१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

खानेपानीमा कोलिफर्म भेटियो

डडेल्धुरा-जिल्ला सदरमुकामको खानेपानीमा दिसामा हुने कीटाणु कोलिफर्म भेटिएको छ। खलंगा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिबाट सदरमुकाम क्षेत्रमा वितरण हुँदै आएको खानेपानीमा कोलिफर्म भेटिएको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको हो।

खलंगा खानेपानीको मुहान खोला नै भएकाले मानिसलगायत घरपालुवा तथा जंगली जनावरले दिशा–पिसाब गर्नाका साथै रूखका पात, झारहरु खस्ने र सुकेर कुहिएपछि त्यसबाट  कोलिफर्म कीटाणु उत्पादन हुने भएकाले पानी फिल्टर गर्दा कोलिफर्म भेटिएको डिभिजन प्रमुख राजकुमार शाक्यले बताए। पहाडी जिल्लामा तातो र रातो रगत हुने प्राणीहरुको दिसाबाट निस्कने कीटाणु कोलिफर्म हुने र यसबाट पखाला, आउँ, हैजाजस्ता महामारी फैलिने शाक्यले बताए।

कार्यालयसँग भएको पानी फिल्टर गर्ने उपकरण डेल एक्वाकिटमा सय मिलिटिर पानी राखेर जाँच गरी फिल्टर गर्दा कोलिफर्मको झुण्ड देखिएको उक्त कार्यालयले जनाएको थियो। अमरगढी नगरपालिका सदरमुकाम क्षेत्रमा व्यवस्थित रुपमा खानेपानीका पाइप लाइन विस्तार भएका छैनन्। पाइप खुला र फोहर, नालीबाट गएका कारण पनि पानीमा कोलिफर्म देखिएको हुन सक्ने सर्वसाधारणको भनाइ छ।

बजार क्षेत्रमा ढल निकास छैन, खानेपानीका पाइप लाइन फोहोर नाली र सडक छेउमा छन्। कतिपय ठाउँमा पाइप फुटेका प्वाल परेका छन्। पाइपमा पानी नआउने समयमा नालीको फोहोर पाइपभित्र पस्ने भएकाले पनि यस्तो समस्या देखिएको हुन सक्छ। सरकारले २०३० सम्म प्रत्येक जनतालाई स्वच्छ पानी पुर्याउने लक्ष्य राखेको छ। रासस

प्रकाशित: ३० जेष्ठ २०७५ ०८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App