकहरुमा आधुनिक ट्राफिक लाइट जडान गरिने, स्मार्ट पार्किङको व्यवस्था गरिने र सहरका विभिन्न ठाउँमा स्मार्ट–भर्टिकल पार्किङ र अन्डरग्राउन्ड पार्किङ निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। महानगरपालिकाले प्रदूषण नियन्त्रणका लागि उपत्यका छिर्ने नाकामा रहेका स्थानीय तहसँग समन्वय गरेर ‘भेहिकल क्लििनिङ सेन्टर’ निर्माण गर्ने भएको छ।

महानगरपालिकाले प्रत्येक वडामा कम्तीमा एउटा ज्येष्ठ नागरिक मनोरञ्जन तथा सेवा केन्द्र विस्तार गरिनेछ। ज्येष्ठ नागरिकलाई साझा बसमा निःशुल्क यात्राको व्यवस्था गरिएको छ।

काठमाडौं महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालले नीति तथा कार्यक्रममा सबै क्षेत्र समेटिएको दाबी गरे। ‘सरसर्ती हेर्दा नीति कार्यक्रम आकर्षक देखिन्छ,’ उनले भने, ‘तर अधिकांश नीति तथा कार्यक्रम गत वर्षबाटै ल्याइएका छन्।’

निजी शैक्षिक संस्थालाई नियमन
नीति तथा कार्यक्रममा महानगरभित्र शैक्षिक परामर्श सेवा, बिज्र कोर्स, पूर्वतयारी कक्षा तथा कोचिङ कक्षा सञ्चालन गर्ने व्यवसायीहरूको विवरण अद्यावधिक गरी नियमन गरिने उल्लेख छ। सम्पूर्ण उच्च शिक्षा प्रदायक निजी संस्थाहरुले महानगरपालिकामा दर्ता गर्नुपर्नेछ । निजी लगानीलाई नियमन गरी शैक्षिक क्षेत्रमा रहेको विषमता हटाइने र संस्थागत विद्यालयमा शुल्क निर्धारण गरी गुणस्तरको अनुगमन गरिने नीति तथा कार्यक्रममा छ।

महानगर अस्पताल निर्माण
ज्येष्ठ नागरिकको विशेषज्ञ चिकित्सकद्वारा नियमित एवं निःशुल्क स्वास्थ्य परीक्षण गरिने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरभित्र छरिएर रहेका स्वास्थ्य सेवालाई एकीकृत गरेर विशेषज्ञसहितको स्वास्थ्य सेवा प्रवाह गर्न महानगर अस्पताल सञ्चालन गरिने प्रमुख शाक्यले बताए। उनका अनुसार शिशु स्याहार केन्द्रलाई व्यवस्थित बनाइनेछ। महानगरभित्र पशुपक्षी तथा कुकुर पालनसम्बन्धी मापदण्ड बनाएर कार्यान्वयनमा ल्याइनेछ। स्वास्थ्य स्वयंसेविकाको सेवासुविधमा समयानुकूल वुद्धि गरी सेवालाई प्रोत्साहन गरिनेछ। महानगरपालिका जनप्रतिनिधि र कर्मचारीको वार्षिक स्वास्थ्य बिमा गरिनेछ।

जात्रापर्व अन्तर्राष्ट्रियकरण गरिने
महानगरपालिका क्षेत्रभित्र मनाइँदै आएका चाडपर्व तथा सांस्कृतिक क्रियाकलापको संरक्षण तथा प्रवद्र्धन गरिनेछ। बालाजु बाइसधारा उद्यान र नागार्जुन जंगल क्षेत्रलाई समेटेर चलचित्र नगरीका रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। हुनमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्धनाथ र पशुपति क्षेत्रलाई पर्यटकीय हबका रुपमा विकास गरिनेछ । महानगरभित्र मनाइने जात्रा पर्वलाई अन्तर्राष्ट्रियकरण गरी पर्यटन प्रवद्र्धन गरिनेछ। नीति तथा कार्यक्रममा आगामी वर्षमा १५ सार्वजनिक स्थलमा फ्रि वाइफाई सेवा सञ्चालन गरिने उल्लेख छ।

सवारी प्रदूषणमा कडाइ
नीति तथा कार्यक्रममा प्रदूषण एवं धुवाँधुलो न्यूनीकरण गरी नो मास्क सिटीका रुपमा विकास गरिने उल्लेख छ। यसका लागि विभिन्न सरकारी निकायसँग समन्वय गरिनेछ। महानगरभित्र रहेका सार्वजनिक स्थलमा वृक्षरोपण गरेर ग्रिन सिटी बनाइनेछ। यस्तै सार्वजनिक स्थानहरुमा स्मार्ट सार्वजनिक शौचालय तथा इट्वाइलेट निर्माणमा प्राथमिकता दिइने महानगर प्रमुख शाक्यले बताए।

नीति तथा कार्यक्रममा सवारीसाधनको प्रदूषण जाँचलाई कडाइ गरिने उल्लेख छ। फोहोरमैला संकलन र ढुवानी बिहान ७ बजेअघि र साँझ ८ बजेपछि मात्र गर्न संस्थागत एवं नीतिगत व्यवस्था गरिनेछ। महानगरपालिकाभित्र जोखिमयुक्त अवस्थामा सञ्चालनमा रहेका पेट्रोपपम्प र ग्यास स्टेसनलाई सुरक्षित बनाउने नीति अवलम्बन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै महानगरपालिकाले गुणस्तरीय तथा आधुनिक वधशाला निर्माण गर्ने भएको छ।

एकीकृत बस्ती विकासमा जोड
महानगर क्षेत्रभित्रका भवनहरुको सबलता, सुरक्षा र जोखिम न्यूनीकरण गर्न प्रचलित भवन निर्माण मापदण्डलाई समयानुकूल संशोधन गरिने र पुराना भवन भत्काई एकीकृत बस्ती विकास गर्ने नीति लिइने नीति तथा कार्यक्रममा उल्लेख छ । एकीकृत नमुना आवास निर्माणको सुरुआत वडा नं १७ अन्तर्गतको किलांक्व दम्बोचोकबाट गरिनेछ। नेपाली मौलिकता झल्किने कलात्मक घर निर्माणलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित: ३ असार २०७५ ०१:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App