१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

‘मेरो स्वास्थ्यले साथ दिएसम्म रगत दिइरहन्छु’

कुनै गम्भीर शल्यक्रिया गर्दा होस् वा विभिन्न कारणले शरीरमा रगतको कमी हुँदा होस्, त्यसबेला ज्यान बचाउन रगतकै जरूरी पर्छ । त्यो आवश्यकता पूर्ति गर्न तपाईं हामीले नै रगत दान गर्नुपर्ने हुन्छ ।  यसैकारण रक्तदानलाई जीवनदान पनि भन्ने गरिएको हो ।

यस्तै महान् अभियानमा ३१ वर्षदेखि समर्पित एकजना यस्ता व्यक्ति छन्, जसले अहिलेसम्म १ सय ६१ पटक रक्तदान गरिसकेका छन् । उनी हुन्– काठमाडौंका अर्जुप्रसाद मैनाली । रोजगारीका सिलसिलामा अमेरिका बस्दै आएका उनी हाल नेपाल आएका छन् । यसै अवसरमा उनको रक्तदान अनुभवबारे नागरिककर्मी पवित्रा सुनारले कुराकानी गरेकी छन् ।     

अहिले पनि रक्तदान गरिरहनु भएको छ ?
हो, गरिहेको छु । पछिल्लोपटक गत मे २६ (गत जेठ १२ गते) मा थाइल्याण्ड पुगेर रक्तदान गरें ।

कहिलेदेखि रक्तदान गर्न थाल्नु भयो ?
सन् १९८७ अगस्त २० मा काठमाडौंको विशाल बजारमा पहिलोपटक रक्तदान गरेको थिएँ । अहिले ३१ वर्ष भयो । जति बेला म भर्खर १९ वर्षको थिएँ ।
 
पहिलोपटक रक्तदान गर्ने विचार कसरी आयो ?
म क्याम्पस पढ्दै थिएँ । प्रमाणपत्र तह पढ्दा ‘इंग्लिस फर कलेज’ भन्ने पुस्तकमा ‘द ब्लड डोनर’ भन्ने विषय थियो । जतिबेला मलाई रगत दिन मिल्छ भन्ने नै थाहा थिएन । त्यो विषय पढेपछि मेरो मनमा मैले पनि रगत दिएँ भने कसैलाई बचाउन सक्छु भन्ने सोचाइ आयो।

सन् १९८७ अगस्टको कुरा हो । म काठमाडौंको न्युरोडमा हिँड्दै थिएँ । त्यहाँ रक्तदान कार्यक्रम भइरहेको रहेछ । निक्कै बेर हेरें । मान्छेहरू आउँदै रगत दिँदै जाने क्रम चलिरहेको थियो । त्यो देखेपछि मलाई पनि रक्तदान गरौं–गरौं लाग्यो । र, जीवनमा पहिलोपटक रगत दिएँ र घर आएँ । त्यसको एक हप्तापछि ‘ब्लड बैंक’मा बोलाए । रक्तदानको कार्ड बनाइदिएका रहेछन् । त्यसपछि म पटक–पटक ब्लड बैंकमा गएर सोध्न थालें ।

आफूलाई रक्तदानमै समर्पित गर्न किन मन लाग्यो ?
एक दिन रेडक्रस गएको थिएँ । एक जना आफ्नी श्रीमतीका लागि रगत लिन गएका रहेछन् । ब्लड बैंकले एक पोका दिने र एक पोका चाहिँ उनी आफैले दिनुपर्ने रहेछ । तर डरले उहाँले रगत दिनु भएन।

त्यो देखेपछि मेरो मनमा रक्तदानबारे सबैलाई सही जानकारी दिने रक्तदानका लागि उत्प्रेरित गर्ने विचार आयो । त्यसयता रेडक्रसका हरेक रक्तदान अभियानमा सहभागी हँुदै आफूले पनि रक्तदान गर्न थालें । मैले रगत दिँदै गएपछि  रेडक्रसले नियमित रूपमा बोलाउन थाल्यो ।

रेडक्रसका कार्यक्रममा मलाई बोलाएर रक्तदानबारे दुई÷चार कुरा बोल्न लगाइन्थ्यो । सन् १९९० डिसेम्बर ५ मा लियो क्लबको आयोजनामा रक्तदान कार्यक्रम भयो । रक्तदान गरेको एक घण्टापछि साइकल र्याली कार्यक्रम थियो । वर्षमा कम्तीमा एकपटक रक्तदान गरौं भन्ने सन्देश लेखिएको प्लेकार्ड बोकेर हिँड्ने कार्यक्रम थियो । त्यसमा पनि सहभागी भएँ ।

अहिलेसम्म १ सय ६३ पटक रक्तदान गरिसकेको छु । यो सबै हिसाब गर्दा ८१ लिटर रगत हुन्छ । जसले ४ सय ८९ जनालाई बचाउन सकिन्छ ।  

हालसम्म कतिपटक रगत दिनु भयो ?
अहिलेसम्म १ सय ६३ पटक रक्तदान गरिसकेको छु । यो सबै हिसाब गर्दा ८१ लिटर रगत हुन्छ । जसले ४ सय ८९ जनालाई बचाउन सकिन्छ ।  

विभिन्न देशमा गएर रक्तदान गर्नु हुन्छ, त्यो रगत नेपालीले पाउँछन् त ?
मैले विश्वभरका मानिसलाई सोचेर रगत दिने हो । मैले मानवता सोचेर रगत दिने हो । जुन रगत आवश्यक परेकाले पाए होलान् भन्ने लाग्छ ।
 
कति वटा देशमा पुगेर रक्तदान गर्नु भयो ?
अष्टे«लिया, अमेरिका, मकाउ, बेलायत, हाइटी, युगान्डा, थाइल्याण्ड, मलावी, बरमुढालगायत विश्वका १४ वटा देशमा पुगेर रक्तदान गरेको छु । ती देशमा आफूले पनि रक्तदान गर्नुका साथै अरूलाई पनि रक्तदानका लागि उत्पे्ररणा दिएको छु ।

सन् २०१६ को कुरा हो, एउटा अखबारमा अफ्रिकाको मलाली भन्ने ठाउँमा खाद्यान्न संकट परेछ । खानाको अभाव भएपछि त्यहाँका राष्ट्रपतिले जनतालाई किराफट्याङ्ग्रा खाँदै गर भनेछन् । यो खबर विश्वभरि फैलियो । त्यो खबर सुनेपछि विश्व स्वास्थ्य संगठनले त्यहाँ खाद्यान्न पुर्यायो ।

यो सुनेपछि मलाई पनि त्यहाँको स्वास्थ्य अवस्थाबारे चासो भयो । त्यहाँ १० देखि ११ लाख मानिस बिरामी रहेछन् । त्यहाँ रगत नपाएर एक तिहाइ मान्छेको मृत्यु भएको थाहा पाएँ । त्यसपछि त्यहाँका युवालाई सम्पर्क गरें र तुरुन्तै टिकट काटेर गएँ अनि एक हजार डलर सहयोग दिएँ ।  

त्यसैगरी युगान्डा पुगें । त्यहाँ रक्तदान गरें र अरू धेरै जनालाई रक्तदानमा सहभागी गराएँ । म त्यहाँ पुग्दा हिरोजस्तै भएको थिएँ । युगान्डामा रगत दिनेहरू कम रहेछन् । त्यहाँ ब्यानर बोकेर आएका युवाहरुले मसँग भेटे । बीस घण्टाको फ्लाइट थियो । पे्रसर बढेको थियो । त्यस्तो अवस्थामा रगत दिन मिल्दैनथ्यो । पानी पिएपछि रक्तचाप तल हुन्छ भन्ने थाहा थियो ।  तीन÷चार घण्टा लगाएर पाँच÷छ लिटर पानी पिएँ र रक्तदान गरें । त्यहाँको ब्लड बैंकका निर्देशकले यसअघि कहिले यति मात्रामा रगत संकलन नभएको बताए ।


नेपालमा जस्तै अन्य देशमा पनि रगत अभाव हुँदोरहेछ ?
विकसित देशमा पनि रगतको अभाव हुन्छ । यो पुर्ति गर्न उनीहरूले रक्तदातालाई इमेल पठाइरहन्छन् । अमेरिकामा हरेक दुई  सेकेन्डमा रगत चाहिन्छ । स्वस्थ व्यक्तिको रगत परीक्षण गरिन्छ । रगतका तŒवहरू अलग–अलग ब्यागमा छुट्टयाएर राखिन्छ र जम्मा गरिन्छ ।  जुन अस्पतालमा रगत अभाव हुन्छ, त्यहीअनुसार पठााउँदै जान्छन् । रक्तदानका लागि उत्प्रेरित गर्न अवार्डसमेत दिइन्छ ।

रगत दिने मानिस कस्तो हुनु पर्छ ?
रगत दिने व्यक्ति एकदम स्वस्थ हुनु पर्छ । रगत दिने र लिने व्यक्तिलाई स्वस्थ मान्ने आधार विभिन्न देशमा आ–आफ्नै किसिमका हुन्छन् । नेपालको सन्दर्भमा १८ वर्ष पूरा भएको, ६५ वर्ष ननाघेको, ४५ किलो तौल पुगेको स्वस्थ व्यक्तिले  हरेक ९० दिनमा रगत दिन मिल्छ ।

तपाईं आफू कति–कति महिनाको फरकमा रगत दिनु हुन्छ नि ?
धेरैपटक समय नपुगी ढाँटेर रगत दिएको छु । सन् १९८९ तिर ढाँटेर रगत दिएको छु । छिटो–छिटो रगत दिनु हुँदैन भनिन्छ । मैले सुरुका बेला १४ दिनपछि पनि रगत दिएको छु । तर अरूले यसरी रगत दिनु हुँदैन, कमजोरी हुन्छ भन्थे । सन् २०१४ मा १९ पटक दिएँ । त्यो भनेको ९ लिटर हो । मेरो रगत दिने अवस्था हेरेर दिइहाल्छु ।

धेरैपटक रगत दिँदा स्वास्थ्यमा असर पर्दैन ?
स्वस्थ व्यक्तिले रगत दिँदा कुनै कमजोरी हुँदैन । रगत दिएपछि शरीरमा रगत अपुग हुन्छ भन्ने भ्रम छ । त्यस्तो हँुदैन । हाम्रो शरीरको कुल तौलको प्रति किलोमा ६६ मिलिलिटरले गुणा गर्दा आउने परिमाणले एउटा महिलाको शरीरमा कति रगत छ भन्ने थाहा हुन्छ ।पुरुषको हकमा कुल तौलमा प्रतिकिलो ७७ एमएलले गुणा गर्दा जति आउँछ, त्यति मिलिलिटर रगत हुन्छ । यसमध्ये हामीलाई दैनिक काम गर्न ५० एमएल(मिलिलिटर) मात्र रगत भए पुग्छ ।

महिला र पुरुष दुवैका शरीरमा बढी रगत हुन्छ ।  त्यही बढी रगत मध्येबाट प्रति किलोका दरले ९ मिलिलिटर मात्र रक्तदान गर्न सक्छौं । बढी भएको रगत दिँदा कुनै असर पर्दैन । हाम्रो शरीरमा भएका रातो रक्तकोषको आयु १ सय २० दिन हुन्छ भने प्लेटलेसको आयु पाँचदेखि सात दिनसम्म हुन्छ ।  

दोस्रो कुरा, रक्तदान गर्ने व्यक्ति स्वस्थ हुनु अनिवार्य छ । रगत दिने व्यक्तिमा जलवियोजन हुनु हुँदैन । तरल पदार्थ प्रशस्त पिएको हुनु पर्छ र हेमोग्लोबिनको अवस्था ठीक हुनु पर्छ ।

तरल पदार्थ नखाएमा  भोलिपल्ट थकाइ लाग्ने, हाइ आउने, जलवियोजन हुने हुन्छ । यसका लागि प्रतिदिन दुईदेखि तीन लिटरसम्म पानी  पिउनु पर्छ । जो स्वस्थ छन् र मन भित्रैदेखि रगत दिएर अरूलाई बचाउँछु भन्ने भावना छ, त्यस्ता व्यक्तिले मात्र रक्तदान गर्न सक्छन् ।

अब कतिपटक रगत दिने सोच्नु भएको छ ?
यतिपटक दिन्छु भन्ने थाहा छैन । मेरो स्वास्थ्यले साथ दिएसम्म रगत दिइरहन्छु ।  

तपाईंले रगत दिएर पक्कै पनि धेरैले जीवन पाए होलान् तर यसबाट आफूले चाहिँ के पाएँजस्तो लाग्छ तपाईंलाई ?
मुख्य कुरा, जो रगत नपाएर छटपटाइरहेका थिए, ती दुःखीहरूले मेरो रगतबाट जीवन पाए भन्ने लाग्छ । त्यही कुरालाई आत्मसन्तुष्टि दिन्छ । आखिर अरूको सेवाबाट प्राप्त हुने आनन्दभन्दा खुसी जीवनमा अरू के हुन सक्ला र !

रगत नपाएर मृत्यु भएको घटना देख्नु भएको छ ?
प्रत्यक्ष त देखेको छैन । तर नेपालका विकट जिल्लामा बढी रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको सुनेको छु ।

रक्तदान अभियानलाई सफल बनाउन के गर्नु हुन्छ ?   
मलाई देख्नेबित्तिकै रगत दिनु पर्दोरहेछ भनेर स्वतः बुझ्छन् । एउटा विषयको कार्यक्रम हुन्छ । त्यही मञ्चमा पुगेर रक्तदानको कुरा गरिहाल्छु । म आफैले रक्तदान गरेको कुराले स्वतः अरूलाई पनि उत्प्रेरणा मिल्छ।  

विभिन्न देशमा हुने रक्तदान कार्यक्रम आफै आयोजना गर्नु हुँदोरहेछ, खर्च कसरी जुटाउनु हुन्छ ?
आफ्नो जागिरबाट संकलित रकमकै हिस्सा खर्च गर्छु । केही वर्ष पहिलेको कुरा हो, ढुकुटी खेलेर जम्मा गरेको ५२ हजार डलर रक्तदान कार्यक्रमकै लागि खर्च गरें । जुन कुरा मेरो परिवारलाई थाहा थिएन । दोस्रोपटक २४ हजार डलर पनि रक्तदान कार्यक्रममै सकियो । त्यति मात्र नभएर सञ्चय कोषको पैसा पनि खर्च गरिसकेको छु ।  एकपटक सापटी खोजेको पैसाले कार्यक्रम गर्दा त्यो तिर्न आफ्नै सिक्री पनि बेचेको छु । त्यो पनि श्रीमतीलाई थाहा छैन ।  

नेपाल आउनुभएको दुई महिना भयो क्यारे, दिन कसरी बिताइरहनुभएको छ ?
रक्तदान कार्यक्रममा भाग लिन स्कुल तथा विभिन्न क्लबमा पुग्ने गरेको छु । स्कुलका विद्यार्थीलाई रक्तदानबारे जानकारी दिएको छु । यही अवधिमा पाठ्यक्रम विकास केन्द्रमा पुगेर स्कुलका पाठ्यपुस्तकमा रक्तदान विषय पनि समावेश गर्न सुझाव दिएको छु ।

नेपालमा रगतको अभाव कत्तिको छ ?
हरेक दिन काठमाडौंमा मात्र ४ सय ५० युनिट रगत चाहिन्छ । तर संकलन भने प्रतिदिन १ सय ५० युनिट मात्र हुन्छ । यसको अर्थ दैनिक तीन सय युनिट रगतको अभाव छ । यो अभाव पूर्ति गर्न अस्पतालहरूले रगत आवश्यक परेकै बिरामीको आफन्त खोजेर रगत दिन लगाउँदो रहेछ । यो प्रक्रियाले बिरामीको उपचारमा ढिलाइ हुन्छ नै कतिपय अवस्थामा ठूलै समस्या आउन सक्छ ।

 

 

 

 

प्रकाशित: २ असार २०७५ ०३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App