१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

दर्शकको संख्या ५० हजार नाग्यो, १ अर्ब ७५ करोडको बुकिङ

कठमाडौं- ११औं संस्करणको नाडा अटो सोको पाँचौ दिनसम्म ५० हजारभन्दा धेरैले अवलोकन गरेका छन्। सो अवधिभर १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी मूल्यका सवारीसाधन बुकिङ भएको पनि आयोजकले जनाएका छन्। 

नाडा अटोमोबाइल्स एसोसियसनको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा भदौ १४ गतेदेखि चलिरहेको अटो सोको ११औं संस्करणमा मा दर्शकको उत्साहजनक सहभागिता सहित राम्रो कारोबार भएको प्रदर्शनीका संयोजक शम्भु दाहालले बताए। 'शनिबारसम्म ५० हजार दर्शकले अवलोकन गर्नु भएको छ,' दाहालले भने, 'यो नाडा अटो सोमा अहिलेसम्मकै राम्रो सहभागिता हो।'

शनिबार बिदाको दिन परेकाले पनि प्रदर्शनीमा दर्शकको भीड लागेको थियो। शनिबार मात्रै १५ हजार दर्शकले अवलोकन गरेको दाहालको भनाइ छ।

त्यसैगरी शनिबारसम्म साना ठूला गाडी र साना स्टलमा गरेर १ अर्ब ७५ करोडको कारोबार भएको नाडाले जनाएको छ। प्रर्दशनी आइतबारसम्म चल्ने भएकाले गाडी बुकिङ अझ बढ्ने व्यवसायीको अपेक्षा छ।  प्रदर्शनीमा मुख्य गरी कारको कारोबार उच्च भएको बताइएको छ। 'चारपांग्रे गाडी खासगरी कारमा धेरैको आकर्षण देखियो,' दाहालले भने, 'नयाँ–नयाँ कारका ब्रान्ड आएकाले धेरैको आकर्षण यसैका देखिएको हो।'

कारपछि मोटरसाइलकमा दर्शकले रुची देखाएका छन्।

प्रदर्शनीमा दर्शकको सहभागिता अपेक्षा गरेभन्दा उत्साहजनक भएको एसोसियसनका अध्यक्ष अन्जन श्रेष्ठले बताए। 'प्रदर्शनीमा सहभागिता उत्साहकजनक छ,' शनिबार श्रेष्ठले भने, 'सबै स्टलमा व्यवसायी कारोबार पनि राम्रो भएको छ।'

प्रत्येक स्टलमा अवलोकनकर्ताले आफूलाई चाहिएका गाडी बुकिङ गरिरहेका छन्। नाडा अटो सोमा १५–१६ लाखदेखि एक करोड रुपैयाँभन्दा बढी मूल्यका गाडी राखिएका छन्। सोमा खासगरी स्पोर्ट्स युटिलिटी भेहिकल (एसयुभी) मा अवलोकनकर्ता आकर्षित देखिएका छन्। यस्ता गाडी नेपाली परिवेशमा सुहाउँदा रहेका छन्। त्यस्तै, गाडी किन्नका लागि बैंकले सरल र सस्तो ब्याजदरमा ऋण उपलब्ध गराइरहेकाले पनि गाडीको कारोबार धेरै भएको व्यवसायी बताउँछन्।

डाट्सन कम्पनीका मात्रै ३ सय ५० कार बुकिङ भएको कम्पनीले जनाएको छ। 'हाम्रोमा ३ सय ५० वटा गाडी बुकिङ भएका छन्,' डाट्सनको नेपालको लागी आधिकारिक विक्रेता पायोनियर मोटो कर्पका गौरव सारडाले भने। डाट्सनले हालैमात्र नेपाली बजारमा रेडि–गो लन्च गरेको थियो।

यस्तै, अन्य कम्पनीका स्टलमा ग्राहकको उल्लेख्य भिड रहेको छ। गाडि प्रेमिहरु गाडिका बारेमा जानकारी लिन तथा बुकिड गर्न भिड रहेको आयोजकले जनाए। अटोसोमा डाट्सनका अतिरिक्त हुन्डाइ, टाटा, सुजुकि, टोयोटा, होन्डा, फोर्ड, फियट, महिन्द्रा, निशान, रेनोल्ट, टिभिएस लगायत विश्व प्रसिद्ध ब्रान्डका सवारी साधनहरु प्रदर्सनीमा राखिएका छन्।

सवारी साधनको कुम्भ मेला मानिने नाडा अटो सो आइतबार सकिँदै छ। आइतबारै सहभागीमध्ये उत्कृष्ट स्टलको पनि घोषणा गरिनेछ। दाहालका अनुसार चारपांग्रेमा साना यात्रुबाहक गाडी र कमर्सियल गाडीको एक एक, दुईपांग्रे र साना स्टल गरी चारवटा उत्कृष्ट स्टलको घोषणा गरिने आयोजकले जनाएको छ।

प्रकाशित: १९ भाद्र २०७३ ०५:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App