काठमाडौं : सहर न सुविधा

बुधबार, ३० जेठ २०७५, १५ : २५ विश्वमणि पोखरेल

प्राचीन कालमा मन्जुश्रीले चोभारको चुनढुंगा तरबारले काटेर काठमाडौं उपत्यकामा जमेको पानी निकास गरेको इतिहास अहिले पुरानो भैसक्यो । पृथ्वीनारायण शाहले विसं १८२५ मा काठमाडौं उपत्यकामा हमला गरेर कब्जा गरेपछि नेपालको राजधानी कहलिएको यो खाल्डोको राजनीतिक पहिचान बदलिँदै गएको छ । केही वर्ष अघिसम्म काठमाडौं नेपाल अधिराज्यको राजधानी थियो । राजाहरू यहीँ काठमाडौंमा बसेर अधिराज्यभर शासन गर्थे । करिब २५० वर्ष राज गरेका श्रीपेचधारी राजा छैनन् अहिले । तर पनि काठमाडौंले राजधानीको ओज छोडेको छैन । केही वर्षअघि यो लोकतान्त्रिक गणतन्त्रको राजधानी बन्यो र भर्खरै मुलुक संघीय संरचनामा गएपछि काठमाडौं खाल्डो संघीय राजधानीमा रूपान्तरण भएको छ । पछिल्लो परिवर्तन राजनीतिमा एकपछि अर्को गर्दै ‘राजा’ हरू उदाउने, सिंहदरबाट शासन गर्ने क्रम जारी छ, जारी रहनेछ । प्रत्येक एक–एक दशकमा राजनीतिक व्यवस्था परिवर्तन गर्ने नेपालको राजधानी काठमाडाैं जहिल्यै पनि शक्ति र सत्ताको केन्द्रमा रहँदै आएको छ । बुढापाकाहरू राजा र देउता बस्ने ठाउँ भन्छन् काठमाडौंलाई । यही राजधानी भएकोले हुनसक्छ पशुपति नाथले आराध्यदेवको पदवी पाएका छन् । स्वयम्भुका दुई आँखाले पनि यही खाल्डोलाई शताब्दीदेखि नियाल्दै आएका छन्  । हो, काठमाडौंमा एक किसिमको आशक्ति छ, सम्मोहन छ– सत्ता र शक्तिका लागि ।  शिक्षा र स्वास्थ्यका लागि यहाँ आकर्षण छ । उद्यमधन्दा सबैका हिसाबले यो खाल्डोमा रजगज छ, वर्षौंदेखिको र अझै जारी रहने देखिँदैछ । 

काठमाडौंको शासकीय परिचय समयक्रममा बदलिँदै छ ।  सत्ता बदलिएजस्तो सबै बदलिएको छ त ? खाल्डोमा बस्ने आम नागरिकको दैनिकीसँग सम्बन्धित छ । जहाँ सिंहदरबारमा बस्नेहरूले बोलीबाट सम्बोधन गर्छन्, व्यवहारमा केही गर्दैनन् । यो वर्षौंदेखिको परम्पराले सबैखाले व्यवस्थामा निरन्तरता पाउँदै आएको छ । काठमाडौं उपत्यकामा मल्लकालमा तीनवटा राज्य थिए, काठमाडांै, पाटन र भादगाउँ । अहिले पनि तीनवटै शासकीय किल्ला कायम छन्, काठमाडांै, ललितपुर र भक्तपुर । तीन जिल्लामा विभाजित यो उपत्यकामा २ वटा महानगर छन्, काठमाडौं र पाटन । काठमाडौं, ललितपुर, भक्तपुरमा गरेर १६ वटा नगरपालिका छन् । ललितपुरका पहाडी खोचमा ३ वटा गाउँपालिका छन् । अर्थात् उपत्यकामा सबै स्थानीय तह गाउँबाट उकालो लाग्दै नगर महानगरको यात्रामा छन् । करिब ४० लाख जनसंख्याले भरिएको अनुमान गरिएको उपत्यका समग्रमा काठमाडौं भनेर चिनिन्छ । नगर भन्नुको अर्थ त्यहाँ सहरी जीवनशैलीको प्रधानता हुनु हो । काठमाडौंको दरबारमार्ग, न्यूरोडले कस्मोपोलिटन सहरको झलक पस्कन्छन् । कोर सहर भनिने सीमित क्षेत्रबाहेक महानगरको परिधिको बसोबासमा ग्रामीण जीवनमा बाँच्दै, फरक–फरक भूगोलले महानगरको  पहिचान पाएका छन् । 

सहरी जीवन भनेको सेवा सुविधाका दृष्टिले सम्पन्न हुनुपर्ने हो ।  भौतिक सम्पन्नता र चोक चौबाटा बस्तीहरू सौन्दर्यले भरिभराउ हुनुपर्ने हो । सहर भनेका अवसर हुन् । अवसरको खोजी भइरहेको छ यहाँ । यहाँ अवसर छन् कि छैनन् ? धरातलीय यथार्थता त्रिभुवन विमानस्थलबाट प्रत्येक महिना करिब ५० हजार युवा कामका लागि विदेशिन बाध्य छन् । पाखुरी चलाएर परिवारको दानापानी जुटाउने र पढेर बुद्धि खेलाउन चाहने दुवै खाले मुलुकका अधिकांश युवा देशमा बस्न चाहँदैनन् । पासपोर्ट लिन चाहनेहरूको भीड र कोरियाको कामदार बन्न महिनौं तयारी गरेर भाषा परीक्षामा सामेल हुन किलोमिटर लामो लाम लाग्नेहरू पनि काठमाडौंमै देखिन्छन् । काठमाडांैमा आकर्षण छ वा विकर्षण ? खुट्याउन सहज छैन । 

नगर नै नगरले भरिएको उपत्यकाका आम जनताको हालत कस्तो छ त ? काठमाडौंका अधिकांश मानिस हतासमा देखिन्छन्, हतारमा छन् उनीहरू । सहरिया हुनुको अर्थ बेफुर्सदी छन् उनीहरू । आम मानिस कसरी प्रताडित छन् लेखाजोखा आवश्यक ठानिँदैन । भौतिक पूर्वाधारको गरिबी जताततै छर्लङ्ग छ । गाउँबाट सहर बन्ने दौडमा रहेका बस्तीहरूमा खानेपानी, बिजुली, बाटोजस्ता आधारभूत पूर्वाधारकै न्यूनता खड्किन्छ । मूल सडक नै हिउँदमा धुलेश्वर र वर्षामा हिलेश्वरमा परिणत हुन्छन् । यो नियती वर्षौंदेखिको हो । अझै वर्षौंसम्म जारी रहने देखिन्छ । 

चारैतिर अग्ला पहाडले वेष्ठित मलिलो उपत्यका कंक्रिटको छायाँमा परेको छ । कोलाहल अनुभव हुन्छ जताततै । नदीहरू ढल बनाइएका छन् । सार्वजनिक चौर, चौबाटाहरू मासिँदै छन् । सडक पेटीहरू पैदल यात्रुका लागि होइन व्यापारीको हो । सडकको पीच पार्किङ बनाइएको हुन्छ । योजनाविहीन निर्माणको गति तीव्र छ । 

सार्वजनिक यातायातको कुरा गरिसाध्य छैन । यो क्षेत्र सिन्डिकेट रणनीतिबाट निर्देशित छ । मिलोमतो प्रणालीको ‘आदर्श’ बाट प्रेरित व्यवसायीहरू समितिमा आबद्ध छन् । कुन कतिवटा र कसकसका गाडी सडकमा निकाल्ने समितिको हातमा हुन्छ र समिति आफँै गुण्डाराजको शैलीमा काम गरिरहेको हुन्छ । मिलोमतोको सिन्डिकेट प्रणालीले यातायात व्यवस्था कार्यालयका हाकिमहरू जो रुट परमिटको हतियार लिएर बसेका हुन्छन्, सडकमा सिठी मार्ने ट्राफिकहरू र राजनीति गर्र्नेहरू सबैलाई रिझाएको देखिन्छ । त्यसैले  सकेसम्म धेरै यात्रु कोच्न पाउँने छुट पाएका छन् व्यवसायीले । एक दर्जन यात्रु सिट भएको माइक्रोले दुई दर्जन यात्रु कोच्नु सामान्य मानिन्छ । बस, मिनीबसहरूमा मानिसलाई मानिसको जस्तो व्यवहार गरिँदैन । उभिएर यात्रा गर्न पनि पाइँदैन । यात्रु कसरी बस्ने, कता पट्टी फर्कने, कता समाउने, त्यो खलाँसीको निर्देशनमा हुन्छ । त्यहाँ महिला, युवती, बुढाबुढी, केटाकेटी कुनैको मतलब हुँदैन । बसवालाहरूको नजरमा प्रत्येक अनुहारमा उसले असुल्ने भाडा मात्र हुन्छ सायद । नेपालले उदार अर्थतन्त्रको प्रयोग गरेको पञ्चायतको आखिरी समयदेखि हो । प्रजातन्त्र, लोकतन्त्र र अहिलेको संघीय गणतन्त्रमा उदारवाद अझ मौलाउनुपर्ने हो । उदारवादमा बजार प्रभावशाली हुन्छ र उपभोक्ता अधिकार सम्पन्न । यहाँ दुवै कुराको चरम अभाव देखिन्छ । जनता निरीह छन् । यातायातको सिन्डिकेट, उपभोक्ता र निर्माण सामग्रीमा कार्टेलिङ्ग उदार अर्थतन्त्रका वाइप्रोडक्ट जस्तै अनुभव हुन्छ । संविधानले अख्तियार गरेको समाजवाद उन्मुख यात्रामा अहिले मुलुक र काठमाडौं त्यसको केन्द्रमा छ । राजनीतिमा  कमरेडहरू उदय भएको अहिलेको समयमा सिन्डिकेट र कार्टेलिङ्गले छहारी पाउने हुन् वा ‘शक्तिशाली’ सरकारको  कारबाहीमा पर्ने हुन् ? यसै भन्न सकिने स्थिति छैन । राजनीतिक कर्मी र व्यापारीहरूको सौदाबाजीको मूल्य कतिञ्जेल चुकाउनुपर्ने हो नेपालीहरूले आँकलन गर्न सहज छैन । 

उपभोक्ता र निर्माण सामग्रीको भाउ आकासिएको छ । अन्तर्राष्ट्रिय कारणले त्यस्तो भएको होइन भन्छन् अर्थशास्त्रीहरू । स्थानीय, प्रदेश र संघीय संसदको चुनावका बेला बगेको पैसाको मूल्य अहिले उपभोक्ता अर्थात् आम नागरिकको थाप्लोमा परेको अर्थ लाग्दैछ । चुनाव भयो, जनताले भोट हाले, आफ्ना प्रतिनिधि चुने । चुनिएकाहरू सत्ता चलाउँछन् । तर, आफ्नो मन दिएर संघीय राजनीति संस्थागत गर्न योगदान गर्ने जनताले महँगी उपहार प्राप्त गरेका छन् । करिब ३० प्रतिशतको मूल्यवृद्धि सायद अल्पकालीन राहत मात्र हो । 

ग्लोबल भिलेजको जमाना हो अहिले । सञ्चारको युग भनिन्छ, अहिलेको समयलाई । फेसबुकमा स्टाटस लेख्ने र लाइक हान्नेबाहेकको धेरै उपल्लो प्रयोग नेपालीले गरेको जस्तो लाग्दैन । अपवादको सानो संख्या नेटको लाभ लिनेमध्येका होलान् । काठमाडांैवासीका हातहातमा एन्ड्रोइड फोन देखिन्छ ।  तारविहीन सञ्जालमा बेरिएको अहिलेको मानिस । सतहमा त्यस्तै देखिन्छ । तर मोबाइलहरू कुरा गर्दै गर्दा डिसकनेक्ट हुने र कुरा नबुझिने वर्षौंदेखिको रोगको उपचार भएको छैन । टेलिफोन कम्पनीहरू अर्बौंको नाफा कमाउँदै छन् वर्षेनी  ।  इन्टरनेट भरपर्दो छैन । क्वालिटी डाटाका कुरा कागजमा सीमित देखिन्छ । 

नेपाल राष्ट्र बैंक पेपर लेस मनीको कागजी कुरा मात्र गर्दै आएको छ । मानिसका पकेटमा एटिएम कार्डहरू हुन्छन् । डेबिट र क्रेडिट कार्यहरू चल्तीमा छन् । भनिन्छ आज प्रयोग गर्ने भोलि पैसा तिर्ने क्रेडिटकार्डको जमाना हो अहिले । सहरका जताततै एटिएम लन्जहरू हुन्छन् । तर, एटिएम भरपर्दो हुँदैन, यो लाखांै उपभोक्ताको अनुभव हो । डेबिट क्रेडिट कार्ड प्रयोग गरेर किनमेल गर्न सकिने व्यवस्था हुन्छ । तर, काठमाडौंको न्यूडरोड वा दरबार मार्गका ठूला पसलहरूमा कार्डबाट पैसा तिर्न खोज्दा थाहा हुन्छ ३ देखि ५ प्रतिशतसम्म अतिरिक्त शुल्क लाग्छ ।  केही डिपार्टमेन्ट स्टोरहरूले मात्र कार्ड स्विकार्छन् । नेपालका बैंकहरूले प्रदान गर्ने भिसा कार्डमा लेखिएको हुन्छ । नेपाल र भारतमा चलाउन सकिन्छ भनेर । काठमाडौंमा कार्डबाट पैसा तिर्दा अतिरिक्त शुल्कको खतरा हुन्छ भने भारतका सहरहरूमा त्यस्तो हुँदैन । नेपालको कार्ड भारतमा चलाउँदा थप पैसा नलाग्ने, काठमाडौंमा लाग्ने कस्तो बिचित्र चलन हो ? राष्ट्र बैंक मौन छ । बैंक भनेका ठूला व्यापारी हुन्, तिनीहरू पनि भद्र सहमतिको नाममा कार्टेलिङ नै रुचाउँछन् । 

काठमाडांै वैभवशाली भनिन्छ । उहिले मल्लकालमै काठमाडौंको व्यापारिक नाता कुतीदेखि कलकत्तासम्म विस्तारित थियो । अहिले काठमाडांैको व्यापारिक सम्बन्ध संसारभर फैलिएको छ । खासमा उपभोक्तावादी हो । काठमाडौं जर्मनको चना, बर्माको कालोदाल र फिलिपिन्सको खोर्सानी उपभोग गरिरहेको छ । काठमाडौंमा अहिले पनि सम्पत्ति थुप्रिएको चर्चा हुुन्छ । मुलुकको ढुकुटी यही काठमाडौंमा छ । सबैजसो वाणिज्य बैंकका मुख्यालय यही छन् । मुलुकको राजस्वको प्रमुख स्रोत पनि काठमाडौं हो र देशको सबैभन्दा धेरै लगानी पनि यहीँ हुन्छ । केही वर्षयता कालोधनको बिगबिगी चलेको चर्चा घनिभूत भएको छ काठमाडौंमा । अर्थतन्त्रको आधा हिस्सा कालोधनले ढाकेको तथ्य अघि सार्छन् अर्थशास्त्रीहरू । कालोधनको बोलवाला छ, काठमाडौंमा । कालो बजारीले आकार लिएको छ, कालो धन र कालो बजारले घर गरेको भए पनि यहाँका मानिसमा कालो मन त्यत्ति धेरै छैन । काठमाडौंको मौसम चिसो छ । वर्षभरि जसो चिसो हुन्छ यहाँ र यहाँका मानिस खासमा मौसम जस्तै चिसा छन् ।  








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad