१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

नाम कम्युनिस्ट, काम के?

भारतको हरियाणा राज्य महेन्द्रगढ जिल्लामा त्रिपन्न वर्षपहिले रामकिशन यादवको जन्म भयो। आठवर्षको उमेरमा  रामकिशन सरकारी पाठशालाबाट घर फर्कँदा सडकमा लड्छन्, छट्पटिन्छन् र बेहोस हुन्छन्। उनीसँगै पाठशालाबाट घर फर्किरहेका मित्रहरू रामकिशनलाई ‘भूत’ लाग्यो भनी भाग्छन्।

भोलिपल्ट रामकिशनलाई सरकारी अस्पताल लगिन्छ। त्यहाँ पत्ता लाग्छ कि उनको शरीरको वायाँ भाग सम्पूर्णरूपमा पक्षघातको आक्रमणले ग्रसित छ भनी। आठवर्षका चञ्चले रामकिशनको जीवनले अचानक नयाँ मोड लिन्छ र उनी आफ्नो विकलांग शरीरले गर्न सक्ने कामतर्फ आकर्षित हुन्छन्। र, त्यो काम थियो योग र आध्यात्म।

योग र आध्यात्मको क्रममा अगाडि बढ्दै जाँदा रामकिशनका योगगुरु आचार्य बलदेव उनलाई भन्छन्– ‘भगवान राम र कृष्ण दुवै पूजनीय छन् तर दुवैको प्रकृति र प्रवृत्तिमा मौलिक फरक छ।’ आचार्य बलदेव रामकिशनलाई थप सोध्छन्–तिमी रामको मर्यादा पुरुषोत्तमको मार्गमा हिँड्ने कि कृष्णको बहुआयामिक व्यक्तित्वले भरिएको रोमाञ्चक मार्गमा हिँड्ने?

राजनीतिक प्रणालीमात्र होइन, नेपालका कम्युनिस्टहरू पनि कम्युनिस्ट जस्ता छैनन्, देखिएनन्। संभवतः यहाँनेर यो पार्टी कांग्रेसको लोकतान्त्रिक विकल्प हो कि भन्ने सन्देश प्रवाह हुन्छ।

पक्षघातमाथि योगले विजय गर्दै गरेको रामकिशनको मन मस्तिष्कलाई मर्यादा पुरुष रामको व्यक्तित्वले आकर्षण गर्छ । यसै पनि धर्मगुरु र धर्म प्रवर्धकहरू उदास, शान्त र गम्भीर हुन रुचाउँछन्, कृष्ण अपवाद हुन् यसमा । रामकिशनका गुरु आचार्य बलदेवले‘किशन’ हटाएर ‘देव’ जोड्दे रामदेव न्वारन गर्छन् । यसरी योगगुरु रामदेवको जन्म हुन्छ।

रामकिशनबाट योगगुरु रामदेवसम्मको यात्रा संघर्षमय र प्रेरणादायक छ । आश्चर्य र अनौठो लाग्ने टाइकुन रामदेवको जीवन पनि कम रोमाञ्चक र विवादास्पद छैन । योगगुरुबाट १० हजार करोडको मालिक बनेका ‘टाइकुन रामदेव’ का रूपान्तरित जीवनआज अन्तर्राष्ट्रियरूपमै उद्यमी र उद्योगपतिका लागि अध्ययनको विषय भएको छ।

माथि रामकिशन यादवदेखि योगगुरु रामदेव हुँदै टाइकुन रामदेवसम्मको यात्रा स्मरण गर्नुपर्ने कारण अरु केही नभएर नेपालमा भर्खर न्वारन भएर जन्मिएको नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक यात्राको कारणले  नै हो । पुष्पकमल दाहालले नेतृत्व गरेको नेकपा माओवादी र प्रम खडग ओलीले नेतृत्व गरेको नेकपा एमालेको कैयन्पटक नयाँ न्वारन भएको छ । अनेकन् विशेषण यो पार्टीको नामसँग जोडिएको छ। प्रत्येक चरणको न्वारनले नयाँ विरोधाभाष जन्माएको छ। कसरी? हेरौँ :

सर्वप्रथम यो पार्टीको नाम निरन्तररूपमा कम्युनिस्ट छ । विगतमा पुछारमा लामा लामा विशेषण हुन्थे अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनसँग जोडिन। अहिले त्यो डिलिट भएको छ।  कम्युनिस्ट नाम र विशेषणको कारण हो कि वैकल्पिक राजनीतिक शक्तिको अभावमा यतिखेर नेपालको राज्यसत्ता कम्युनिस्टमय देखिन्छ।  संघीय संसद्देखि प्रदेशसभासम्म सर्वत्र कम्युनिस्टले विजयी पाएका छन्।

नेपालको राज्यसत्ता ‘ग्रस’ माकम्युनिस्टमय हुनुको पछाडि कांग्रेसको विकल्पमा कम्युनिस्ट नामधारी लोकतान्त्रिक विकल्पको उदय देशमा भएको हो ? वा नेपालका बहुसंख्यक जनता सही अर्थमा नेपालमा कम्युनिस्ट सत्ताको खोजीमा छन्? विरोधाभाषपूर्ण अवस्थामा देश छ ।

नेपालमा लोकतान्त्रिक आन्दोलनको गौरवशाली इतिहासको नेतृत्व नेपाली कांग्रेसले गरेको छ। लोकतान्त्रिक इतिहास निर्माणको क्रममा यथास्थितिवादीसँग आन्दोलन र संघर्ष गर्नुपर्दा नेपालका कम्युनिस्टहरू अन्तिम अवस्थामा आएर कांग्रेस नेतृत्वको पहलमा लोकतान्त्रिक संघर्षमा उत्रिएका छन्। अन्यथा, जस्तो नाम काम त्यस्तै नेपालका कम्युनिस्टहरूको।

नेपालमा यतिखेर बहुदलीय व्यवस्था छ भने त्यही व्यवस्थाको माध्यमबाट देशभरकम्युनिस्ट सरकार छ । नेपालको वर्तमान संविधानले उपलब्ध गराएको राजनीतिक मार्गबाट प्रतिनिधिमूलक राज्यव्यवस्थामा कम्युनिस्टको बहुमत हुनु २१औँ शताब्दीको विश्वमा अनौठो मानिन्छ। राज्यसत्तामा कम्युनिस्ट एकाधिकारसँगै  केही मौलिक प्रश्न उठ्छ ।कम्युनिस्टको एकछत्र राज्यसत्ता भएको आजको नेपालमा यिनले कुन आर्थिक सामाजिक दिशा देशलाई दिनसक्लान्?

नेपालको राज्यसत्ता ‘ग्रस’ माकम्युनिस्टमय हुनुको पछाडि कांग्रेसको विकल्पमा कम्युनिस्ट नामधारी लोकतान्त्रिक विकल्पको उदय देशमा भएको हो? वा नेपालका बहुसंख्यक जनता सही अर्थमा नेपालमाकम्युनिस्ट सत्ताको खोजीमा छन्? विरोधाभाषपूर्ण अवस्थामा देश छ । सही अर्थको कम्युनिस्ट सत्ता भनेको सर्वसत्तावाद हो भनी बुझिन्छ । अब यसको छिनोफानो कसरी गर्ने ? प्रम खड्ग ओलीसामु सबैभन्दा ठूलो चुनौती नाम र कामबाट आफूलाई कम्युनिस्ट सिद्ध गर्ने काम सजिलो छैन । अनि प्रम ओलीलाई निरन्तर लोकतन्त्रको परीक्षामा उत्रनुपर्ने हुन्छ कम्युनिस्ट नामको पार्टी राखेपछि । प्रम ओलीले जतिसुकै पटक हामीले लोकतन्त्रको सर्टिफिकेट कांग्रेसबाट लिइरहनुपर्ने जरुरत छैन भने पनि उनको विगत, पार्टीको नाम र निशृत विचारहरूले उनलाई लोकतान्त्रिक निष्ठाको कठघरामा उभ्याइरहन्छ।  

नेपालको राजनीतिक प्रणाली कम्युनिस्ट दर्शनले निर्देशित गरेजस्तो छैन । राजनीतिक प्रणालीमात्र होइन, नेपालका कम्युनिस्टहरू पनि कम्युनिस्ट जस्ता छैनन्, देखिएनन् । संभवतः यहाँनेर यो पार्टी कांग्रेसको लोकतान्त्रिक विकल्प हो कि भन्ने सन्देश प्रवाह हुन्छ।   

तीन दशकअगाडि नेपालमा खुला अर्थराजनीतिको प्रवेश भयो । यो खुला अर्थराजनीतिको वातावरणमा नाफा केमा छ र कसरी कमाउन सकिन्छ भनी सबैभन्दा बढी नेपालका कम्युनिस्टहरूले बुझे । आज नेपालको निजीक्षेत्रको शिक्षा, स्वास्थ्य, बैंक, जलस्रोत, जग्गा प्लटिङ, सेयर मार्केट, गैरसरकारी संस्था, सञ्चार क्षेत्र र समाजका यावत् क्षेत्रमा कम्युनिस्ट क्रान्तिकारीहरूसंलग्न छन्, नाफा कमाएका छन् । एकातिर कम्युनिस्ट पनि हुनुपरेको छ भोटको राजनीतिलाई आकर्षित गर्न र अर्कोतर्फ सामाजिक पूर्वाधारदेखि प्राकृतिक स्रोत र साधनसम्म पनि व्यापारी, उद्यमशील र डनगिरी गरेर भए पनि नाफा कमाउनुपरेको छ।

नेपाली कांग्रेसको विकल्प हुने हो भने कम्युनिस्ट नेताहरूले राज्यसत्तामा बसेर नाफामूलक काम गर्न सुहाउँदैन । यो त्याग्नुपर्छ। यस्ता संस्था र नाफामूलक स्रोतकेन्द्रहरूको राष्ट्रियकरण गर्नुपर्छ । व्यक्तिगत सम्पत्तिलाई पार्टीकरण गर्ने साहस देखाउन नसके पनि संस्थागत सम्पत्तिलाई राष्ट्रियकरण गर्ने साहस भनेकम्युनिस्टहरूले देखाउन सक्नुपर्छ। अन्यथा किन कम्युनिस्ट नाम राखेको?

२०४६ सालपछि नेपाली समाजमा सबैभन्दा बढी ‘आर्थिक प्रोफाइल’ बढेको कम्युनिस्टहरूकै छ ।यो बेग्लै कुरा हो कि समाजमा कांग्रेस भ्रष्टाचारी भनी आरोपित हुन पुग्यो ।कम्युनिस्टहरूको सामाजिक, आर्थिक हैसियतमा वृद्धिसँगै समाजमाकम्युनिस्ट पुरुष अझ  हिन्दु बाहुनको राजनीतिक र आर्थिक वर्चश्व धेरै माथि गएको छ।

२०४६ सालपछिको उदार पुँजीवादी अर्थव्यवस्थाको ‘फलफूल’ सबैभन्दा बढी खानेमा नेपालका कम्युनिस्टहरू नै पर्छन्, त्यसमा पनि तत्कालीन एमाले। २०६२/०६३ को आन्दोलनपछि भूमिउपर आएर सबैभन्दा बढी क्रोनी पुँजीवादको फलफूल खाने काममा तत्कालीन माओवादीका ‘-याङ एन्ड फायल’ का अधिकांश नेता लागे । बाबुराम भठ्ठराई हुन् वा कामरेड किरण, तिनले जेसुकै नामबाट पार्टी खोले पनि प्रचण्डको क्रोनी पुँजीवादको राप र तापअगाडि यी पार्टी छाडी भाग्नुको विकल्प थिएन/भएन।

कम्युनिस्ट आन्दोलन यस्ता अनेकन् विरोधाभाषपूर्ण अवस्थाबाट गुज्रिरहँदा यो आन्दोलनलाई ऊर्जा दिने काम एक दशकअगाडि राष्ट्रवादको नाराले ग-यो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको प्रेरणाबाट ‘वर्ग शत्रु सफाया’ बाट सुरु भएको तत्कालीन झापा आन्दोलनले अन्ततः पहाडी राष्ट्रवाद घन्कायो। सत्तामा बस्ने वर्गहरूबीचको असमानता र फरक २०४६ सालपछिको तीन दशकमा समाप्त भइसकेको थियो। कांग्रेस, पञ्च, भारदार, सम्भ्रान्त, कुलीन सबै काठमाडौँमयमा रमेका थिए।

एमालेको पहाडी राष्ट्रवाद र माओवादीको जातीय राष्ट्रियताको सत्संगले दुवै दलको एकीकरणको आधारशीला राख्यो र अन्ततः अहिलेको नेपालमा यी दुवैको समागमवाट बनेको राज्यसत्ता निर्माण भयो । कुनै समय भियतनामको राष्ट्रिय मुक्ति आन्दोलनलेउद्धेलित नेपालका कम्युनिस्टहरूलाई भारतको नाकाबन्दी अहिले वरदान भएर आयो ।आर्थिक र सामाजिक समानताको नारा नबिक्ने भएपछि खड्ग ओलीको नेतृत्वमा राष्ट्रवादको नारा चम्काउनुको विकल्प थिएन। ओलीको राष्ट्रवादको नाराबाट असुरक्षित र त्रासमा पुगे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उनले २०४६ सालका माक्र्सवादीहरूलाई सम्झे । मनमोहन अधिकारीको स्मरण गरे र हामफाले ओलीको राष्ट्रवादमा।

संयोग नै भन्नुपर्छ, जतिखेर दुई कम्युनिस्ट एक भएर नयाँ सत्ता, नयाँ कम्युनिस्ट नाम अगाडि आउँदै थियो त्यही समय यी दुई शक्तिशाली कम्युनिस्टसरकारको नीति, कार्यक्रम र बजेट पनि नेपाली जनमानसले सुन्दै थिए। एकीकरणपछि शक्तिशाली भएको कम्युनिस्टपार्टीले नेपालको गरिब, किसान, मजदुर, अल्पसंख्यक, महिला, दलितलाई राज्यसँग जोड्ने अपेक्षा थियो। सरकारसँग पहुँच कहिले नभएकासँग एकीकृत कम्युनिस्ट सरकारले कार्यक्रममार्फत पहुँच पु-याउने विश्वास गरिएको थियो । तर नाममात्रको कम्युनिस्ट, काम सबै गैरकम्युनिस्टझैँ देशको नीति तथा कार्यक्रम आयो।

बाटो चौँडा बनाउने, रेल गुडाउने, पानीजहाज ल्याउने, राजनीतिक तुष्टिका लागि दुई सय किमिमा क्षेत्रीय र अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यक्रमले हलो जोत्ने किसानको, घर बनाउने मजदुरको अनि मलेसिया र मध्यपूर्व जाने युवाको जीवनस्तर कसरी बढ्छ? के भिन्न छ नीति र कार्यक्रममा पञ्चायतकालीन एप्रोच र कांग्रेसको एप्रोचभन्दा ? यस्ता कार्यक्रमभन्दा गरिबी घटाउने, किसानले उत्पादन गरेका वस्तुको लागत मूल्यमा डेढ गुना न्यूनतम मूल्य तोक्ने, कृषि उत्पादनको भ्यालु एड हुने उद्योगमा युवा रोजगारी सिर्जना गर्ने र संरक्षण दिने अनेकन् उपाय थिए कम्युनिस्ट सरकारको झलक दिनलाई । तर सिंहदरवारभित्र भूत छ सम्भ्रान्त र सामन्तलाई सेवा र मेवा दिने।

योगी रामदेवलाई साथीहरूले भूत लाग्यो भनी बाटोमा छाडी हिँडेका थिए। रामदेव शरिरको पक्षघातरूपी रोगबाट आफूमात्र निरोगी भएनन्, सम्पूर्ण मानव जातिप्रति निरोग हुने उपचार विधि अगाडि सारे । दुई कम्युनिस्ट मिल्दा निर्माण भएको राज्यसत्ताले देशको सामाजिक/सांस्कृतिक रूपान्तरणको सुरुवात गर्लान् भन्ने आशा थियो, देश र समाजमा लागेको रोग भूतप्रेतबाट होइन भनी नयाँ दिशा दिने अपेक्षा थियो । तरकम्युनिस्ट सत्ताले निराश पा¥यो भनी आमनागरिक होइन, तिनका प्रतिनिधि नै संसद्मा कराउन विवश भए।

शक्तिशालीकम्युनिस्ट सरकारबाट आएको नीति, कार्यक्रम र बजेटबाट को खुसी भए? खुसी तिनै भए जसले सिंहदरवारको नीति र कार्यक्रमलाई पञ्चायती व्यवस्थादेखि नै सेट गरेका छन्, एकइन्च यताउता जान नदिने व्यवस्था र प्रक्रिया मिलाएका छन्। यी सबै प्रकरणबाट सहजै बुझ्न सकिन्छ– खड्ग ओलीको वर्तमान सरकार सदासर्वदा सरकारबिहीनहरूको जमातमा परेका नेपालीका लागि निराशा लिएर आयो।

माथि योगी रामदेवले बडो सुविचारितरूपमा आफ्नो नामबाट किशन हटाएर रामदेव राखेका थिए भनियो । तर रामदेव मर्यादा पुरुषोत्तम रामको भन्दा रंगिला कृष्णको बाटोमा हिँड्न रुचाए । रामदेव राजनीति गर्छन्, बिजनेस टाइकुन छन्, महिलाको वस्त्र धारण गरेर देल्हीको रामलीला मैदानबाट भाग्छन् । हिन्दु राष्ट्रवादको महिमा गाउँछन् । भ्रष्टाचार समाप्त गर्ने अभियान चलाउँछन् तर आफने दशहजार करोडको व्यापार गर्दा समाजसेवा गरेको भनी फिटिक्कै कर तिर्नु नपर्ने अडान लिन्छन् । प्रसंग रामदेवले के गरे भन्नेमात्र होइन, नेपालका कम्युनिस्टहरू के गर्दैछन् भन्ने हो।

नेपालका कम्युनिस्टहरू माथिनै भनियो, सबैथोक गर्छन्, सबैथोक भन्छन् तर कम्युनिस्ट हुन सकिरहेका छैनन्। कम्युनिस्ट पार्टीको साइनबोर्ड झुण्डाउने मोहबाट भने मुक्त हुनसक्तैनन्। यस्तो हुननसक्नुमा यहाँका कम्युनिस्टहरू पनि रंगिला छन्, कृष्ण कन्हैयाभन्दा कम छैनन्। नाफाखोर छन् ।नेपालमा कम्युनिस्ट एकतापछि यो पार्टी कांग्रेसको विकल्प होला कि भन्ने आशा निरर्थक भएको छ।

कम्तीमा पनि डा. उपेन्द्र देवकोटाले मृत्यु शैयाबाट नेपालका कम्युनिस्टहरू समाजवादी हुन्छन् भनी गरेको आशलाई त निराश नपार। बिपी कोइरालाले नीति निर्माणगर्दा हलो जोतेको किसानको फोटो योजनाआयोगमा झुण्डाउनुपर्छ भने। खड्गप्रसाद ओली २०१६ सालको बिपी कोइरालाभन्दा पनि शक्तिशाली भएर सत्तामा छन् अहिले। केही त सोच ! केही त टुक्का र घृणाभन्दा माथि उठ ! अनि पो कम्युनिस्ट भनी भजाएको राजनीतिको केही सान्दर्भिकता रहला।

प्रकाशित: २९ जेष्ठ २०७५ ०३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App