१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

थप दुई न्यारो बडी जहाज किन्न सैद्धान्तिक सहमति

काठमाडौं - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सञ्चालक समितिले थप दुईथान सानो (न्यारो बडी) आकारका जहाज खरिद गर्न व्यवस्थापनलाई सैद्धान्तिक सहमति दिएको छ।

दुईथान ठूलो (वाइड बडी) आकारका जहाज आउन दुई साता बाँकी हुँदा सञ्चालक समितिले निगम व्यवस्थापनलाई थप दुइटा न्यारो बडी जहाज खरिद गर्न सैद्धान्तिक सहमति दिएको हो । हाल निगमले यस्तै खालका दुइटा न्यारो बडीबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।

‘अन्तर्राष्ट्रिय उडानमा बजार हिस्सा बढाउँदै लाने उद्देश्यले थप दुईथान न्यारो बडी जहाज खरिद गर्न सञ्चालक समितिले ‘ग्रिन सिग्नल’ दिएको छ,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले बुधबार नागरिकसँग भने, ‘अब खरिद प्रक्रियालाई द्रुत गतिमा अगाडि बढाउँछौं ।’उनका अनुसार अब खरिद गर्न लागिएको जहाज ‘ए३२०–२०० एनइओ’ सिरिजका हुन् । एनइओको अर्थ ‘न्यु इन्जिन अप्सन’ हो । युरोपेली जहाज निर्माता कम्पनी एयरबसले उत्पादन गर्ने यस्ता जहाजले हाल निगमसँग रहेका ए३२०–२०० सिरिजको भन्दा १५ प्रतिशत कम इन्धन खपत गर्छ।

हाल निगमले दुइवटै न्यारो बडी जहाजबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ । १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजका यस्ता जहाजमा १ सय ५० इकोनोमी क्लास र ८ बिजनेस क्लास सिट गरी कूल १ सय ५८ सिट छन् ।

नेपाल वायुसेवा निगमले ‘ए३२०–२०० एनइओ’ सिरिजका दुईथान नयाँ जहाज खरिद गर्ने
 

एयरबसमा उत्पादित जहाज भए पनि खरिद भने एयरबससँग नगरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए । ‘हामी सन् २०१९ को अन्त्यसम्ममा थप दुइटा न्यारो बडी काठमाडौं अवतराण गराउने योजनामा छौं,’ उनले भने, ‘तर, एयरबसले न्यूनतम दुईदेखि चार वर्षसम्म ए३२०एनइओ सिरिजका जहाज आपूर्ति गर्न नसक्ने अवस्था भएका कारण अन्य कम्पनीसँग खरिद गर्ने तयारी छ ।’
उनका अनुसार खरिद प्रक्रिया सुरु भएपछि आगामी डेढ वर्षभित्र ती जहाज ल्याइने छ । जहाज निर्माता एयरबसबाहेक वायुसेवा कम्पनी, जहाज भाडामा उपलब्ध गराउने कम्पनी, बैंक तथा वित्तीय संस्था कोसँग जहाज छ, उसैसँग खरिद गर्ने योजना छ । जहाज खरिद गर्न ‘ग्लोबल टेन्डर’ आह्वान गर्ने र जसले सस्तोमा दिन्छ, उसैसँग लिइने छ ।

‘उडान संख्या थपेर बजार हिस्सा वृद्धि गर्न थप दुई न्यारो बडी खरिद गर्ने लागेका हौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘जहाज खरिद गर्न आवश्यक रकम स्वदेशबाटै जुटाइने छ ।’निगमका अनुसार छिटोभन्दा छिटो ग्लोबल टेन्डर आह्वान गरेर जहाज खरिद प्रक्रिया अगाडि बढाइने छ । सकेसम्म ‘ब्रान्ड न्यु’ (एक मिनेट पनि नउडेको) जहाज खरिद गर्ने योजना छ । नपाइएमात्र केही हजार घन्टा उडेको जहाज लिइने छ ।

निगमले थप दुइटा न्यारो बडी खरिद गर्ने तयारी गरिरहेको र सञ्चालक समितिबाट ग्रिन सिग्नल प्राप्त भए पनि व्यापारिक र वित्तीय योजना भने बनाइसकेको छैन ।निगमले हाल दुईथान ए३२०–२०० मध्ये एक र अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमतायुक्त ३० वर्ष पुरानो एकथान ‘बि७५७–२००’ सिरिजका जहाजबाट भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, कतारको दोहा, हङकङ, युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई गरी आठ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ ।

निगमले तीन जहाजबाट सातामा ३७ उडान गरिरहेको थियो । दिल्लीका लागि दैनिक दुई, दोहा र दुबईका लागि सातामा चार-चार, बैंगलोर, मुम्बई, क्वालालम्पुर, हङकङ र बैंककका लागि प्रत्येक साता तीन-तीन उडान गर्दै आएकोमा करिब एक सातायता एउटा ए३२० जहाज ‘ग्राउन्डेड’ भएका कारण केही उडान कटौती गरेको छ ।

‘९एन–एकेडब्लु’ कलसाइन भएको उक्त जहाजको एउटा इन्जिनमा समस्या आएपछि भारतको नयाँदिल्लीमा पाँच दिनदेखि ग्राउन्डेड छ । यो जहाजको इन्जिन मर्मत गरी बिहीबार बेलुकासम्ममा नियमित उडानमा फर्काइने निगमले जनाएको छ ।निगमले एयरबससँग खरिद गरी २०७१ माघ २५ मा पहिलो ए३२०–२०० जहाज काठमाडौं ल्याएको थियो ।

त्यसपछि यही सिरिजको दोस्रो जहाज २०७२ वैशाख १८ मा ल्याएको थियो । निगम र कर्मचारी सञ्चय कोषबीच २०७० असार ४ गते १० अर्ब रुपैयाँबराबरको ऋण आदान–प्रदान सम्झौता भएको थियो । त्यसबेला कोषले वार्षिक १२ प्रतिशत ब्याज दर तोकेको थियो भने चुक्ता अवधि १५ वर्ष राखेको थियो ।

सञ्चय कोषले सुरुमा १२ प्रतिशत ब्याज दर तोके पनि पहिलो किस्ता चुक्ता गर्दा ११ प्रतिशतमात्र ब्याज लिएको थियो । त्यसपछि अझ सहुलियत दिँदै दोस्रो किस्तादेखि वार्षिक १० प्रतिशतका दरले मात्र ब्याज लिइरहेको छ । निगम र कोषबीचको सम्झौताअनुसार प्रत्येक तीन महिनामा एक पटक गरी वार्षिक चार किस्तामा सावाँ–ब्याज चुक्ता गर्नुपर्छ । १५ वर्षमा ६० किस्ता तिर्नुपर्ने सम्झौतामा उल्लेख छ।

प्रकाशित: ३१ जेष्ठ २०७५ ०४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App