१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

कुमालेको चक्रमा ‘वोनकप’

तस्विर : उपेन्द्र लामिछाने

ब्राजिलमा विश्वकप हुँदा भक्तपुरको पोर्टर स्क्वायरमा बुद्धिकुमार प्रजापती चक्र चलाउँदै थिए । वरिपरि फुटबल चर्चा चल्दै गर्दा उनी भने परम्परागत कुमाले चक्रमा गमला बनाउँदै थिए।

विश्वकप चर्चामाझ हसिलो अनुहार लगाएर काममा दिएको निरन्तरतालाई स्थानीय कलाकारले कप र कर्मको आकर्षक फ्यूजन तयार गरेर चित्रको स्वरूप दिए । उनको कर्मलाई सम्मान गर्दै चक्रमा घुम्दै गरेको गमलाको ठाउँमा  विश्वकपको आकृति कल्पिए । त्यसको केही वर्षपछि बुद्धिकुमारको निधन भयो  । तर, रुसमा बिहीबार सुरु भएको विश्वकप खेलसँगै भित्तामा कोरिएको चित्र भने झनै जीवन्त देखिएको छ।

‘विश्वकपको रौनक र उनको कामप्रतिको लगावलाई एकै चित्रमा देखाउन हामीले पोर्टर स्क्वायरको यो भित्तामा यस्तो चित्र कोरेका थियाै,’ डिभोटी द आर्टका सदस्य सुदीप बल्लले भने, ‘यो चित्र विगतमाझै यसपटक पनि धेरैको ध्यान खिँच्न सफल भएको छ ।’
म्युरल आर्ट र स्ट्रिट आर्टको फ्यूजन गरेर बनाइएको यो चित्रलाई स्थानीयले आफ्नो गौरव ठान्छन् ।

भित्तामा रहेका थुप्रै नारा र चित्र वर्षेपिच्छे मेटिन्छन् । र, छोपिन्छन् । तर, यो भने निरन्तर सुरक्षित अवस्थामा रहेको छ । यो क्षेत्रमा आउने अधिकांशले चित्र नियाल्छन् र मुस्कुराउँछन् । ‘बूढापाकाले यस चित्रमा आफ्नो कर्म देखेका छन्,’ उनले थपे, ‘सायद नयाँ पिढीले यसमा विश्वकप देखेका छन् ।’उनले भनेजस्तै विश्वकपमा औधि रुचि राख्ने यस टोलका नयाँ पिढीहरूले आफ्नो कामलाई निरन्तरता दिँदै विश्वकपमा रमाउँदै छन् । कामको थकान भए पनि उनीहरूलाई विश्वकपले ताजा बनाउँदैछ । तिनै मध्येका एक हुन्, ४० वर्षीय कृष्णश्याम प्रजापती।


‘कर्ममा रमाउनेहरूसँग पाइला–पाइलामा सफलताको शिल हुन्छ, त्यसैले यो चक्रमा देखिएको  वल्र्डकप हैन ‘वोनकप’ (आफ्नै कप) हो ।’

पहिलो पटक सन् १९९० को विश्वकप हेर्दा अर्जेन्टिनाका फ्यान रहेका उनी पछिल्लो समयमा आएर इग्ल्यान्डको पक्षमा उभिएका छन्  । कुनै देशभन्दा पनि खेलाडीको खेल अनुसार आफुले पक्ष लिएको उनले सुनाए । ‘स्टेफन जेर्राड र डेभिड बेकह्यामलाई मन पराउँदा मलाई इग्ल्यान्ड मन पर्न थाल्यो,’ उनले भने, ‘त्यसैले यसपटक म यही देशको पक्षमा छु ।’दिनभर माटोको भाँडाकुडा बनाउने र साँझमा फुटबल हेर्दे आएका उनले मनमा  भने सधै विश्वकप रहने सुनाए । ‘कहिलेकाहीँ त माटोलाई नै विश्वकपको आकार दिन मन लाग्छ,’ उनले माटोको आकृतिलाई कप जस्तै बनाउँदै देखाए, ‘तर, यसलाई बिगारेर फेरि घैटा तथा खुत्रुकेको आकार दिन्छु।’

उनको जस्तै विचार छ विष्णुप्रसाद प्रजापतीको पनि । यसै पेशाबाट आफ्नो गुजारा चलाउँदै आएका उनी कामलाई सम्मान गर्छन् । तर, काम गरेर खाली रहेको समयमा भने फुटबल हेर्ने सुनाउँछन् । ‘मलाई पनि विशेष टिमभन्दा खेल मन पर्छ,’ उनले भने, ‘त्यसैले भ्याएसम्मको खेल हेर्ने सोच बनाएको छु ।’ म्याराडोनाले खेल्दा अर्जेन्टिनाका समर्थक थिए उनी । उनलाई अहिले पनि यही टिम मनपर्छ ।विगतमा पनि राती अवेरसम्म फुटबल हेरेको उनको अनुभव छ । ‘राती नसुतीकन फुटबल हेरिन्थ्यो,’ उनले भने, ‘तर, बिहान उठेर काम गर्न छाडिएन ।’ कर्मले नै सफलता दिने भन्दै त्यो कुनै कपभन्दा कम्ता नहुने उनको बुझाई छ।

उनको विचारसँग सहमत छन्, डिभोटी द आर्टका अर्का सदस्य राकेश याकामी । प्रत्येक कर्ममा सफलताको शिल हुन्छ भन्ने देखाउन यस्तो चित्र कोरिएको उनले सुनाए । ‘कर्मलाई धर्म मान्नेहरूसँग पाइलापाइलामा सफलताको शिल हुन्छ,’ उनले थपे, ‘त्यसैले कुमालेको चक्रमा देखिएको यो वल्र्डकप होइन, ‘वोनकप’ हो ।’विश्वकपको फिवरले चक्र चलाउने युवकलाई मात्र होइन, तिनका कलिला नानीहरूलाई समेत छोएको छ । आफ्ना अभिभावकसँग फुटबल हेर्दै आएका उनीहरू विभिन्न देशका जर्सीमा सजिएका देखिन्छन् । कतिपयलाई देश र खेलाडीबारे थाहा छ भने कतिपयलाई त्यसको मेसो छैन।


‘विश्वकपको रौनक र कुमाले समुदायको कामप्रतिको लगावलाई एकै चित्रमा देखाउन हामीले यस्तो चित्र कोरेका थियौं । यो चित्र अघिल्लो विश्वकपमाझै यसपटक पनि धेरैको ध्यान खिँच्न सफल भएको छ ।’
 

‘मेरो १० वर्षीय छोरा कृजनले ‘रियल मेड्रिडले विश्वकप जित्छ है’ भनेर सोध्न थालेको छ,’ कृष्णश्यामले हास्दै सुनाए, ‘मैले उसलाई क्लबको होइन, देशको प्रतियोगिता हो भन्न थालेको छु ।’ केटाकेटीहरूलाई रोनाल्डो, मेसी, नेयमारजस्ता खेलाडीबारे भने राम्रोसँग जानकारी रहेको उनले सुनाए ।साना नानीहरूको उत्सुकताले तिनका अभिभावकमा समेत रुचि थपिदिएको छ । सिरियलमा रमाउने गृहणीहरू आजभोलि विश्वकपको झलक हेर्न थालेका छन् ।

‘मेरा छोरा फुटबल भनेपछि हुरुक्कै हुन्छ,’ पूर्णकेशरी प्रजापतीले भनिन्, ‘त्यसैले बुझे÷नबुझे पनि हामी पनि सँगै फुटबल हेर्ने गरेका छौं ।’ अघिल्लो विश्वकपमा  छोराले अर्जेन्टिनाको जर्सी किन्न लगाएको उनलाई स्मरण नै छ । ‘उसको कारणले मलाई पनि अर्जेन्टिना मन पर्न थालेको छ,’ उनले  सुनाइन्, ‘धेरै कुरा त बुझ्दैनौं । तर, हेर्दा रमाइलो लाग्छ ।’कुमालेको चक्र चलाउँदै गर्दा उनीहरूले थुप्रै देशको फुटबलको उतारचढाव देखिसकेका छन् । उनीहरू आफ्ना छोराहरू मेसी, नेयमारजस्तै चर्चित बनुन् भन्ने उनीहरूको चाहना छ । तर, त्यसका लागि मुलुकमा आवश्यक तयारी नभएको उनीहरूको बुझाइ छ।

‘फुटबल विकास गर्न जगैदेखि तयारी हुनुपर्छ,’ माटो मुछ्दै गरेका रोशन प्रजापती सुनाउँछन्, ‘तब मात्र राम्रा खेलाडी जन्मन्छन् ।’
उनको कुरामा सहमत छन्, ५५ वर्षीय राजन प्रजापती पनि । आफ्ना मान्छे राख्ने प्रवृत्ति भएसम्म खेलले फड्को मार्न नसक्ने उनको बुझाइ छ । ‘जबसम्म हाम्रा हैन राम्रालाई छान्ने चलन आउँदैन, तबसम्म विश्वकप हामीले जित्ने हैन, हेर्ने मात्र हो,’ उनले भने, ‘कलिलो उमेरमै नानीहरूलाई खेलकुदको तालिम दिए माटोजस्तै जस्तो चाह्यो त्यस्तै आकृति दिन सकिन्छ ।’
 

प्रकाशित: २ असार २०७५ ०३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App