१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

बढ्दो  सवारी चाहना

नेपाल तथ्यांक विभागको पछिल्लो तथ्यांकअनुसार नेपालीहरूको औसत आय बढेको छ अर्थात् नेपालीहरू धनी हुँदैछन् । धनी र गरिब भन्ने तुलनात्मक पक्षका कुरा हुन् । यस आधारमा हामी विगत भन्दा धनी भएका रहेछौं । अघिल्लो सर्भेक्षणमा नेपालीको औसत वार्षिक आय ८ सय ८८ अमेरिकी डलर थियो, अहिले त्यो बढेर १ हजार ४ डलर पुगेको छ  । अर्थात् हामी विगतभन्दा १३८ अमेरिकी डलरले धनी भएका छौं । यो औसत आम्दानीमा रेमिटेन्स जोडिएको छैन । 

नेपालको सामाजिक अर्थतन्त्रको प्रमुख पाटो रेमिटेन्स जसले ठूलो संख्याका नेपाली परिवारको जीवनयापन चलेको छ, त्यसको योगदान औसत आम्दानीमा गणना गरिएको छैन । अघिल्लो आर्थिक वर्षमा ६ खर्ब ९५ अर्ब विदेशबाट रेमिटेन्सका नाममा भित्रिएको थियो । यो वर्षको पछिल्लो ८ महिनामा ४ खर्ब २६ अर्ब १२ करोड बैक प्रणालीबाट आएको देखिन्छ । रेमिटेन्सलाई औसत आम्दानीमा जोड्दा नेपाली नागरिकको औसत आय १ हजार २ सय हुने विज्ञहरू बताउँछन् । त्यस्तै नेपालको अर्थतन्त्रमा सरकारी हिसाब किताबमा नआउने अवैध वा कालोधनको उत्तिकै बोलबाला छ भनिन्छ । यस आधारमा नेपालीको औसत आम्दानीको पछिल्लो आंकडामा आम नेपालीको तस्बिर नबन्न सक्छ ।  आर्थिक मापनको महत्वपूर्ण पक्ष नेपालमा धनी र गरिबको ठूलो खाडल बनेको छ र त्यो बर्सेनि फराकिलो बनिरहेको विश्लेषण भैरहेका छन् । 

आम्दानी बढेपछि मानिसले  सुविधा सम्पन्न आवास चाहन्छ, सन्तानको राम्रो शिक्षादीक्षा चाहन्छ, राम्रो खानपिन गर्न चाहन्छ, नयाँ–नयाँ उपकरणहरू र सवारी खरिद गर्न चाहन्छ र खासगरी सहरी जीवन रोज्छ । नेपाली समाजमा यस्तै संकेत देखिएका छन् । सहरी जीवनमा अभ्यस्त बन्दै गएको र कामको चापले थिचिएकाहरू सवारी साधनमा लगानी बढाइरहेको अवस्थालाई सवारी साधनको बढ्दो आयातले औँल्याउँछ । निम्न र निम्न मध्यमवर्गको आवश्यकता मोटरसाइकल हुनसक्छ भने उच्च मध्यमवर्ग र उच्च वर्ग जीप कारमा गुड्न चाहन्छन् । सरकारी तथ्यांकलाई आधार मान्दा हामीकहाँ बर्सेनि जसो मोटरसाइकल, जीपकारको संख्या थपिँदो छ । सार्वजनिक सवारी साधनको तुलनामा निजी सवारी साधानको मागले काठमार्डौँ उपत्यका सडकहरुमा जाम दैनिकीजस्तै हुन थालेको निकै भयो ।

आर्थिक वर्ष ७३/७४ मा २१ हजार बढी कारजीप  र ३ लाख ५० हजार बढी मोटरसाइकल आयात भएको छ । यस आधारमा दैनिक ५८ वटा कारजीप र ९ सय ७२ मोटर साइकल आयात भैरहेको छ । कारजीपको आयात आँकडाका दुइटा पक्ष छन् । एउटा व्यस्त जीवनमा आफ्नो काम र पेसाका लागि कारजीपको आवश्यकता ठान्ने र अर्को शोखका लागि बर्सेनि नयाँ र महँगा गाडीहरू खरिद गर्ने । शोखका लागि गाडी किन्नेहरूका आफ्नै पाटो छ ।

पेशागत आवश्यकताका लागि सवारी चाहनेहरूका लागि वाणिज्य बैंकहरूको ऋणको ठूलो योगदान छ । महिनाको निश्चित आम्दानी गर्नेहरूलाई बैंकले सवारी किन्न ६०÷७० प्रतशितसम्म लगानी गर्ने नीतिले पनि कारजीप र मोटरसाइकलको प्रयोग बढेको हो । सवारी साधनले समाजमा सम्पन्नताका सन्देश दिन्छ भने कामकाजीलाई सजिलो साधन बन्न जान्छ । 

नागरिक परिवारले यस पटक नेपालीको बढ्दो सवारी चाहनालाई प्राथमिकताका साथ पस्किएको छ । सवारी शौख र आवश्यकताका दुइटै पाटालाई केलाउने प्रयास गरिएको छ । 

नेपाली समाजमा परिवारका सदस्य मिलेर बसेको अवस्थालाई पस्कदै परिवार र नातागोता मिल्ने आधारहरू पेश गरेको छ । इन्ट्याक्ट फेमिलीबारे मानवशास्त्रीय विश्लेषण गरिएको छ । 

परिवारले यस अंकमा बैंकर संवाद सुरु गरेको छ । कर्पोरेट कुराकानी, नेताको परिवार, फेसन टक, साहित्य, यात्रा, कलेज लाइफ, स्वास्थ्य, फेसन, अभिभावक, वास्तु लगायतका रोचक र नियमित स्तम्भ यसमा समावेश छँदैछन् । पाठकहरूले परिवारको यो अंक रुचाउनु हुनेमा हामी विश्वस्त छौं । 

प्रकाशित: २ असार २०७५ ०९:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App